विश्वव्यापी आर्थिक संकटको सम्भावित खतरासँगै किसान, विद्यार्थी, सामाजिक न्याय लगायत समस्या हल गर्न सरकार सफल देखिएको छैन । दक्षिण एसियाली मुलुक श्रीलंकाको संकटबारे नेपालले कुनैपनि शिक्षा लिएको पाइन्न । यदि त्यस्तो हुन्थ्यो भने सम्भावित संकटबाट बच्ने कदमतिर मुलुक अग्रसर भइसकेको हुने थियो । तर इन्धन खपत घटाउन भनेर हप्तामा दुई दिन सार्वजनिक विदा र कार्यघण्टा बढाउने निर्णयबाट सरकार पछि हटिसकेको छ । इन्धन खपत घट्नुपर्नेमा त्यसो हुन नसकेको, बरु सेवा प्रवाह भने प्रभावित बनेको निष्कर्षपछि सरकारले हप्तामा एकदिन सार्वजनिक विदाकै नीतिमा फर्किएको छ । किसानले मल नपाउने निश्चित भइसकेको छ भने विद्यार्थीहरुले शैक्षिक सत्र तेस्रो महिनामा कुदिरहँदा पुस्तक पाउन सकेको छैन । तर फेरि पनि मुलुक अर्को चुनावको तयारीमा जुटिसकेको छ ।
गएको ३० वैशाखमा स्थानीय चुनाव गराएको निर्वाचन आयोगले आगामी कात्तिक अन्तिम साता संघ र प्रदेशको चुनाव गराउन सकिने प्रस्ताव गरेको छ । आयोग भन्दा अगाडि दलहरु तातिसकेका छन् । स्थानीय चुनावमा आयोगले तान्दै दलहरुलाई मतदानसम्म लगेको थियो । तर संघ र प्रदेशको चुनावमा भने दलहरुको गतिविधि धेरै देखिएको छ । गैरदलीय उम्मेद्वारी दिन चाहनेहरु लगातार बढिरहेको छ । दलहरुले पनि कसरी चुनावमा भाग लिने र जितेर सरकारमा जाने भन्ने चिन्ता, चासो र बहस तीव्र बनाएका छन् । अहिलेकै सत्ता गठबन्धन टिकाउन सत्ता साझेदार दलहरुले प्रयत्न गरिरहेका छन् भने प्रमुख विपक्षी दल नेकपा एमाले आफ्नै नेतृत्वमा गठबन्धन निर्माणको प्रयास गरिरहेका छन् ।
नागरिकको आधारभूत समस्या बिर्सने हो भने पनि राजनीतिक नेतृत्वले भने आफ्नो दायित्व पूरा गर्न सकेको छैन । ०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने दायित्व बोकेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार सफल हुन सकेन । प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले गैरसंवैधानिक निर्णय गरेर प्रतिनिधिसभा दुई पटक विघटनको निर्णय गरे । त्यसले राजनीतिक स्थीरता कायम हुन सकेन भने नेकपाको एकता जोगिएन । राजनीतिक अस्थिरता सिर्जना ग¥यो । तर प्रतिनिधिसभा पुनस्र्थापना हुँदै नयाँ सरकारमार्फत राजनीतिक र संवैधानिक संकट भने टरेको छ । चुनावमार्फत् सामान्यकालमा मुलुक फर्कन आशा गर्न सकिन्छ । तर फेरि पनि गठबन्धन सरकारले नागरिकका आधारभूत काम बिर्सेर राजनीतिक स्वार्थ नजित काम गरिरहेको छ । सरकार गठन भएको वर्षदिन नपुग्दै मन्त्रिपरिषद् पुनर्गठन त्यसैको परिणाम हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies