अविरल परिरहेको वर्षाको असर देखिन थालेको छ । केही समयदेखि मनसुन सक्रिय भएकाले वर्षा स्वभाविक र प्राकृतिक नियमतिता हो । तर पीडितको अवस्था हेर्दा भने मनसुनमा अविरल वर्षा नै नौलो जस्तो देखिन्छ । किनकि वर्षाका कारण बाढी, पहिरो र डुवानको समस्याका पीडितले उद्धार समयमा पाउने संरचना कमजोर देखिन्छ । अघिल्ला वर्षहरुमा जस्तो समस्या देखिएको थियो, त्यही समस्या यसपटक पनि दोहोरिने प्रष्ट संकेत देखिन्छ । किनकि अविरल वर्षाका काण उत्पन्न प्राकृतिक विपत्तिबाट उद्धार, राहत र पुनस्र्थापनातर्फ कुनै नौलो संयन्त्र निर्माण हुन सकेको छैन । परिचालन र पूर्वतयारीमा पनि गतिशीलता देखिएको छैन । त्यसैले यसपटक पनि अविरल वर्षाका कारण उत्पन्न संकटबाट नागरिक सुरक्षा भगवान भरोसा बन्ने प्रष्ट देखिन्छ ।
प्राकृतिक विपत्तिबाट नागरिक सुरक्षाका निम्ति दीर्घकालीन र अल्पकालीन कार्यक्रम जरुरी हुन्छ । अतिवर्षाका कारणले ठूलो विपत्ति देखिने गरेको छ । त्यस्तो विपत्ति प्राकृतिक सन्तुलन बिग्रनुको कारण निम्ति गर्दछ । अन्धाधुन्ध प्राकृतिक स्रोतको दोहन र विकासे गतिविधिमा नदेखाइएको सतर्कताका कारणले यस्ता विपत्ति अनियन्त्रित हुने गरेको छ । तर सरकारले भने त्यही केही राहतका कार्यक्रम मात्रै सीमित हुने संकेत दिएको छ । जबकी यस्तो बेला नागरिक चेतनादेखि तत्काल उद्धारसम्मका अल्पकालीन र प्राकृतिक सन्तुलन कायम हुनेगरी पर्यावरणीय पक्षको प्रवद्र्धनमा सरकार लाग्नुपर्ने हो ।
बाढी, पहिरो र डुवानमा मात्रै नभएर नागरिक यतिबेला मल, पुस्तकदेखि महँगीको मारमा समेत छन् । किसानले मल नपाउँदा खाद्य उत्पादन घट्ने लगभग निश्चित छ । किसान मल नपाउनु पनि नौलो समस्या होइन, वर्षेनि किसानले मल अभाव खेप्नु परेको छ । तर सरकारले भने कुनै न कुनै बाहना बनाएर पञ्छिने गरेको छ । यसपटक विद्यार्थीले त पुस्तक नै नपाउने देखिन्छ । किनकि शैक्षिक शुरु भएको तीन महिनासम्म पनि आवश्यक मात्रामा पुस्तक पछाइ हुन सकेको छैन । पुस्तक छपाइ नै नभएकाले विद्यार्थीले पाउने कुरै रहेन । शहरी नागरिकले खेप्नु परेको अर्को समस्या हो, महँगी । इन्धनदेखि खाद्य सामग्रीको महँगीले उपभोक्ता नराम्रोसँग थिचिएका छन् । तर राजनीतिक नेतृत्व र सरकार भने नागरिकका यस्ता आधारभूत समस्यामा नभएर राजनीतिक शक्ति आर्जन गर्ने चलखेलमा व्यस्त देखिन्छ । एकप्रकारले सरकार नागरिकको कष्टमा रमिता हेरेर बसेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies