
उदयपुर : उदयपुरमा सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।
चौदण्डीगढी नगरपालिका वडा नं. ४ बर्खेडाँडा चोकबाट करिब ५०० मिटर पश्चिम, मदन भण्डारी लोकमार्गमा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र३-०१-००६ ख ०३७५ नं. को ट्रक र रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको प्र १-०५-००२ प १६०० नं. को मोटरसाइकल शुक्रबार एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा मोटरसाइकल चालक पुरुष र पछाडि सवार १ जना महिला गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका-६ लामिडाँडा बस्ने अन्दाजी वर्ष ४० का गजुरमान राई र पछाडि सवार उनकी बहिनी अन्दाजी वर्ष ३५ की शान्ति राई रहेका छन् ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाएको थियो । दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल तथा ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।