
रौतहट : रौतहटको सीमावर्ती क्षेत्रमा अवैध रूपमा भित्र्याइँदै गरेको भारतीय कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार बिहान परोहा नगरपालिका–७ स्थित नरकटिया नाकाबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलको गस्ती टोलीले ४८ वटा कुखुरा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) सरमुजवाबाट खटिएको टोलीले बिहान करिब ५ बजे चेकजाँचका क्रममा पाँच जनाको समूहलाई नियन्त्रणमा लिँदै उक्त कुखुरा फेला पारेको जनाएको छ ।
सहायक प्रहरी वरिष्ठ हवलदार रामजनम यादवको कमाण्डमा रहेको टोलीले बरामद गरेको कुखुराको कुल तौल करिब १४४ किलोग्राम रहेको बताइएको छ ।
बरामद गरिएका कुखुरालाई पशु स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार जोखिमलाई मध्यनजर गर्दै खाडलमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । कुखुरा नष्ट गर्ने क्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सीमा नाकामा तस्करी नियन्त्रणलाई थप कडाइ गरिएको सशस्त्र प्रहरीको भनाइ छ । बिओपी प्रमुख नविन अलीका अनुसार नरकटिया, बकुल लगायतका नाकाहरूमा निगरानी बढाइएको छ भने चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ ।
“सीमाबाट हुने कुनै पनि अवैध गतिविधि नियन्त्रण गर्न हामी प्रतिबद्ध छौं । चोरी पैठारी रोक्न थप जनशक्ति परिचालन गरी निगरानी कडा पारिएको छ,” उनले बताए ।
पछिल्लो समय सुरक्षा निकायको सक्रियता बढेसँगै अवैध सामान ओसारपसारमा संलग्न समूहहरू निरुत्साहित हुँदै गएको जनाइएको छ । प्रशासनले अवैध कारोबारबारे जानकारी भएमा सम्बन्धित निकायलाई सूचना दिएर सहयोग गर्न आम नागरिकसँग अपिल गरेको छ ।