२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

कांग्रेसले किन छान्न सकेन दलको नेता ?

Nada
जीवन शर्मा
२०८३ वैशाख ११ गते १६:१३
Shares
कांग्रेसले किन छान्न सकेन दलको नेता ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया स्थगन गरेको छ । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेपछि कांग्रेसले निर्वाचन स्थगन गरेको हो ।

ncell

कांग्रेसले दलको नेता चयनका लागि निर्वाचन तालिकासमेत प्रकाशित गरेको थियो । पार्टी प्रवक्ता देवराज चालिसेकाअनुसार पार्टीको नयाँ विधान पारित भएकाले नयाँ विधानअनुसार नै दलको नेता छान्ने प्रयोजनका लागी निर्वाचन प्रक्रिया तत्कालका लागी रोकिएको हो ।  

प्रवक्ता चालिसेले भने, ‘दलको नेता छान्ने निर्वाचन कार्यतालिका पुरानै विधानबमोजिम अघि बढाइएको थियो । तर पार्टीको नयाँ विधान पारित भइसकेपछि सोहीअनुसार दलको नेता छान्नुपर्ने हुन्छ । त्यसकारण तत्कालका लागि नेताबीच निर्वाचन स्थगन गरिएको हो । नयाँ विधान अनुसार दलको नेता छान्ने प्रक्रिया चाँडै अघि बढाउछौ’, उनले भने ।

कांग्रेस संसदीय दलको नेता चयनमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच पनि कुरा मिलेको छैन । सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारेका छन् ।

त्यस्तै समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतिमा नभए आफू संसदीय दलको नेतामा चुनाव लड्ने जानकारी नेताहरूलाई गराइसकेका छन् । नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन नै स्थगित भएको हो । 

सर्वसम्मतिमा दलको नेता चयन गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा सात सदस्य समिति बनाइएको सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए । उक्त समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल सदस्य रहेको उनले जानकारी दिए ।  

कांग्रेसबाट प्रतिनिधि सभामा २०८२ मा प्रत्यक्षतर्फ निर्वाचित १८ र समानुपातिक प्रणालीबाट २० गरी ३८ सांसद छन् । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले संसदीय दलको नेतामा धेरैको चासो छ ।  २१ फागुनमा चुनाव भएर चैत्र ११ गते संसदको शपथ लिएपनि कांग्रेसले दलको नेता छान्न सकेको थिएन ।

सम्बन्धित खबर