२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

रुबी खान : महिला हिंसाविरुद्धकी अथक योद्धा

Nada
भावना पाठक
२०८३ वैशाख २६ गते ०६:३०
Shares
रुबी खान : महिला हिंसाविरुद्धकी अथक योद्धा

काठमाडौं : सामाजिक अभियन्ता रुबी खान १२ दिनदेखि अनशन बसिरहेकी छिन् । उनी एकल महिला निर्मला कुर्मीको शंकास्पद मृत्युको अनुसन्धान छिटो टुंग्याउनुपर्ने मागसहित अनशन बसेकी हुन् । त्यस्तै, उनी गुडिया कहार र उपचार नपाई मृत्यु भएका नाबालक दीपेश चमारको मुद्दामा जाहेरी लिई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, उपचार नगरी फर्काउने चिकित्सकलाई कारबाही गर्नुपर्ने, जलाएर मारिएकी सिर्जना बुढाले न्याय पाउनुपर्ने लगायत नौबुँदे माग राख्दै वैशाख १५ देखि अनशनमा बसेकी हुन् । साथै उनले बाँके जिल्लाका एसपी अंगुर जिसीको महिलालक्षित टिप्पणीप्रति आपत्ति जनाउँदै कारबाहीको मागसमेत गरेकी छन् ।

ncell

एसपी जिसीले केही समयअघि नेपालगन्जमा जलेको अवस्थामा मृत फेला परेकी सिर्जना बुढा मगरको चरित्रबारे आपत्तिजनक टिप्पणी गरेका थिए । उनले सिर्जनालाई यौनधन्दामा पहिले आफूले नै पक्राउ गरिसकेको अभिव्यक्ति दिएका थिए । छानबिन गर्दै जाँदा उनको पृष्ठभूमि यौनकर्मी रहेको एसपी जिसीको टिप्पणी थियो । उनको यो अभिव्यक्तिमा धेरै महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ताले विरोध जनाएका थिए । मृत्यु भइसकेको व्यक्तिबारे जिसीले गरेको टिप्पणीले महिलाको चरित्रहत्या भएको खानको ठहर छ । ‘कुनै पनि महिलाको बारेमा यस्तो आपत्तिजनक टिप्पणी गर्नुहुँदैन,’ उनले भनिन्, ‘सिर्जना त यो संसारमै छैनन्, उसको विगत जस्तो भए पनि बोल्ने अधिकार कसैलाई हुँदैन, त्यसमाथि प्रहरी अधिकारीले त झन् हुँदैन थियो ।’ महिलामाथि अभद्र टिप्पणी गर्ने एसपी जिसीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

निर्मला, नकुन्नी, रेखा, सिर्जनाजस्ता थुप्रैको न्यायका लागि रुबीले आवाज उठाउँदै आएकी छिन् । केहीमा उनी सफल भइन्, केहीमा अझै संघर्षरत छन् । 

रुबी खानको जन्म बाँकेको सामान्य मुस्लिम परिवारमा भयो । उनी जुन समाजमा जन्मिइन्, हुर्किइन् त्यो समाजमा महिलालाई प्रश्न गर्न वर्जित थियो । आफूमाथि गलत भइरहँदा पनि सहनुपथ्र्यो । प्रतिकार त परको कुरा बोल्नसमेत पाइँदैन थियो । 

जुन समयदेखि उनले बुझ्न थालिन्, त्यो समयदेखि नै महिलालाई सधैं दबाबमै राखेको पाइन् । उनले समाजबाट जति विभेद भोगिन् ती निकै डरलाग्दा थिए । आमा र हजुरआमा पुस्ताले भोगेको दुःख, विभेद त उनी कल्पना पनि गर्न नसक्ने बताउँछिन् । 

उनी नेपालगन्ज उपमहानगरपालिका–४, सल्यानी बंग्ला क्षेत्रमा हुर्केकी हुन् । उनी जहाँ हुर्किइन्, त्यहाँ उनले महिलाले सधैं सहेरै बसेको देखिन् । उनलाई लाग्थ्यो महिलाहरू किन सहेर बसिरहेका छन् ? ‘मैले त्यतिबेलै प्रण लिइसकेको थिएँ, म सहेर बस्ने महिलालाई बोल्न सिकाउँछु,’ उनी भन्छिन्, ‘मलाई आमाहरू रोएको देख्दा असाध्यै चित्त दुख्थ्यो, म यी आमाहरूको आँसु पुछ्छु, र ती आमाका छोरीहरूलाई बिचरा बन्न दिन्न ।’ अहिले उनी धेरै आवाजविहीनहरूको आवाज बनेकी छन् । 

‘विद्रोह मनमा भएर मात्र हुँदैन, त्यसलाई सही ठाउँमा विस्फोट गराउनुपर्छ,’ उनी भन्छिन्, ‘सानैदेखि आफूलाई समाजको कठघरामा उभ्याउँदै, प्रत्येक पाइलामा प्रमाणित गर्दै यहाँसम्म आएको हुँ ।’ त्रिभुवन चोकमा रहेको नारायण उच्च माविमा कक्षा आठमा पढ्दै गर्दा उनी नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले सञ्चालन गर्दै आएको किशोरी क्लबमा आबद्ध भइन् । ‘बोल्न सक्ने मान्छेको खोजी भइरहेको रहेछ,’ उनी  सम्झिन्छिन्, ‘एकजना आन्टीले मलाई क्लबमा बस्न प्रस्ताव गर्नुभयो । उहाँ मेरो विद्रोही स्वभावबाट परिचित हुनुहुन्थो ।’ उनको आठ कक्षा पढ्दादेखि सुरु भएको विद्रोहको यात्रा आजपर्यन्त जारी छ । 

नेपालगन्जमा बसेर बालविवाह र महिलाहिंसाविरुद्ध आवाज उठाउँदै आएकी उनी प्रशासनसँग नडराई आफ्नो कुरा राख्न अघि सर्थिन् । डरले न्याय पाइँदैन भन्ने उनलाई थाहा थियो । उनी घरेलु हिंसामा परेका महिलाका लागि अग्रपंक्तिमा बसेर आवाज उठाउँछिन् । उनको आवाज प्रशासनलाई मन पर्दैन थियो । ‘मेरो आवाज सुनाउन मात्र म बोलिरहेको छैन नि ! मैले त श्रीमान्को यातना सहन नसकेर आत्महत्या गर्न बाध्य महिला, दाइजोका लागि जिउँदै जलेका महिलाका लागि आवाज उठाउनु छ,’ उनले भनिन्, ‘महिलाले डरबिना बाँच्न पाउनुपर्छ, गरिब र दलित महिलालाई राज्यले संरक्षण गर्नुपर्छ, तर हाम्रो आवाज राज्यले सुनिरहेको छैन ।’

२०६८ सालमा बाँकेको जानकी गाउँपालिका–३, बन्जाडे गाउँकी रेखा तमोलीको हत्या भएको खबर आयो । श्रीमान्को कुटपिटबाट मृत्यु भएको माइती पक्षको आरोप थियो, तर प्रहरीले आत्महत्या भएको भन्दै मुद्दा अघि बढाउन खोजेको थियो । उनले त्यो सूचना आफूसम्म आएपछि न्यायका लागि निरन्तर प्रदर्शन गरेको स्मरण गरिन् । उनको समूहले १९ दिनसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा रिले अनशन बसेको थियो । निरन्तर खबरदारीकै कारण प्रहरीले कर्तव्य ज्यान मुद्दा चलायो । 

उनी घरेलु हिंसाबाट पीडित महिलाका पक्षमा खुलेर आवाज उठाउन अघि सर्थिन् । उनले नेपालगन्जमा बसेर यस्ता थुप्रै विभेद र अन्यायका विरुद्धमा लडिन् । जसले उनलाई बलियो बनाइसकेको थियो । 

उनी राष्ट्रिय स्तरमा तब चर्चित भइन्, जुनबेला उनले निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि लडिन् । निर्मला र नकुन्नीको मृत्युबारे छानबिनको माग राख्दै उनले २०७८ सालदेखि पटक–पटकका प्रदर्शन गरिन् । 

नेपालगन्जकेन्द्रित आन्दोलन गरिरहेकी उनी न्यायका लागि काठमाडौंसम्म आइन् । २०७८ असोजमा २० अधिकारकर्मीसहित पैदल हिँडेर नेपालगन्जबाट उनी काठमाडौं आएकी थिइन् । यो सानो विद्रोह थिएन । काठमाडौं आएर उनी ११ दिनसम्म अनशन बसिन् र तत्कालीन सरकारलाई छानबिन समिति बनाउन बाध्य पारिन् । अनशन बसेकै बेला उनलाई बहुविवाहको मुद्दामा प्रहरीले पक्राउ गर्‍यो । उनी थुनामा परिन् र पछि सर्वोच्चको आदेशमा रिहा भइन् । 

‘आन्दोलन भड्काउन सरकारले त्यो बेला मलाई पक्राउ गर्‍यो, लड्न आएको मान्छेलाई थुन्न खोज्यो,’ उनी भन्छिन्, ‘न्याय सजिलै पाइँदैन भन्ने थाहा थियो, तर सरकारले डराएर सडकको आवाज दबाउन थुनिहाल्ला भन्ने लागेको थिएन ।’ न्याय माग्न आएको मान्छेलाई थुनिहाल्ने कुरा लोकतान्त्रिक अभ्यासभन्दा बाहिर भएको उनको बुझाइ छ । 

२०७८ साउनमा आफ्नै घरमा मृत फेला परेकी नकुन्नी धोबीको घरेलु हिंसाका कारण मृत्यु भएको ठहर गर्‍यो । बाँके जिल्ला अदालतले उनका श्रीमान् रामकुमार धोबीलाई ५ वर्षको कैद सजाय सुनायो । तर निर्मला कुर्मीको हत्याको विषय आजसम्म पनि टुंगिएको छैन ।  

निर्मला कुर्मी एकल महिला थिइन् । उनका पति महालु कुर्मीको २०६२ सालमा मृत्यु भयो । आफ्ना दुई छोरासँग बस्दै आएकी उनी कांग्रेस नेता बादशाह कुर्मीको छिमेकीसमेत हुन् । पतिको मृत्यु भएको चार वर्षपछि अर्थात् २०६६ सालमा उनका दुई छोराको पनि मृत्यु भयो । १४ र १८ वर्षका दुई छोराको मृत्युपछि विरक्तिएकी निर्मलालाई नेता कुर्मीले झन् तनाव दिन थाले । पति र छोराहरूको मृत्युपछि कुर्मीले निर्मलाको सम्पत्ति हडप्न उनलाई टर्चर दिन थालेको छिमेकीहरूले समेत बताएका थिए । 

निर्मलाका पति र छोराहरूको नाममा साढे चार बिघा जमिन थियो । नेता कुर्मीले उनको लालपुर्जासमेत खोसेर लगेपछि उनले त्यो बेला आफू अन्यायमा परेको आवाज उठाउन थालिन् । पछि उनी एकाएक बेपत्ता भइन् । 

निर्मला कुर्मीको भारतमा मृत्यु भइसकेको विवरण बाँके प्रहरीबाट सार्वजनिक भयो । जुनबेला सिआइबीले पनि छानबिन गरिरहेको थियो । बाँके प्रहरीले २०६९/७० सालतिर निर्मलाले भारतीय नागरिक अर्जुन कुर्मीसँग विवाह गरेको र उनको मृत्यु कालगतिले भएको दाबी गर्‍यो । तर खान यो मान्न तयार छैनन् । निर्मलाका बारेमा अनुसन्धान गर्न अहिलेसम्म पाँचवटा छानबिन समिति बनिसकेको छ तर उपलब्धि शून्य रहेको उनी बताउँछिन् । निर्मलाका बारेमा फर्जी कागजात बनाएर प्रहरी पन्छिन खोजेको उनको आरोप छ । 

ताजा खबर

सम्बन्धित खबर