२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

महासंघ अध्यक्ष ढकालद्वारा बिम्स्टेक पूर्वाधार विकास कोष बनाउन प्रस्ताव

Nada
२०८१ साउन २३ गते २१:१३
Shares
महासंघ अध्यक्ष ढकालद्वारा बिम्स्टेक पूर्वाधार विकास कोष बनाउन प्रस्ताव

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बिम्स्टेक पूर्वाधार विकास कोष स्थापना प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा आयोजित बिम्स्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै ‘इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एन्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक सत्रमा ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।

ncell

ढकालले सदस्य राष्ट्रहरुलाई व्यापार सहजीकरण प्रवर्द्धन र सीमापार सम्बन्धको राम्रो विकास गर्न आवश्यक पूर्वाधार विकास गर्न स्रोतसाधन उपलब्ध गराउन क्षेत्रीय पूर्वाधार कोष आवश्यक रहेको बताए ।

बिम्स्टेक क्षेत्रका सबै सदस्य राष्ट्रको विकास भएपछि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज अझ बलियो हुने र अन्तर्राष्ट्रिय बैठकमा थप अधिकारका साथ सामूहिक रुपमा सम्झौता गर्न सक्ने ढकालको भनाइ छ । बिम्स्टेक सदस्य राष्ट्रहरुबीच थप एकीकृत सन्जाल विकास गर्न बिमस्टेक पूर्वाधार विकास कोष आवश्यक रहेको उनले बताए । ढकालले नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारतको मध्य क्षेत्र बंगलादेशसँग जोडेर र कालादान आयोजनामार्फत् म्यानमार र भारतलाई पनि जोडेर क्षेत्रीय सन्जालका लागि उपयोग गर्न सकिने बताए । पूर्व–पश्चिम राजमार्गको समानान्तर रेलमार्ग निर्माण गर्न सकिने र आउजाउमा सहज हुने उनले जनाए । 

साथै ढकालले यस क्षेत्रभित्रको भन्सार प्रक्रियालाई सरल बनाउन सीमावर्ती पूर्वाधार, एकीकृत जाँच चौकीलगायत विकास गर्नुपर्नेमा जोड दिए । नेपाल र भुटानजस्ता भूपरिवेष्ठित मुलुकका लागि सुख्खा बन्दरगाह विकास गर्नुपर्ने आवश्यकता ढकालले औंल्याए । ढकालले व्यापार सहजीकरण दिगो विकासको मेरुदण्ड भएको बताउँदै यसबाट लाभ लिन बिमस्टेक राष्ट्रहरुबीचको व्यापार प्रक्रियालाई सरल बनाउनुपर्नेमा जोड दिएको महासंघले जनाएको छ ।

सम्बन्धित खबर