२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शक्तिमा पुगेका सिके

ADV
२०८१ जेठ २७ गते ०६:४०
शक्तिमा पुगेका सिके

पृथकतावादी अभियानबाट राष्ट्रिय राजनीतिमा चिनिएका डा. सिके राउतले छोटो समयमै एकपछि अर्को संसदीय सफलता हात पारिरहेका छन् । स्वतन्त्र मधेशको आवाज उठाएकै कारण २४ पटकसम्म गिरफ्तारीमा परेर चिनिएका सिके राउत २०७५ फागुनमा सरकारसँग ११ बुँदे सहमति गरेर शान्तिपूर्ण संसदीय राजनीतिमा आएका थिए । सरकारसँग ११ बुँदेपछि राउतले तत्कालै जनमत पार्टी घोषणा गरेर मधेश केन्द्रीत गतिविधि थालेका थिए । मधेशलाई आधार क्षेत्र मानेर राजनीति गर्ने क्रममा राउतले किसान आन्दोलनलाई प्राथमिकतामा राखे । राजमार्ग केन्द्रीत आन्दोलन किसानकै मागमा गरे । उखु किसानले मूल्य नपाइरहेको, अरु किसानले मल बिऊ र बजार नपाएको अनि सिंचाईंको अभाव जस्ता माग राखेर महिनौ आन्दोलन गरे । जुन बेला मधेश केन्द्रीत अर्को दल जनता समाजवादी पार्टी (जसपा), नेपालले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको थियो भने संघीय सरकारमा समेत सामेल थिए । 

नभन्दै सिके राउतको आन्दोलनले मधेशी जनताको मन जित्न सफल भयो । त्यही आन्दोलनका कारण २०७९ मंसिरको आमचुनावमा जनमत पार्टी राष्ट्रिय दल बन्न सफल भयो । सिके राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नै हराए । मधेश प्रदेशमा १३ सिट सहित बलियो शक्ति बने । जबकी त्यो चुनावमा जनमत पार्टीले एक्लै प्रतिस्पर्धा गरेको थियो । अरु मधेश केन्द्रीत अरु दलहरु भने नेपाली कांग्रेस र नेकपा एमाले नेृतृत्वको अलग–अलग गठबन्धनमा सामेल थिए । गठबन्धनबाटै चुनाव लड्दा पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रिय दलको हैसियत बनाउन सकेन । जसपा, नेपालले गठबन्धन गरेकाले प्रत्यक्षतर्फ केही सिट बढी पाउँदा १२ सिटको दल बन्यो भने सिके राउतको पार्टीले ६ सिट पायो । 

तर समयान्तरमा उपेन्द्र यादवले नराम्रो ठक्कर खानु परेको छ । सत्ता स्वार्थमा आधारित राजनीतिमा उपेन्द्रको पार्टी फुटेर दुई वटा बनेको छ । अशोक राईले नेतृत्व गरेको जसपामा ७ जना सांसद लागेकाले उपेन्द्रसँग ५ जना मात्र छन् । यसको अर्थ उपेन्द्र भन्दा सिके राउत ठूलो दलको नेता बन्न पुगेका छन् । राष्ट्रिय राजनीतिमा यसरी उपेन्द्र भन्दा बलियो शक्ति बन्न पुगेको जनमत पार्टीले मधेश प्रदेश सरकारकै नेतृत्व लिन सफल भएको छ । शुक्रबार जनमतका सतिश सिंह मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । मधेशको नेतृत्व यसरी उपेन्द्रबाट खोसिनु भनेको मधेश आन्दोलनको १६ वर्षपछि पहिलोपटक उनी किनारामा धकेलिनु हो । अनि सिके राउत भने राष्ट्रिय राजनीतिसँगै मधेशको सत्ता हात लिन समेत सफल भएका छन् । यो सफलता कायम राख्न सिके राउतले ध्यान दिनुपर्ने विषय भनेको जनताको चाहना नै हो । 

ADVADV

सम्बन्धित खबर

Advertise