२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेप्सेमा अहिलेसम्मकै उच्च कारोबार, बुलको यात्राले तीन वर्ष अगाडिको बिन्दु पार गर्ने संकेत

ADV
मध्यान्ह
२०८१ साउन २७ गते २०:३८
नेप्सेमा अहिलेसम्मकै उच्च कारोबार, बुलको यात्राले तीन वर्ष अगाडिको बिन्दु पार गर्ने संकेत

काठमाडौं : साउनको अन्तिम हप्ताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अहिलेसम्मकै धेरै कारोबार भएको छ । आइतबार नेप्सेमा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौ बराबरको कारोबार हुँदा ९४.५३ अंकले वृद्धि भएर नेप्से २८६०.९१ को बिन्दुमा पुगेको छ । आइतबार नेप्सेमा ३.४१ प्रतिशतको पुँजी वृद्धि हुँदा बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब ३ करोड ३२ लाख ७३ हजार ३ सय बराबरको भएको  छ ।

एक महिना अगाडिदेखि राजनीतिक समीकरण परिवर्तन भएसँग नयाँ गति लिन लागेको शेयर बजारले कुनै दिन करेक्सन गर्दै निरन्तर उकालो यात्रा तय गरेको देखिएको । साथै पुँजीबजारमा लगानीकर्ताहरुले लगानीको मात्रलाई पनि वृद्धि गर्दै लगेका छन् । जसले गर्दा नेप्सेले कारोबार रकम, शेयर कारोबार संख्या लगायतका विषयमा निरन्तर रेकर्ड ब्रेक गरेको देखिन्छ ।

नेप्सेमा अघिल्लो हप्ता चार दिन कारोबार हुँदा नेप्से १०.७६ अंकले बढेर २७६६.६८ अंकमा पुगेको थियो । सो हप्तामा ३ दिन कारोबार बढेको थियो एक दिन मात्रै घट्न पुगेको थियो । सो हप्तामा ८२ अर्ब ७१ करोड ३१ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार भएको कारोबारमा कारोबारमा सबै समूहको उपसूचकमा हरियो देखियो । जसमध्ये सबैभन्दा धेरै जीवन बीमा समूह चार दशमलव ५५ र लघुवित्त समूह चार दशमलव ४० प्रतिशतले बढ्यो । त्यस्तै, बैंकिङ तीन दशमलव ३५, विकास बैंक दुई दशमलव ५८, वित्त तीन दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् तीन दशमलव ९३, लगानी चार दशमलव १२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७५ प्रतिशतले बढेको छ । साथै, म्युचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ४५, व्यापार दुई दशमलव ९१ र अन्य समूह दुई दशमलव ५१ प्रतिशतले बढेको छ ।

पुँजीबजारमा निरन्तर बढेको कारोबार रकमलाई हेर्दा नेप्से अझै वृद्धि हुनसक्ने देखिन्छ । अघिल्लो हप्तामा प्रतिनिधिसभादेखि विभिन्न मञ्चहरुमा पूर्वमन्त्रीदेखि सांसदहरुले आफ्नो धारणा राख्दै शेयर बजार अस्वभाविक रुपमा बढेको टिप्पणी गरेका थिए । साथै सांसदहरुले प्रतिफल समेत दिन नसकेका कम्पनीहरुको समेत शेयर बजारमा अस्वभाविक मूल्य देखिएको भन्दै अनुसन्धान गर्नुपर्ने समेत बताएका थिए । पूर्वमन्त्री तथा सांसदहरुकै धारणाको प्रभावस्वरुप अघिल्लो हप्ताको मंगलबार नेप्सेमा १४५ अंकले गिरावट आएको थियो । तर, सो समययता भने नेप्सेको उकालो यात्रा जारी छ ।

विगतमा १८/१९ सयबाट उक्लेर २१/२२ सयमा केहीसमय अडिएको नेप्सेले २८ सयको मनोवैज्ञानिक रेखा पार गर्छ की गर्दैन भन्ने आशंका पैदा गरेको थियो । तर, दैनिक रुपमा बढ्दै गरेको कारोबारलाई हेर्दा नेप्से थप माथि पुग्नसक्ने अनुमान धेरैले गरेका छन् । तीन वर्ष अगाडि ०७८ भदौको २ गते २१ अर्ब ३१ करोड ३४ लाखको कारोबार भएर नेप्से ३१९८.६० को अंकमा पुगेको थियो । संस्थागत लगानीकर्ताको क्याप हटाउँदा र प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर एउटै पार्टीका व्यक्तिहरु हुँदा पुँजीबजारमा सकारात्मक असर देखिएको र तीनवर्ष अगाडिकै स्थितिमा यसपटक पनि नेप्से पुग्न सक्ने धेरैले अनुमान गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise