२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ओखलढुंगामा ७९ करोड विकास बजेट ‘फ्रिज’

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १२:५५
ओखलढुंगामा ७९ करोड विकास बजेट ‘फ्रिज’

ओखलढुंग : गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुंगामा रु ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको हो ।

कुल रु ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा ‘फ्रिज’ भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि प्रदेश तथा संघीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट ‘फ्रिज’ भएको हो ।

‘समयमा काम सम्पन्न नहुँदा नियमानुसार भुक्तानी दिन सकिन्न । गत वर्ष जिल्लाको धेरै विकास बजेट फिर्ता भयो,’ जोशीले भने, ‘प्रक्रिया पुगेर आएकालाई मात्रै भुक्तानी दिने गरेका छौं । अन्य रकम नियमानुसार फिर्ता हुन्छ ।’

बजेट फिर्ता हुँदा विकास निर्माण प्रभावित हुने भएकाले समयमै काम गरेर भुक्तानी लिनुपर्ने उनको सुझाव छ ।

संघ र प्रदेश दुवैतर्फ गत आवमा जिल्लाका लागि कुल रु आठ अर्ब ५४ करोड ५१ लाख ७६ हजार एक सय १५ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये संघतर्फ रु चार अर्ब ७८ करोड ७३ लाख ६६ हजार तीन सय १६ चालु र रु एक अर्ब १८ करोड १२ लाख ४७ हजार पाँच सय ८१ पुँजीगत रहेको थियो ।

गत आवमा प्रदेशतर्फ चालु बजेट रु ६२ करोड ७२ लाख ५५ हजार र पुँजीगत रु एक अर्ब ५५ करोड ४८ लाख ८४ हजार बजेट जिल्लाका लागि विनियोजन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका स्थानीय तहलाई निकासा भएको बजेटमा पनि खर्च बर्सेनि घटेको छ ।

तथ्यांकमा विकास बजेट खर्च नभएको देखिए पनि जिल्लाका दर्जनौं आयोजना बजेट अभावका कारण रुग्ण बनेका छन् । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेका लिखु करिडोर, मोलुङ करिडोर, दर्जनौं सडक पुलसहितका पूर्वाधारका काम वर्षौंदेखि बजेट अभावमा अधुरा छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise