२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

विषाक्त अभिभावकत्व र सामाजिक दूरी

Nada
श्याम अधिकारी
२०८३ साउन २१ गते ०६:००
Shares
विषाक्त अभिभावकत्व र सामाजिक दूरी

संसारका कुनै पनि आमाबाबुले आफ्नो सन्तान कुलतमा फसोस् वा उसको जिन्दगी बर्बाद होस् भन्ने चाहँदैनन् । हरेक अभिभावकको मनमा बच्चाप्रति अथाह प्रेम र सुखद भविष्यको सपना मात्र हुन्छ । तर, यति हुँदाहुँदै पनि आज हाम्रा कैयौं युवा किशोरावस्था पार गर्दा–नगर्दै लागुऔषध र दुव्र्यसनको भयानक दलदलमा किन फसिरहेका छन् ? यो एउटा यस्तो कटु प्रश्न हो, जसको उत्तर केवल समाजमा होइन, हाम्रै घरको चार पर्खालभित्र र हाम्रो अभिभावकत्वको शैलीमा लुकेको छ ।

ncell

वास्तवमा, बच्चा जन्माउँदैमा मात्र कोही पूर्ण अभिभावक बन्न सक्दैन । बच्चाको दिमाग एउटा यस्तो अलौकिक र असीमित संसार हो, जसले सधैं नयाँ कुरा सिक्न, बुझ्न र पखेटा फिँजाएर उड्न चाहन्छ । तर, कतिपय अभिभावक आफूलाई मात्र सर्वज्ञानी ठानेर बच्चासामु प्रस्तुत हुन्छन् र उसको त्यो विशाल उत्सुकतालाई आफ्नो विचारको साँघुरो घेराभित्र कैद गर्न खोज्छन् । ‘तँ के चाहन्छस् ? तेरो मनमा के छ ?’ भनेर सोध्नुको सट्टा ‘मैले जे भन्छु, मेरो इच्छाअनुसार मात्र चल्’ भन्ने अदृश्य दबाब दिइन्छ । यही निरन्तरको मानसिक दबाबले गर्दा सन्तानको मौलिक इच्छाशक्ति र निर्णय गर्ने क्षमता बिस्तारै मर्दै जान्छ ।

हामी अक्सर अन्जानमै भावनात्मक ब्ल्याकमेलको सहारा लिने गर्छौं– ‘हामीले जति दुःख गर्‍यौं, तेरै लागि गर्‍यौं, ‘हाम्रो जिन्दगी नै तेरा लागि हो, तैंले जसरी पनि मैले भनेजस्तै गरेर देखाउनुपर्छ ।’ अझ कतिपय अवस्थामा त बच्चाले जतिसुकै ठुलो सफलता हासिल गरे पनि अभिभावकको चित्त बुझ्दैन, उनीहरू सधैं थप उपलब्धिको खोजीमा दबाब दिइरहन्छन् । जब त्यही बच्चाले किशोरावस्थामा पाइला टेक्छ, उसलाई घरभित्र आफ्नो कुनै अस्तित्व नभएको र भावनाको कदर नभएको महसुस हुन थाल्छ । उसको तुलना छिमेकी वा अरूका बच्चाहरूसँग गरेर जब उसलाई सधैं कमजोर वा गलत साबित गरिन्छ, तब उसभित्र चरम आक्रोश र नैराश्यताको जन्म हुन्छ । यही आक्रोश नै उसले मर्यादाको ‘लक्ष्मण रेखा’ पार गर्ने पहिलो दुस्साहस बन्न पुग्छ ।

यो संकट त्यतिबेला झन् थपिन्छ, जब घरभित्र आमाबाबुको आपसी सम्बन्धमा अमिलोपन र तिक्तता बढ्दै जान्छ । अभिभावकहरू जब आफ्नो व्यक्तिगत तनावका कारण सामाजिक जीवन र समाजका राम्रा गतिविधिबाट टाढिएर एक्लोपनतर्फ धकेलिन्छन्, त्यसको सिधा र गहिरो चोट सन्तानको कलिलो मस्तिष्कमा पर्छ । घरभित्रको अशान्ति र समाजसँगको सम्बन्ध टुट्दा बच्चाले आफूलाई पूर्ण रूपमा असुरक्षित र एक्लो पाउँछ । पारिवारिक छहारी र सामाजिक मार्गनिर्देशन दुवै गुमेको यस्तो संवेदनशील मोडमा बच्चाका लागि गलत बाटो वा दुव्र्यसन रोज्न झनै सजिलो भइदिन्छ । ऊ घरको निसासिँदो वातावरण र मानसिक अशान्तिबाट भाग्नका लागि क्षणिक आनन्द दिने कुलतको सहारा लिन पुग्छ ।

यस्तो अवस्थामा एउटा गम्भीर प्रश्न उठ्छ– के अभिभावकहरू आफ्ना सन्तानलाई केवल ‘गलत संगत’को संज्ञा दिएर र अरूका बच्चालाई दोष थुपारेर आफ्नो जिम्मेवारीबाट उन्मुक्ति पाउन सक्छन् ? जब आफ्नै सन्तानसँगको पहिलो र सबैभन्दा महत्त्वपूर्ण संगत परिणामविहीन र संवादहीन बन्न पुग्छ, तब मात्र ऊ बाहिरको गलत संगतमा आकर्षित हुने हो । त्यसैले, घरभित्रको वातावरण सुधार्नुको सट्टा बाहिरी दुनियाँलाई मात्र सरापेर बस्नु अभिभावकको कमजोरी लुकाउने बहाना मात्र हो ।

यो लेखको उद्देश्य कसैलाई दोषी देखाउनु होइन, यद्यपि, अभिभावकहरूले सन्तानलाई आफ्नो महत्वाकांक्षा पूरा गर्ने माध्यम मात्र नसम्झी उनीहरूको भावना र स्वतन्त्रतालाई सम्मान गरून् र युवाहरूले पनि घरको तनावको बदला आफ्नो अमूल्य जीवन बर्बाद नगरून् भन्ने हो । जब घरभित्र संवादको ढोका खुल्छ र आपसी सम्बन्धको अमिलोपन हट्छ, तब मात्र हाम्रा युवाहरू दुव्र्यसनबाट जोगिनेछन् र एउटा सुन्दर समाजको निर्माण हुनेछ ।

(लेखक अधिकारी पोर्तुगलमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।)

ताजा खबर

सम्बन्धित खबर