राजेन्द्र महतो/मध्यान्ह
सिरहा, २१ कात्तिक । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामनाका लागि मनाइन पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूणिर्मा तिथिसम्म मनाइन्छ । द्वितीया तिथिका दिन दिदीबहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन छ ।
मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । तराई मधेशका जिल्लाहरुमा सामा चकेवा पर्व मनाउने प्रचलन देखिन्छ । मुख्यतया चेलीबेटीहरुले आफ्ना दाजु भाइको दीर्घायुको कामना गर्दै रात्रीको समयमा महिला दिदीबहिनीहरुद्वारा सामूहिक रूपमा गीत गाएर रमाइलो तरिकाले खेलिने र गाइने यस प्रकारका गीतमा ढाकीमा सामा चकेवाको प्रतिमा राखेर दियो बाली चुग्लालाई गाली गर्दै नौदेखि एघार दिनसम्म खेलिने लोक संस्कृति हो । खास गरी नेपालको पूर्वी तथा मध्य तराईमा छठ पर्वको एकदिन अगाडि र कतैकतै छठको भोलिपल्टदेखि मनाइन्छ ‘सामा–चकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान कृष्णको समयदेखि नै भएको भन्ने विश्वास छ ।
यो पर्व भगवान श्रीकृष्णकी छोरी साम्बा र छोरा साम्बको कथामा आधारित छ । १० दिनसम्म चल्ने यो पर्व ११ औँ दिन पूर्णिमामा विसर्जन गरिन्छ । ११औँ दिन माटोको प्रतीकहरूलाई भाइको हातबाट फुटाई खेत वा वनमा विसर्जन गरिन्छ । भाइको उमेर लामो होस् र उसलाई कुनै रोगव्याधि नलागोस् कामनाका साथ सामा मनाईन्छ । बहिनीहरूले सामा, चकेवा, चुगला आदिको माटोको प्रतिमा बनाई बाँसको डालोमा राखी साँझको वेला गीत गाउने गर्छन् । सामा चकेवा पर्वको विशेष पात्र चुगलाको मुखमा १० दिनसम्म कालो पोत्ने गरिन्छ । चुगला अर्थात् कुरा लगाउने पात्र हो । आजभोलि आधुनिक गीत संगीतले यसलाई प्रभावित पारेको कारण ठाउँनुशार यसको खेल्ने तरिका भने अलग अलग बन्दै गइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies