२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सुनकोशीमा बगेको ५० बर्से पिरती

Nada
सपना बोहरा
२०८३ साउन २६ गते ०६:२५
Shares
सुनकोशीमा बगेको ५० बर्से पिरती

काठमाडौं : काभ्रे मण्डनदेउपुर नगरपालिका–७ कुन्तावेशीका केदारनाथ पराजुली र तिलककुमारी पराजुलीको दाम्पत्य जीवन राम्रैसँग चलेको थियो । हरेक सुख–दुःखमा उनीहरू सँगै हुन्थे । कृषि पेसामा उनीहरू सन्तुष्ट थिए । तीर्थव्रत होस् वा विवाहभोजका समारोहदेखि अस्पतालसम्म, उनीहरू जहाँ जाँदा पनि सँगै हुन्थे । गाउँघरमा पराजुलीको जोडीलाई ‘कहिले नछुट्ने जोडी’का रूपमा सबैले चिन्दथे । अन्ततः उनीहरू नछुट्टिएरै सुनकोसीमा हराए । 

ncell

पराजुली दम्पतीले ५० वसन्तभन्दा बढी समय साथै बिताए । बोनम्यारोसम्बन्धी क्यान्सर रोग र बुढ्यौली उमेर नआएको भए उनीहरू अझै केही समय सँगै हुने थिए । २०८१ सालमा श्रीमती तिलककुमारीलाई बोनम्यारोसम्बन्धी क्यान्सर देखियो । त्यसयता केदारनाथले निरन्तर श्रीमतीको उपचार र हेरचाह गर्दै आएका थिए । परिवार आर्थिक रूपमा कमजोर थिएन । तर, जति उपचार गरे पनि श्रीमती गल्दै गइन् र शरीरको एक भाग सुक्दै गयो । उनलाई झन् धेरै स्याहारसुसारको आवश्यकता पर्न थाल्यो । 

नदीमा हामफाल्नुभन्दा ठीक एक हप्ता पहिले केदारनाथ स्वयंको स्वास्थ्यमा समस्या देखियो । डाक्टरले तत्कालै प्रोस्टेटको अप्रेसन गर्नुपर्ने र केही समय आराम गर्न सुझाव दिए । तर, आफ्नै स्वास्थ्य सुधारका लागि डाक्टरले दिएको यो सुझाव केदारनाथको मनमा गहिरो चोट बनेर बिझ्यो । उनी आफैं अप्रेसन गरेर आराम गर्ने भएपछि बिरामी श्रीमतीको हेरचाह कसले गर्ला ? सम्भवतः यही चिन्ताले उनलाई सतायो । त्यसैले उनी तत्काल अप्रेसन नगर्ने र औषधि खाएर बस्ने भन्दै अस्पतालबाट फर्किए ।

‘पत्नी बिरामी हुँदाहुँदै पराजुली आफैं पनि बिरामी परेछन् । अप्रेसन गर्नुपर्छ भनेपछि उनी मानसिक रूपमा विक्षिप्त भएको अनुमान हामीले गरेका छौं,’ मण्डनदेउपुर वडा नम्बर ७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्यान्हसँग भने, ‘पराजुली दम्पतीमा असाध्यै राम्रो प्रेम थियो । जहाँ जाँदा पनि छुटिनुहुन्नथ्यो । पारिवारिक कलह भएको पनि हामीलाई थाहा छैन ।’ परिवारका सबै सदस्य आ–आफ्नो काममा व्यस्त हुने हुँदा उनीहरू एकअर्काको सहारा बनेका थिए । 

पराजुली दम्पती घरमा एक्लै भने थिएनन् । उनीहरू छोराबुहारी, नाति र नातिनीसँगै बस्दै आएका थिए । घरमा केदारनाथकी ९४ वर्षीया वृद्ध आमा पनि छिन् । तीन छोरीहरू छन्, जसले राम्रो गृहस्थी चलाइरहेका छन् । एक छोरा कृषि गर्छन् भने बुहारी सामुदायिक विद्यालयमा शिक्षक छिन् । नाति अस्ट्रेलियामा छन् र नातिनी पनि युरोप जाने तयारीमा छिन् । यति भरिपूर्ण परिवारमा भए पनि पराजुली दम्पतीले आफूहरू एक्लिँदै गएको महसुस गरे । त्यसमा पनि दीर्घरोगी श्रीमती र आफू पनि बिरामी परेपछि अन्ततः कठोर निर्णय गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

अस्पताल वा अन्य कामका लागि प्रायः प्रयोग गर्दै आएका ट्याक्सी चालकलाई केदारनाथले २० साउनमा श्रीमतीलाई अस्पताल लैजाने भन्दै बोलाए । घरमा अरू कोही नभएको मौका पारेर श्रीमतीलाई उपचारमा लैजाने भन्दै उनी ट्याक्सीमा बसे । पराजुलीकी ९४ वर्षीया आमा बुहारी तिलककुमारीको मुख हेर्न मन लागेको भन्दै त्यही बेला घर पुगेकी थिइन् । काकाकी छोरीले पनि उनीहरूलाई देखेकी थिइन् । उनी पनि सँगै अस्पताल जाने भन्दै पछि लागेकी थिइन् । तर, केदारनाथले मानेनन् र श्रीमतीलाई मात्र ट्याक्सीमा हालेर घरबाट हिँडे ।

चालकले गाडी अस्पतालतिर सोझ्याउँदै थिए । तर, केदारनाथले बाटोमै रोकेर भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिरमा पहिले श्रीमतीलाई दर्शन गराएर मात्र अस्पताल जाने भन्दै झुक्याए । मन्दिरको दर्शन गर्ने र धामीलाई देखाउन समय लाग्ने भन्दै उनले चालकलाई ट्याक्सी भाडासमेत दिएर पठाए । ट्याक्सी चालक केही समयपछि अस्पताल लैजान लिन आउने भन्दै त्यहाँबाट हिँडे ।

ट्याक्सी गएपछि पराजुलीले क्यान्सरपीडित श्रीमतीलाई पिठ्युँमा बोके र कतै नरोकिई सिधै नदीतिर लागे । वडाध्यक्ष पौडेलका अनुसार, मन्दिरबाट नदीसम्म पुग्न पैदल करिब १० मिनेट लाग्छ । श्रीमतीलाई बोकेर केदारनाथ हिँड्न सकुन्जेलसम्म नदीको किनारैकिनार हिँडेका थिए । भँगालो आएपछि पानीमा हेलिए । केदारनाथले श्रीमती तिलककुमारीलाई पिठ्युँमा बोकेर दोलालघाट पु¥याएको दृश्य मन्दिरनजिकैको सिसिटिभी फुटेजमा समेत स्पष्ट देखिएको छ । 

ट्याक्सी चालक मन्दिरमा लिन आउँदा पराजुली दम्पती त्यहाँ थिएनन् । उनीहरू न घर पुगेका थिए, न त अस्पताल नै । एकैपटक उनीहरू सुनकोसीमा हाम्फालेको खबर फैलियो । खबर पाउनेबित्तिकै प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक मनराज बानियाँको प्रहरी टोलीले खोजी सुरु गरेको थियो । 

खोजीका क्रममा श्रीमती तिलककुमारीको शव फेला पर्‍यो । तर, श्रीमान् केदारनाथ फेला परेन । सोमबार तिलककुमारीको शवसँगै केदारनाथको पनि कुशको शव बनाएर धार्मिक संस्कारअनुसारसँगै अन्त्येष्टि गरिएको वडाध्यक्ष पौडेलले बताए ।

पराजुली दम्पतीले सँगै नदीमा हामफाल्नुको कारण आर्थिक अभाव भने नभएको वडाध्यक्ष पौडेल बताउँछन् । ‘वडावासी भएका कारण म उहाँहरूको बारेमा राम्रोसँग जानकार छु,’ उनले मध्यान्हसँग भने, ‘उहाँहरू सामाजिक पहिचान भएको परिवार हो । परिवार आर्थिक रूपमा सक्षम नै छ । उपचार गराउन नसक्ने अवस्था बिल्कुलै होइन । दीर्घरोग र बुढ्यौलीको चिन्ताले अप्रिय कदम चालेको देखिन्छ ।’ 

ताजा खबर

सम्बन्धित खबर