२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सवारी दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई जना पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन २६ गते १३:१५
Shares
सवारी दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई जना पक्राउ

रौतहट : सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएपछि रौतहट प्रहरीले मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरीसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

ncell

इलाका प्रहरी कार्यालय मौलापुरले दुर्घटनामा संलग्न रहेको आरोपमा मौलापुर नगरपालिका–३ का वडाध्यक्षसमेत रहेका मोटरसाइकल चालक कोइरी र अर्का मोटरसाइकल चालक त्रिकिशोर कुशवाहालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार २०८२ साल असार ६ गते दिउँसो करिब १ः४० बजे मौलापुर नगरपालिका–३ स्थित विद्युत् कार्यालय नजिकै मौलापुर–जयनगर सडकखण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा वडाध्यक्ष महेश महतो कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकलको पछाडि सवार मौलापुर नगरपालिका–३ कै करिब २० वर्षीय निरज कुशवाहा दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

तर, उपचारकै क्रममा निरजको २०८२ साल माघ १७ गते बिहान १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले सवारी ज्यान मुद्दाअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सोही क्रममा २०८३ साल साउन २५ गते दुर्घटनामा संलग्न दुवै मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले वडाध्यक्ष महेश महतो कोइरी र अर्का चालक त्रिकिशोर कुशवाहाविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी बसन्त गौतमले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीले दुर्घटनाको कारण, दुवै मोटरसाइकल चालकको भूमिका तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर