
प्राचीन हिन्दु राज्यव्यवस्थामा गुप्तचर ज्यादै महत्त्वपूर्ण मानिन्थे । राजाले शत्रु राज्यका विषयमा यथार्थ सूचना गुप्तचरका माध्यमबाट पाउँथे । प्राचीन धर्मशास्त्रको मनुस्मृतिमा गुप्तचर कुनै साधारण जासुस मात्र नभएर राजाको अदृश्य आँखा र राज्यको रक्षाको मुख्य कवच मानिएको छ । मनुले गुप्तचरका बारेमा भनेका छन्–
सन्ध्यां चोपास्य श्रृणुयाद् अन्तर्वेश्मनि शस्त्रभृत् । रहस्याख्यायिनां चैव प्रणिधीनां च चेष्टितम् । (मनु.अ.७,श्लो– २२३)
अर्थात् साँझको सन्ध्योपासना गरिसकेपछि महलको गुप्त कक्ष (कोठा)मा शस्त्रधारण गरेका राजाले गुप्तचरको कुरा तथा सूचनालाई सुन्नुपर्दछ । त्यसैगरी मनुले गुप्तचरलाई चारचक्षु अर्थात् राजाको आँखाका रूपमा परिभाषित गरेका छन्–
द्विविधांस्तस्करान्ववद्यात्हरन् द्रव्याकपहारकान् ।
प्रकाशांश्चाकप्रकाशांश्च चारचक्षुर्महीपतिः । ।(मनु.अ.९,श्लो.२५५) ।
अर्थात् जुन राजाले प्रजाको रेखदेख गर्दछन् तिनले गुप्त रूपबाट गुप्तचरद्वारा तथा प्रकट रूपमा अरूको धन लुट्ने चोरहरूमाथि आँखा लगाउनुपर्दछ । त्यसकारण गुप्तचरका आँखाले सबैतर्फ देख्ने भएकाले राजालाई चारचक्षु भनिन्छ ।
कौटिल्यले पनि राज्य सञ्चालनका सन्दर्भमा गुप्तचर व्यवस्थालाई विशेष महत्त्व दिएका छन् । राजाले गुप्तचरहरूद्वारा टाढाको वस्तु देख्दछन् (दूरस्थमपि चारचक्षुः पश्यति राजा, चाणक्यसूत्र ४७२) । संस्कृतमा गुप्तचरलाई चर भनिन्छ । कौटिल्यले चरलाई राजाका आँखा मान्ने हुँदा राजालाई चारचक्षु भनेका छन् । चारचक्षुको अर्थ गुप्तचर आँखा भएको भन्ने हो । कौटिल्यका अनुसार गुप्तचर व्यवस्था राज्य सञ्चालनका लागि ज्यादै उपयोगी संगठन हो । त्यसैले उनले अर्थशास्त्रमा गुप्तचर व्यवस्थाको विस्तृत विवेचना गरेका छन् ।
प्राचीनकालमा गुप्तचर व्यवस्थाको प्रमुख उद्देश्य राजाले सही सूचना प्राप्त गर्नु थियो । राजाले गुप्तचरको माध्यमबाट आफ्ना मन्त्री एवं कर्मचारी राज्य एवं जनहित विरोधी काममा संलग्न छन् वा छैनन् पत्ता लगाउने गर्दथे । राजकीय कर्मचारीको भ्रष्टाचार पत्ता लगाउन पनि गुप्तचरको प्रयोग गरिन्थ्यो । मुद्दाको विषयमा तथ्य पत्ता लगाउन पनि गुप्तचरको प्रयोग गरिन्थ्यो । जनताको अभिमतको जानकारीका निम्ति पनि गुप्तचरको प्रयोग गरिन्थ्यो । जनतामा विद्रोह अथवा असन्तोषको भावना छ छैन पत्ता लगाउन पनि गुप्तचरको प्रयोग गरिन्थ्यो । शत्रु राज्यको गतिविधि पत्ता लगाउन पनि गुप्तचरको उपयोग गरिन्थ्यो । प्राचीन समयमा जनताको विचार राजासम्म पुर्याउने माध्यमका रूपमा गुप्तचरको व्यवस्था भएको पाइन्छ । राजा र जनताका बीचमा अन्योलताको खाडल नरहोस् भन्नेमा हिन्दु राजनीतिशास्त्रका चिन्तकहरू सचेत भएका कारण विशेष रूपमा गुप्तचरको व्यवस्था गरिएको पाइन्छ ।
योग्यता र नियुक्ति
मनु का अनुसार राजाले अत्यन्त योग्य व्यक्तिलाई गुप्तचरमा नियुक्त गर्नुपर्दछ र विशेष युक्तिहरूको पालन गर्नुपर्दछ । उनले गुप्तचरको योग्यतालाई यसरी बताएका छन्–
अमात्ये दण्ड आयत्तो दण्डे वैनयिकी क्रिया ।
नृपतौ कोशराष्ट्रं च दूते सन्धिविपर्ययौ । (मनुः,अ.७,श्लो.६५) ।
अर्थात् सुशिक्षा दण्डको अधीनमा रहन्छ अर्थात् दण्डको भयले नै मान्छेहरू राम्रो कर्म गर्दछन् । अतः राजाले दण्ड दिने अभिभारा कुनै योग्य मन्त्रीलाई सुम्पिदिनु पर्दछ । राज्यकोष तथा राजाको रक्षाको काम आफैंसँग राख्नुपर्दछ । विदेश विभाग, मित्र राष्ट्रहरूसँग सन्धिविग्रह आदि विषय दूत वा गुप्तचरहरूलाई जिम्मा दिनुपर्छ ।
दूतं चैव प्रकुर्वीत सर्वशास्त्रविशारदम् ।
इंङ्गिताकारचेष्टज्ञं शुचिं दक्षं कुलोद्गतम् ।(मनु .अ.७,श्लो.६३) ।
अर्थात् राजाले यस्तो व्यक्तिलाई आफ्नो दूत वा गुप्तचरमा नियुक्त गर्नुपर्छ जो सबै शास्त्रहरूको ज्ञाता, अरूको मुखमुद्राहरू, चेष्टा तथा संकेतबाट तिनीहरूको आन्तरिक भावना बुझ्न कुशल छन्, जो पवित्र अन्तःकरण भएका तथा राम्रो कुलका व्यक्तिहरू दूत वा गुप्तचरका लागि योग्य मानिएका छन् ।
कौटिल्यका अनुसार गुप्तचर नियमित राजसेवक हुन्थे । कुनै खास कामका निम्ति अस्थायी वा अल्पकालिक रूपमा पनि गुप्तचरको नियुक्ति गरिन्थ्यो । गुप्तचरको नियुक्ति राजाले गर्दथे । गुप्तचरले राज्यबाट नियमित पारिश्रमिक प्राप्त गर्दथे । ब्राह्मण, क्षत्रीय, वैश्य, शूद्र, किराँत आदि सबै वर्ण, जाति, पेसा र लिंगका व्यक्तिलाई गुप्तचरका रूपमा नियुक्त गर्नु पर्छ भन्ने कौटिल्यको विचार थियो । उनले गुप्तचर सेवा कुनै एक वर्ण वा वर्गमा सीमित गरेका थिएनन् ।
गुप्तचरका प्रकार
मनुका अनुसार गुप्तचर पाँच प्रकारका रहेका छन्–
कृत्स्नं चाष्टविधं कर्म पञ्चवर्गं च तत्त्वतः ।
अनुरागापरागौ च प्रचारं मण्डलस्य च । (मनु.अ. ७, श्लो. १५४) ।
अर्थात् राजाले जनताका प्रतिनिधिको व्यवहार तथा मन्त्रिमण्डलका सदस्यहरूको निष्ठा तथा विरक्ति जस्ता आठ प्रकारका कामहरू तथा तत्त्वका दृष्टिले पाँच वर्गमा विचार विनिमय गरिरहनु पर्दछ ।
ती पाँच वर्गमा –
१. कापटिक – विद्यार्थीका रूपमा लुकेर बसेका,
२. उदास्थित – सन्यासीका रूपमा उदासीन रहनेवाला,
३. गृहपतिक– किसानको रूपमा समाजमा बसेका,
४. वैदेहक – व्यापारिका रूपमा आर्थिक गतिविधिहरूमा ध्यान दिनेवाला,
५. तापस– तपस्वी वा जटाधारी साधुका रूपमा घुमफिर गर्नेवाला पर्दछन् ।
कौटिल्यले राजालाई विभिन्न प्रकारका गुप्तचरको नियुक्ति गर्ने सल्लाह दिएका छन् । उनले स्थायी र भ्रमणशील गरी दुई प्रकारका गुप्तचरको चर्चा गरेका छन् । एक ठाउँमा बस्ने स्थायी र भ्रमण गरिरहने भ्रमणशील गुप्तचर मानिन्थे । कौटिल्यले कापटिक, उदास्थित, गृहपतिक, वैदेह, तापस, आदि विभिन्न प्रकारका स्थायी गुप्तचरको वर्णन गरे छन् ।
१) कापटिक अर्काको मर्म जान्न सक्ने, विद्यार्थीका भेषमा रहने बुद्धिमान् गुप्तचरलाई कापटिक भनिन्छ ।
२) उदास्थित : सन्यासीका भेषमा रहने बुद्धिमान् एवं सदाचारी गुप्तचरलाई उदास्थित भनिन्छ ।
३) गृहपतिकः बुद्धिमान् एवं पवित्र हृदय भएको गरिब किसानको भेषमा रहने गुप्तचरलाई गृहपतिक भनिन्छ ।
४) वैदेहक : बुद्धिमान् एवं पवित्र हृदय भएको गरिव व्यापारीको भेषमा रहने गुप्तचरलाई वैदेहक भनिन्छ ।
५) तापस शिर मुण्डन गरी जटा धारण गरेको र सन्यासीको भेष धारण गरेको व्यक्ति जसले राजाको निम्ति गोप्य सूचना दिने काम गर्दछ त्यसलाई तापस भनिन्छ (कौटिल्य २००० अधि.१. अ.१०) ।
यसका साथै राजाले भ्रमणशील (घुमन्ते) गुप्तचर पनि नियुक्त गर्नुपर्छ भन्ने कौटिल्यको सल्लाह छ । सत्री, तीक्ष्ण, रसद र परिव्राजिका भ्रमणशील गुप्तचरका भेद हुन् ।
६) सत्री : राजासँग नाता सम्बन्ध नभएको तर राजाले पालनपोषण गर्नुपर्ने व्यक्ति जो वशीकरण, इन्द्रजाल, ज्योतिष, व्याकरण, सामुद्रिक विद्या, शुभाशुभफल बताउने शकुनशास्त्र तथा धर्मशास्त्रमा निपुण व्यक्तिलाई गुप्तचरमा नियुक्त गर्न राजालाई कौटिल्यले सल्लाह दिएका छन् । त्यसलाई सत्री गुप्तचर भनिन्छ । जो कामशास्त्र, संगीत र नृत्यकलामा पनि निपुण हुनु पर्दछ ।
७) तीक्ष्ण : धनका निम्ति आफ्नो प्राणको पनि प्रवाह नगर्ने व्यक्तिलाई गुप्तचरमा नियुक्त गरिएमा त्यसलाई तीक्ष्ण गुप्तचर भनिन्छ ।
८) रसद : विष दिने गुप्तचरलाई रसद भनिन्छ । आफ्ना बन्धुमा पनि स्नेह नगर्ने, अल्छी र क्रूर प्रकृतिको व्यक्तिलाई रसद गुप्तचरमा नियुक्त गर्नुपर्छ भन्ने कौटिल्यको विचार छ ।
९) परिब्राजिका : संस्कृतमा परिव्राजिकाको अर्थ भिक्षुणी हो । होशियार, जीविका चाहने, दरिद्र, प्रौढ, विधवा स्त्रीलाई भिक्षुणीको वेशमा गुप्तचर खटाइन्छ भने त्यस्तो गुप्तचरलाई परिव्राजिका भनिन्छ (कौटिल्य, २०००, अधि.१, अ.११) ।
गुप्तचरका कार्य
गुप्तचरका प्रमुख क्षमताका विषयमा मनुले भनेका छन्– १. मन्त्रीहरू तथा अधिकारीहरूमाथि नजर राख्नु
अध्यक्षान्विविधान्कुर्यात्तत्र तत्र विपश्चितः ।
तेऽस्य सर्वाण्यवेक्षेरन्नृणां कार्याणि कुर्वताम् । (मनु अ.७, श्लो.८१) ।
अर्थात् राजाले विभिन्न विभागमा बुद्धिमान् अध्यक्ष नियुक्त गर्नु पर्दछ र गुप्तचरहरूको माध्यमबाट विचार गरिरहनु पर्छ कि कार्य गर्ने अधिकारी वा कर्मचारीले प्रजाका साथमा कस्तो व्यवहार गरिरहेका छन् । (तिनीहरू इमान्दारीपूर्वक काम गरिरहेका छन् कि घुस खाएर) ।
२. शत्रुहरूको छिद्र (कमजोरी)हरू जान्नु
नास्य छिद्रं परोविद्याद् विद्याच्छिद्रं परस्य तु ।
गूहेत्कुर्मइवाङ्गानि रक्षेद् विवरमात्मनः ।(मनु.अ.७.श्लो.१०५ । ।
अर्थात् राजा (र उसका गुप्तचर) हरू यस्ता प्रकारले सतर्क रहनु पर्दछ कि शत्रुले उसका कुनै पनि छिद्र (कमजोरी) हरूलाई थाहा पाउन नसकोस् तर उ स्वयंले भने गुप्तचरहरूको माध्यमबाट शत्रुका सारा छिद्र वा कमजोरीहरू जानी राखोस् (जसरी कछुवाले संकटको अवस्थामा आफ्ना अंगलाई समेटेर राख्दछ, त्यसै गरी राजाले पनि आफ्ना गोप्य कुराहरूलाई लुकाएर राख्नुपर्दछ ।
कौटिल्य ले पनि गुप्तचरको संगठन राज्य सञ्चालनका निम्ति ज्यादै महत्त्वपूर्ण मानेका छन् । उनले गुप्तचरलाई विभिन्न कार्य सम्पादनको जिम्मा दिएका छन् । उनका अनुसार गुप्तचरका प्रमुख कार्य निम्नानुसार रहेका छन् ।
१. जनताका विचार राजासम्म पुर्याउने
राज्यभित्र भइरहेका र भविष्यमा हुनसक्ने सबै गतिविधिको सूचना राजालाई दिनु गुप्तचरको महत्त्वपूर्ण काम हो भन्ने कौटिल्यको विचार छ । उनको समयमा राज्यमा प्रजाको अभिमत राजासम्म पुर्याउने अन्य कुनै आमसञ्चारका माध्यमको विकास भएको थिएन । राज्य सञ्चालनमा जनता र जनताका प्रतिनिधिको सहभागिताको व्यवस्था पनि थिएन । त्यसैले जनतामा रहेको राजाप्रतिको अनुराग तथा द्वेष वा विद्रोहको भावनाको सूचना राजासम्म पुर्याउने माध्यम गुप्तचर हुन्थे । राजालाई असल शासन सञ्चालन गर्न जनताको अभिमत थाहा पाउन आवश्यक हुन्छ भन्ने विषयमा कौटिल्य सचेत थिए ।
त्यसैले उनले जनताको चाहनाअनुसार शासन सञ्चालन गरी राजाप्रति जनतामा द्वेषको भावना उत्पन्न हुन दिन गुप्तचरको माध्यमबाट जनताको अभिमतको यथार्थ सूचना राजाका निम्ति आवश्यक मानेका हुन् । यसरी कौटिल्यको योजनाअनुसार गुप्तचरका लागि तोकिएको काम हेर्दा तत्कालीन राज्य व्यवस्थामा आधुनिक लोकतन्त्रमा जनप्रतिनिधिद्वारा सम्पन्न गरिने कार्य गुप्तचरद्वारा सम्पन्न गरिन्थ्यो भन्ने स्पष्ट हुन्छ ।
२. कर्मचारीको आचरणको सूचना
कौटिल्यका अनुसार राजकीय अधिकारी एवं कर्मचारीका आचरण र व्यवहारको सूचना राजालाई दिने काम पनि गुप्तचरको हो । कुनै व्यक्तिलाई राज्यको महत्त्वपूर्ण पदमा नियुक्ति गर्नुभन्दा पहिले ती व्यक्तिको योग्यता र चरित्रको परीक्षणका लागि पनि राजाले गुप्तचरको प्रयोग गर्नुपर्ने उनको मान्यता छ । राज्यका सबै तहका कर्मचारी दुव्र्यसनबाट मुक्त हुँदैनन् । खराब आचरण भएका अधिकारीबाट जनता पीडित हुने सम्भावना रहन्छ । साथै राज्यका निम्ति पनि उनीहरूबाट खतरा हुन सक्छ । कर्मचारीद्वारा गरिने भ्रष्टाचार र राजाप्रति उनीहरूमा रहेको निष्ठासम्बन्धमा राजाले सही सूचना प्राप्त गर्न पनि गुप्तचरको प्रयोग गर्नुपर्ने कौटिल्यको विचार छ । त्यसैले गोप्य रूपमा अधिकारीहरूको आचरणको सूचना प्राप्त गरी राज्यमा भ्रष्टाचारको नियन्त्रणका निम्ति पनि राजाले गुप्तचरको उपयोग गर्नुपर्ने पक्षमा उनी छन् ।
३. न्याय सम्पादनमा सत्य पत्ता लगाउने
राज्यभित्र चोर, व्यभिचारी तथा अन्य अपराधीका सम्बन्धमा राजालाई सूचना दिनु गुप्तचरको काम मानिन्थ्यो । कौटिल्यका अनुसार अपराधको तथ्य पत्ता लगाई न्याय सम्पादनमा राजालाई सूचना दिनु गुप्तचरको काम हो ।
४. शत्रुका गतिविधिको सूचना राजालाई दिने
कौटिल्यले राज्यको सुरक्षालाई ज्यादै महत्त्व दिएका छन् । राज्यको सुरक्षाका निम्ति अन्य राज्यहरूका गतिविधिको सूचना आवश्यक पर्ने हुँदा विदेशमा गएर सूचना संकलन गर्ने काममा पनि गुप्तचर नियुक्त गर्नुपर्ने कौटिल्यको विचार छ । युद्धका समयमा शत्रु पक्षका गोप्य सूचना प्राप्त गर्न पनि गुप्तचरको उपयोग गर्नुपर्छ भन्ने उनको अभिमत छ ।
यसरी कौटिल्यले गुप्तचर व्यवस्थालाई राज्य सञ्चालनमा अत्यन्त महत्त्वपूर्ण मानेका छन् । आन्तरिक सुशासन, न्यायिक निर्णय र बाह्य आक्रमणबाट राज्यको रक्षाका निम्ति गुप्तचरको प्रयोग गर्ने विषयमा उनको विचार महत्त्वपूर्ण छ । वर्तमान राजनीतिमा पनि गुप्तचरको भूमिका महत्त्वपूर्ण मानिन्छ ।
५. आधुनिक नेपाली कानुनमा गुप्तचरसम्बन्धी व्यवस्था मुख्य रूपमा नेपालको संविधान, विद्यमान नेपाल विशेष सेवा ऐन, २०४२ र हाल संसद्मा प्रक्रियामा रहेको नयाँ राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धान विधेयकमार्फत निर्देशित छ । नेपालको एक मात्र मुख्य कानुनी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) हो ।
कानुनमा गुप्तचरसम्बन्धी व्यवस्था
१. संवैधानिक व्यवस्था
नेपालको संविधानको भाग २८, धारा २६८मा राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी व्यवस्था गरिएको छ । संविधानले गुप्तचर निकायको गठन र अन्य व्यवस्थाहरू संघीय कानुनबमोजिम हुने स्पष्ट पारेको छ ।
२. संगठनात्मक तथा प्रशासनिक नेतृत्व
प्रधानमन्त्री कार्यालय मातहतः विगतमा गृह मन्त्रालयअन्तर्गत रहने राष्ट्रिय अनुसन्धान विभागलाई हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राखिएको छ । केन्द्रीय निर्देशन समितिः गुप्तचर सेवालाई नीतिगत निर्देशन दिन प्रधानमन्त्रीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति रहने कानुनी व्यवस्था छ ।
३. कार्यक्षेत्र र जिम्मेवारी
मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र अखण्डतामा आँच पुर्याउने गतिविधिविरुद्ध गोप्य सूचना संकलन गर्नु यसको मुख्य कार्य हो । पुराना कानुनहरू देशभित्र मात्र सीमित रहेकाले नयाँ प्रस्तावित कानुनमा मुलुकबाहिर समेत गोप्य अभियान सञ्चालन गर्ने र विदेशी सूत्र परिचालन गर्ने अधिकार प्रस्ताव गरिएको छ । बाह्य राष्ट्र वा विदेशी निकायले नेपालविरुद्ध गर्ने जासुसी गतिविधिलाई निस्तेज पार्न विभागअन्तर्गत एक विशिष्टीकृत प्रतिगुप्तचरी एकाइ गठन गर्ने व्यवस्था आधुनिक कानुनमा थपिँदै छ ।
४. सूचना संकलनका विशेष अधिकारहरू
राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा संदिग्ध व्यक्तिको फोन, इन्टरनेट वा सामाजिक सञ्जालको सञ्चार रेकर्ड र अनुगमन गर्न सक्ने (इन्टरसेप्सन) अधिकार कानुनमा व्यवस्था गरिँदै छ । नागरिकको गोपनीयताको हक सुरक्षित गर्न फोन ट्यापिङ गर्दा अदालतको पूर्वस्वीकृत वा संसदीय निगरानी हुनुपर्ने विषयमा हाल संसद् र नागरिक समाजमा व्यापक कानुनी बहस भइरहेको छ ।
५. सेवा समूह र गोपनीयता
विभाग भित्र साधारण, प्राविधिक र विशेष सुरक्षा समूहहरू गठन गर्ने कानुनी प्रावधान छ । गुप्तचर निकायले कार्यान्वयन गर्ने नियम, निर्देशिका वा कार्यविधिहरू सर्वसाधारणका लागि सार्वजनिक नगरिने विशेष कानुनी संरक्षण रहेको हुन्छ ।
नेपाल सरकारले पुराना र संकुचित प्रावधान भएको २०४२ सालको विशेष सेवा ऐनलाई पूर्ण रूपमा विस्थापित गरी डिजिटल युग र आधुनिक सुरक्षा चुनौतीहरू (जस्तै साइबर सुरक्षा र आतंकवाद) सामना गर्न सक्ने गरी नयाँ छाता कानुन निर्माण कार्यलाई अगाडि बढाएको छ ।
विशेष सेवा ऐन, २०४२ र नियमावलीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसार गुप्तचर हुनका लागि निम्न योग्यता आवश्यक मानिएको पाइन्छ–
अनुसन्धान अधिकृतका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्ने, अनुसन्धान सहायकका लागि न्यूनतम प्रवीणता प्रमाण पत्र तह वा १०+२ उत्तीर्ण, अनुसन्धान सूचकका लागि न्यूनतम एसइई वा समकक्ष उतीर्ण हुनुपर्छ । पुरुषका लागि आवेदन दिने समयमा १८ वर्षभन्दा तल र २५ वर्षभन्दा माथि हुनु हुँदैन भने महिलाका लागि अधिकतम ३० वर्षसम्म तोकिएको छ । उचाइ पुरुषका लागि न्युनतम ५ फिट २ इन्च र महिलाका लागि ५ फिट अनिवार्य छ । वजन पुरुषका लागि न्यूनतम ५० किलोग्राम र महिलाका लागि न्यूनतम ४२ किलोग्राम । छाती केवल पुरुषका लागि सामान्य ३१ इन्च फुलाउँदा ३३ इन्च आवश्यक पर्छ । आँखाको क्षमता +२ वा –२ भन्दा धेरै वा कम हुनुहुँदैन ।
उम्मेदवार नेपालको नागरिक हुनुपर्छ, नैतिक पतन देखिने कुनै पनि आपराधिक क्रियाकलापमा अदालतबाट दोषी ठहर नभएको, कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ ।
६. कार्य प्रकृतिका आधारमा गुप्तचरको विभाजन
विशेष सेवाभित्र पनि गुप्तचरहरूको कार्यप्रकृतिका आधारमा भिन्न–भिन्न विभागमा राखिएको छ–
काउन्टर इन्टेलिजेन्स : देशभित्र विदेशी एजेन्टहरू वा जासुसहरूको गतिविधिलाई रोक्ने गुप्तचर ।
ह्युमन इन्टेलिजेन्स : साधारण जनताका बीचमा भेष बदलेर रहने र मानवीय सम्पर्कद्वारा सूचना प्राप्त गर्ने फिल्ड एजेन्ट ।
तकनीकि खुफिया
डिजिटल सर्विस, कल रेकर्डस् र इन्टरनेटका माध्यमबाट देश विरोधि गतिविधिहरूमा नजर राख्ने गुप्तचर ।
७. समानताको कडी
हाम्रा प्राचीन धर्मशास्त्रले गुप्तचरलाई राजाका वा राज्यका आँखाका रूपमा वर्णन गरेका छन् । जसका माध्यमबाट राजाले शत्रु वा मित्र राज्यका गतिविधिका बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्दछन् । प्राचीन अवधारणामा दूतका जति योग्यता तोकिएका छन् सोहीबमोजिमका गुप्तचरका पनि तोकिएका छन् । सामान्यतया स्वदेशमा नै जन्मिएको, कुलीन, अवगुणरहित, निर्भिक, स्मरण शक्ति राम्रो भएको, असल वक्ता, मृदुभाषी, अर्थराजनीतिशास्त्रको ज्ञाता, उत्साही, प्रभावशाली, सहिष्णु, पवित्र, मित्रताका लागि योग्य, स्वामीभक्त, सुशील, समर्थ, स्वस्थ, धैर्यवान्, अभिमानरहित, चञ्चलतारहित, सुन्दर र द्वेषको भावना नराख्ने व्यक्ति गुप्तचरका लागि योग्य मानेका छन् भने आधुनिक कानुनमा पनि पढेलेखेको, कम्तीमा पनि स्नातक गरेको, पुरुषका हकमा १८ वर्ष पुगेको र २५ वर्ष ननाघेको, महिलाका हकमा ३० वर्ष ननाघेको, शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा पनि स्वस्थ, अदालतले कुनै पनि आपराधिक क्रियाकलापमा दोषी ठहर नगरेको, कुनै पनि राजनीतिक दलको सदस्य नरहेको नेपाली नागरिक हुनु पर्छ भनेको छ । त्यसकारण योग्यताका सवालमा प्राचीन धर्मशास्त्रले निर्धारण गरेको र आधुनिक कानुनमा उल्लेख भएको गुप्तचरको योग्यतामा समानता देखिन्छ ।
गुप्तचरका प्रकारका विषयमा मनुका अनुसार कापटिक, उदास्थित, गृहपतिक, वैदेहक र तापस गरी मुख्य रूपमा गुप्तचर पाँच प्रकारका हुन्छन् भने कौटिल्यका अनुसार कापटिक, उदास्थित, गृहपतिक, वैदेहक, तापस, सत्री, तीक्ष्ण, रसद र परिब्राजिक आदि मुख्य नौ प्रकारमा विभाजित छन् । आधुनिक कानुनमा कार्यप्रकृतिका आधारमा विभिन्न किसिमले गुप्तचरको वर्गीकरण गरिएको पाइएता पनि विशेषगरी काउन्टर इन्टेलिजेन्स, ह्युमन इन्टेलिजेन्स र तकनीकि खुफिया (साइबर इन्टेलिजेमन्स) गरी मुख्यतया तीन वर्गमा विभाजन गरिएको भए पनि प्राच्य धर्मशास्त्रमा वर्णन गरिएका गुप्तचरका प्रकारहरू आधुनिक कानुनमा पनि उत्तिकै सान्दर्भिक रहेको अवस्था छ ।
गुप्तचरका प्रमुख कार्यका विषयमा पनि प्राचीन धर्मशास्त्र र आधुनिक कानुनमा समानता रहेको पाइन्छ । प्राचीन धर्मशास्त्री मनुले मुख्यरूपमा मन्त्रीहरू तथा अधिकारीहरूमाथि नजर राख्नु र शत्रुहरूको छिद्र (कमजोरी)हरू पत्ता लगाउनु गुप्तचरको मुख्य कार्य हो भनेका छन् भने कौटिल्यले जनताका विचार राजासम्म पुर्याउनु, राजकीय अधिकारी एवं कर्मचारीको आचरणको सूचना दिनु, न्याय सम्पादनमा सत्य पत्ता लगाउने कार्य गर्नु, शत्रुका गतिविधिको सूचना राजालाई दिनु आदि मुख्य कार्यहरू गुप्तचरका मानेका छन् । आधुनिक कानुनमा पनि गुप्तचरका मुख्यकार्यहरूमा मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र अखण्डतामा आँच पुर्याउने गतिविधिहरू विरुद्ध गोप्य सूचना संकलन गर्नु, मुलुक बाहिर सूचना संकलनका लागि गोप्य अभियान सञ्चालन गर्नु, देशभित्रै पनि विभिन्न निकायका गतिविधिको सूचना संकलन गर्नु, साइवर क्राइमका सूचनाहरू संकलन गर्नु लगायतका मुख्य कामहरू रहेका छन् । यस अर्थमा पनि प्राचीन धर्मशास्त्र र आधुनिक कानुनमा भएको गुप्तचरको कार्यमा समानता देखिन्छ ।
यसरी प्राचीन धर्मशास्त्रले पनि गुप्तचरलाई राज्यको एउटा महत्त्वपूर्ण पक्षका रूपमा लिएको छ भने आधुनिक वैश्विक परिवेशमा त गुप्तचरको भूमिकालाई अपरिहार्य मान्न सकिन्छ । गुप्तचरका माध्यमबाट राज्यको भित्रि र बाहिरी रूपमा भइरहेका गैरकानुनी गतिविधिमा नियन्त्रण गर्न सकिन्छ । यथासमयमा सूचना प्राप्त हुने भएकाले तत्सम्बन्धमा कार्ययोजना बनाएर त्यस्ता किसिमका अवाञ्छित गतिविधि र त्यस्ता कार्य गर्ने अपराधिहरूमाथि नियन्त्रण गर्न राज्यलाई सजिलो हुन्छ । भ्रष्टाचार लगायतका अवाञ्छित कार्यहरू नियन्त्रण गर्न सकिन्छ । राष्ट्र विरुद्धमा भैरहेका देशी तथा विदेशी षड्यन्त्रहरू पत्ता लगाई त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न सकिन्छ । त्यसकारण आधुनिक विश्व राजनीतिक परिवेशमा गुप्तचरको महत्त्व अझ बढेर गएको देखिन्छ । हाम्रा कानुनहरूको मुख्य स्रोतहरू प्राच्य धर्मशास्त्रहरू नै रहेकाले ती शास्त्रमा उल्लेख गरिएका गुप्तचरसम्बन्धी जति पनि व्यवस्था छन् ती प्रायः आधुनिक नेपाली कानुनमा समानता राख्दछन् भन्ने निष्कर्षमा पुग्न त्यति कठिन छैन ।