२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

डिग्रीको भारी, सीपको खडेरी

Nada
केशव गौतम
२०८३ साउन ३१ गते ०६:०५
Shares
डिग्रीको भारी, सीपको खडेरी

नेपालमा शिक्षा केवल विद्यालय र विश्वविद्यालयमा पढाइने विषय होइन, यो मुलुकको भविष्य निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण आधार हो। एउटा पुस्ताले कस्तो शिक्षा पाउँछ भन्ने कुराले अर्को पुस्ताको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अवस्था निर्धारण गर्दछ। शिक्षित नागरिकले विवेकपूर्ण निर्णय गर्न सक्छ, आफ्नो क्षमता पहिचान गर्न सक्छ र रोजगारी सिर्जना गरी समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउन सक्छ। त्यसैले कुनै पनि मुलुकको विकासको चर्चा गर्दा शिक्षालाई केन्द्रमा राख्ने गरिन्छ।

ncell

तर, आज नेपालको शिक्षाबारे गम्भीर बहसको आवश्यकता महसुस हुन थालेको छ। हाम्रा विद्यालय र विश्वविद्यालयबाट हरेक वर्ष हजारौँ विद्यार्थी प्रमाणपत्र बोकेर बजारमा प्रवेश गर्छन्। उनीहरूको हातमा एसईई, प्लस टु, स्नातक, स्नातकोत्तर वा डाक्टरको प्रमाणपत्र हुन्छ। तर, रोजगारीको अवसरमा प्रवेश गर्दा उनीहरूले आफूलाई एउटा असहज प्रश्न सोध्नुपर्छ— “मैले पढेको कुरा व्यवहारमा प्रयोग गरेर आफ्नो जीवन धान्न सक्ने सीप कति सिकेँ?”

यही प्रश्नले नेपालको शिक्षा प्रणालीको गहिरो विरोधाभास देखाउँछ। हामीले शिक्षाको पहुँच विस्तार गर्‍यौँ, संस्था र प्रमाणपत्र थप्यौँ, तर त्यसअनुसार रोजगारी, उत्पादन, उद्यमशीलता र व्यावहारिक सीपको विकास हुन सकेन। फलस्वरूप, डिग्री बढ्दैछ तर सीपको अभाव उस्तै छ; शिक्षित जनशक्ति बढ्दैछ तर आत्मनिर्भरता बढ्न सकेको छैन। त्यसैले अबको मूल प्रश्न “शिक्षा राम्रो छ कि छैन” भन्नेमा मात्र सीमित नभई “हाम्रो शिक्षाले कस्तो नागरिक, श्रमशक्ति र समाज बनाउँदैछ” भन्ने हुनुपर्छ।

डिग्री र सीपबीचको दूरी तथा शिक्षित बेरोजगारी

ज्ञानले कुनै विषयबारे बुझाइ दिन्छ भने सीपले त्यसलाई व्यवहारमा प्रयोग गर्ने क्षमता दिन्छ। उदाहरणका लागि, व्यवस्थापन पढेको विद्यार्थीलाई सिद्धान्त थाहा हुन सक्छ, तर वास्तविक संस्थामा मानिस व्यवस्थापन गर्न, समस्या समाधान गर्न वा बजेट बनाउन उसलाई व्यावहारिक सीप चाहिन्छ। हाम्रो शिक्षामा यही दूरी छ। विद्यार्थीले पाठ्यपुस्तक पढ्छ, परीक्षा दिन्छ र राम्रो अंक ल्याउँछ, तर वास्तविक जीवनका समस्या समाधान गर्ने अभ्यास पर्याप्त हुँदैन। परीक्षाको नतिजालाई नै सफलताको अन्तिम मापदण्ड मान्ने प्रवृत्तिले सिर्जनशीलता, सञ्चार क्षमता, नेतृत्व, सहकार्य र प्रविधिको प्रयोगजस्ता आवश्यक सीपलाई ओझेलमा पारेको छ।

यसले गर्दा देशमा शिक्षित बेरोजगारीको स्वरूप भयानक बन्दै गएको छ । यसका मुख्य कारणहरू हुन्ः  शिक्षा र श्रम बजारको आवश्यकताबीच सम्बन्ध नहुनु । सरकारी वा निश्चित कार्यालयको जागिरमा मात्र ध्यान सीमित हुनु र रोजगारी सिर्जना गर्ने सोच नहुनु । 
प्राविधिक तथा व्यावसायिक शिक्षा र हातले गर्ने श्रमलाई कम प्रतिष्ठाको दृष्टिले हेर्ने सामाजिक प्रवृत्ति । निजी क्षेत्र, उद्योग र शैक्षिक संस्थाबीच सहकार्यको अभाव हुनाले व्यावहारिक अनुभव (इन्टर्नसिप) नपाउनु । प्रमाणपत्रलाई नै सामाजिक प्रतिष्ठाको मुख्य मापदण्ड मान्ने दौड ।

श्रमको सम्मान र वैदेशिक रोजगारीको यथार्थ

समस्या डिग्रीमा होइन, डिग्री र सीपबीच सन्तुलन नहुनुमा हो। इन्जिनियर, चिकित्सक वा प्रशासक बन्न औपचारिक उच्च शिक्षा अनिवार्य छ, तर डिग्री ज्ञानको प्रमाण हो भने सीप त्यसको प्रयोग गर्ने क्षमता हो। दुवै एकअर्काका पूरक हुन्।

यसका लागि हाम्रो सामाजिक सोच बदलिनु आवश्यक छ। हामीले सेतो कलरको जागिरलाई प्रतिष्ठित र प्राविधिक वा श्रममा आधारित कामलाई कम प्रतिष्ठित ठान्ने गल्ती गर्‍यौँ। दक्ष इलेक्ट्रिसियन, प्लम्बर, मेकानिक, कृषक वा शेफजस्ता सीपयुक्त कामलाई सम्मान नगर्दा श्रम बजारमा असन्तुलन आयो। विडम्बना, देशभित्र सम्मान नपाएका काममा विदेशबाट जनशक्ति ल्याउनुपर्ने र हाम्रा युवाहरू बाहिर गएर तिनै काम गर्न बाध्य हुने अवस्था छ। समाजले श्रमको सम्मान गर्न सिक्नुपर्छ।

अर्कातिर, वैदेशिक रोजगारी युवाहरूका लागि बाध्यता बनेको छ। विदेश जानु आफैँमा समस्या होइन, तर स्वदेशमा अवसर नपाएर विदेश जानु नै एकमात्र विकल्प बन्नु गम्भीर विषय हो। नेपालमा यस्तो शिक्षा आवश्यक छ जसले युवालाई विदेश जान चाहे प्रतिस्पर्धी बनाओस् र देशमै बस्न चाहे अवसर सिर्जना गर्न सक्षम बनाओस्।

डिजिटल युग, प्रविधि र शिक्षक 

आजको संसार तीव्र गतिमा डिजिटल बन्दैछ। कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) र प्रविधिले कामको स्वरूप फेरिरहेको छ। यस्तो अवस्थामा शिक्षाले उत्तर कण्ठ गराउने होइन, सही प्रश्न सोध्न, उत्तरको विश्वसनीयता जाँच्न र नैतिक निर्णय लिन सिकाउनुपर्छ। प्रविधिलाई डरको रूपमा होइन, सिकाइको साधनका रूपमा प्रयोग गर्दै मानवीय क्षमताको विकास गर्नुपर्छ।

यस सम्पूर्ण सुधारको केन्द्रमा शिक्षक र विश्वविद्यालय हुन्छन्। शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति नभई मार्गदर्शक र सिकाइ सहयात्री हुन्। त्यसैले शिक्षकको क्षमता विकास र प्रविधिको प्रयोगमा लगानी आवश्यक छ। उता, विश्वविद्यालयहरू प्रमाणपत्र बाँड्ने संस्था मात्र नभई अनुसन्धान, नवप्रवर्तन र समाधान खोज्ने केन्द्र बन्नुपर्छ। साथै, संघीय संरचनामा स्थानीय तहले पनि आफ्नो क्षेत्रको सम्भावना (कृषि, पर्यटन, जडीबुटी, उद्योग) अनुसारको शिक्षालाई स्थानीय अर्थतन्त्रसँग जोड्न सक्छन्।

पाठ्यक्रम सुधार र राज्य

नेपालको शिक्षा सुधार गर्न पाठ्यक्रमलाई जीवनोपयोगी र रोजगारीसँग जोड्नुपर्छ। सञ्चार, समस्या समाधान, आलोचनात्मक सोच, डिजिटल तथा वित्तीय साक्षरता र उद्यमशीलताजस्ता सीपहरूलाई सिकाइमै समावेश गरिनुपर्छ। पढाइसँगै कामको अनुभव (इन्टर्नसिप र अप्रेन्टिससिप) दिने प्रणाली विकास गर्नुपर्छ।

राज्यले केवल भौतिक पूर्वाधार र बजेट खर्चमा मात्र होइन, मानव पूँजी निर्माणमा लगानी गर्नुपर्छ। निजी क्षेत्रसँग सहकार्य गरी बजारलाई आवश्यक सीप र पाठ्यक्रमबीच तालमेल मिलाउनुपर्छ। यद्यपि, शिक्षित बेरोजगारीको दोष शिक्षालाई मात्र दिन मिल्दैन; कमजोर आर्थिक संरचना, उद्योगको सीमित विस्तार र नीतिगत अस्थिरता जस्ता आर्थिक–सामाजिक कारण पनि उत्तिकै जिम्मेवार छन्। शिक्षाले सीपयुक्त जनशक्ति तयार गर्छ भने अर्थतन्त्रले त्यसलाई अवसर दिनुपर्छ।

अबको बाटो

अबको नेपाललाई ज्ञान, सीप र चरित्र दिने शिक्षा आवश्यक छ। ज्ञानले दिशा दिन्छ, सीपले व्यवहारमा उतार्छ र चरित्रले सही प्रयोग सुनिश्चित गर्छ।

नेपाल आज ठूलो जनसांख्यिक सम्भावनाको अवस्थामा छ। युवा जनशक्ति देशको सबैभन्दा ठूलो सम्पत्ति हो। आजको आवश्यकता डिग्री घटाउने होइन, डिग्रीको अर्थ बढाउने हो। प्रमाणपत्रसँगै सीप, ज्ञानसँगै प्रयोग, शिक्षासँगै रोजगार, पढाइसँगै उद्यमशीलता र प्रविधिसँगै मानवीय मूल्य जोड्नुपर्छ।

हामीले शिक्षालाई प्रमाणपत्र उत्पादन गर्ने कारखाना मात्र मानिरहने हो भने डिग्रीको भारी बढिरहनेछ, तर सीपको खडेरी हट्ने छैन। तर यदि शिक्षालाई जीवन, श्रम, उत्पादन, प्रविधि र उद्यमशीलतासँग जोड्न सक्यौँ भने त्यही डिग्री युवाको बोझ होइन, सामथ्र्य बन्नेछ।

अब नेपालको शिक्षाले एउटा नयाँ प्रश्न सोध्ने समय आएको छ— “तिमीले कति पढ्यौ?” मात्र होइन, “तिमीले के सिक्यौ, के गर्न सक्छौ र समाजका लागि के सिर्जना गर्न सक्छौ?” देशको भविष्य कागजमा लेखिएको डिग्रीले होइन, त्यो डिग्री बोकेका नागरिकको ज्ञान, सीप, सिर्जनशीलता र चरित्रले निर्माण गर्ने हो । 

ताजा खबर

सम्बन्धित खबर