
पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी गरेको लिखित वक्तव्यले नेपाली राजनीतिक वृत्तमा एउटा गम्भीर अपेक्षा जगाएको थियो । लामो समयपछि स्वदेश फर्किएका देउवाले आफू ‘शक्ति तथा पद प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न’ आएको स्पष्ट गर्दै नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर अन्य राजनीतिक दलहरूसँग सहमति र सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । राजनीतिक जीवनको लामो अनुभव बोकेका देउवाबाट आएको यो अभिव्यक्ति सामान्य राजनीतिक वक्तव्य मात्र थिएन । यसको आफ्नै राजनीतिक सन्देश थियो । शक्ति, पद र गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर राष्ट्रिय एकता र राजनीतिक सहकार्यको वातावरण निर्माण गर्ने संकेतका रूपमा यसलाई बुझ्न सकिन्थ्यो । तर, वक्तव्यको अर्थ र त्यसपछिको व्यवहारबीच भने सुरुमै एउटा असहज दूरी देखियो ।
देउवा समर्थकले उनलाई नेपाली कांग्रेसको समानान्तर रूपमा खडा गरिएको कार्यालयमा पु¥याए र त्यहाँ नेपाली कांग्रेसको सभापति लेखिएको कार्यकक्षमा आसीन गराए । यही दृश्यले देउवाको वक्तव्यबाट उत्पन्न सकारात्मक सन्देशमाथि तत्कालै एउटा गम्भीर प्रश्न खडा गरिदियो । आजको संवैधानिक तथा राजनीतिक यथार्थमा देउवा नेपाली कांग्रेसका सभापति छैनन् । सम्बन्धित संवैधानिक तथा कानुनी प्रक्रियाले उनलाई पार्टीको वर्तमान सभापतिको हैसियत दिएको छैन । भविष्यमा यस विषयमा कुनै नयाँ राजनीतिक वा कानुनी परिस्थिति उत्पन्न हुन्छ कि हुँदैन, त्यो अलग विषय हो । अहिलेको प्रश्न त्यो होइन । मुख्य प्रश्न त यो हो–यदि देउवा वास्तवमै शक्ति र पद प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएका हुन् भने, त्यस अभियानको पहिलो आधार नेपाली कांग्रेसको एकता र संस्थागत सुदृढता हुनुपर्दैन ?
राष्ट्रिय एकता खोज्ने व्यक्तिले पहिले आफ्नै राजनीतिक घरभित्रको विभाजनलाई सम्बोधन गर्नुपर्छ । सहमति र सहकार्यको राजनीति अघि बढाउने व्यक्तिले आफ्नै पार्टीभित्र सहमतिको संस्कार निर्माण गर्नुपर्छ । त्यसैले देउवाको राष्ट्रिय भूमिकाको सम्भावना र नेपाली कांग्रेसको आन्तरिक एकता एकअर्काबाट अलग विषय हुन सक्दैनन् । यहीँनेर आजको मूल प्रश्न जन्मिन्छ–देउवाले नेपाल फर्किने क्रममा जुन राजनीतिक उद्देश्य सार्वजनिक गरे, त्यस उद्देश्यतर्फ अघि बढ्न उनले पहिलो कदम सही दिशामा राखे त ?
दुर्भाग्यवश, प्रारम्भिक दृश्यले सकारात्मक उत्तर दिन कठिन बनाएको छ । कसैले यसलाई समर्थकको उत्साह मात्र भनेर पन्छाउन सक्ला । तर, राजनीतिमा प्रतीकहरूको पनि आफ्नै अर्थ हुन्छ । पाँच महिनापछि स्वदेश फर्किएका एक वरिष्ठ नेताले आफू पद र शक्तिको आकांक्षाबाट मुक्त भएको सन्देश दिइरहेका बेला उनलाई समानान्तर कार्यालयमा पार्टी सभापतिको कार्यकक्षमा आसीन गराइनु केवल एउटा औपचारिक दृश्य मात्र रहँदैन । त्यसले एउटा राजनीतिक सन्देश दिन्छ–केन्द्रमा अझै पनि पद र नेतृत्वको दाबी जीवित छ !
यदि त्यस्तो सन्देश गएको हो भने, त्यो देउवाको आफ्नै वक्तव्यसँग मेल खाँदैन । देउवाका लागि यो एउटा अवसर थियो–पुरानो विवादको पुनरावृत्ति नगरी नयाँ राजनीतिक अध्याय प्रारम्भ गर्ने । उनी चाहेको भए नेपाल फर्किने पहिलो दिनमै एउटा अत्यन्त शक्तिशाली प्रतीक स्थापित गर्न सक्थे । उनी कुनै पदको दाबी नगरी, पार्टीका सबै पक्षलाई संवादमा बोलाउँदै, नेपाली कांग्रेसलाई पुनः एकताबद्ध बनाउने आफ्नो प्रतिबद्धता व्यवहारबाट देखाउन सक्थे ।
त्यसका लागि ठुलो राजनीतिक कार्यक्रम आवश्यक थिएन । एउटा साधारण, तर अर्थपूर्ण व्यवहार नै पर्याप्त हुन सक्थ्यो । उदाहरणका लागि– ‘म अहिले कुनै पदको दाबी गर्न आएको होइन; कांग्रेसलाई एकताबद्ध गर्न आएको हुँ । कांग्रेसभित्रको विवाद समाधान गरौं, संस्थालाई बलियो बनाऔं र त्यसपछि मात्र देशको राष्ट्रिय राजनीतिमा सहमति र सहकार्यको नयाँ आधार निर्माण गरौं ।’
यदि देउवाले यस्तो सन्देशलाई आफ्नो व्यवहारसँग जोड्न सकेका भए, उनको फर्काइको राजनीतिक अर्थ निकै फरक हुने थियो । किनकि देउवासँग एउटा महत्वपूर्ण राजनीतिक पुँजी अझै बाँकी छ– अनुभव । लामो समय नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेका नेताका रूपमा उनले शक्ति, सत्ता, संघर्ष, सहमति र असहमतिका अनेक चरण देखेका छन् । यही अनुभव अहिले उनको व्यक्तिगत राजनीतिक महत्त्वभन्दा पनि राष्ट्रिय राजनीतिक उपयोगिताका लागि महत्त्वपूर्ण हुन सक्छ । तर, त्यसका लागि एउटा आधारभूत परिवर्तन आवश्यक छ–पदको राजनीतिबाट भूमिका र नेतृत्वको राजनीतितर्फ संक्रमण ।
आज नेपाली कांग्रेस केवल नेतृत्वको विवादमा अल्झिएको पार्टी होइन । यो नेपालको लोकतान्त्रिक राजनीतिको एउटा महत्त्वपूर्ण संस्था हो । कांग्रेस कमजोर हुनु वा विभाजित हुनु केवल एउटा पार्टीको आन्तरिक समस्या मात्र हुँदैन; त्यसको प्रभाव राष्ट्रिय राजनीतिको स्थायित्व र लोकतान्त्रिक संस्थाको विश्वसनीयतामाथि पनि पर्न सक्छ । त्यसैले देउवाले आफ्नो फर्काइलाई व्यक्तिगत राजनीतिक पुनरागमनका रूपमा होइन, एकता र सहमतिको राजनीतिक पहलका रूपमा प्रमाणित गर्नुपर्ने चुनौती छ ।
उनको वक्तव्यले त्यसको सम्भावना देखाएको थियो । तर, समानान्तर कार्यालयमा सभापतिको कार्यकक्षमा आसीन भएको दृश्यले त्यस सम्भावनामाथि सुरुमै प्रश्न खडा गरिदिएको छ । यही कारणले भन्नुपर्छ–देउवाले एउटा महत्वपूर्ण अवसर गुमाएका छन् । तर, अवसर पूर्ण रूपमा समाप्त भएको छैन । राजनीतिमा एउटा कदमले सम्पूर्ण यात्रा निर्धारण गर्दैन । देउवाले अझै पनि आफ्नो पहिलो दिनको दृश्यभन्दा आफ्नो आगामी व्यवहारलाई ठुलो बनाउन सक्छन् । उनले चाहेको हो भने पार्टीभित्र संवादको पहल गर्न सक्छन् । विभिन्न धारका नेताहरूसँग भेटेर विश्वासको वातावरण बनाउन सक्छन् । सभापति पदको दाबीभन्दा कांग्रेसको संस्थागत एकतालाई प्राथमिकता दिन सक्छन् । त्यसपछि मात्र राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताको व्यापक अभियानमा आफ्नो भूमिका खोज्न सक्छन् ।
त्यो बाटो रोजेमा देउवाको आजको वक्तव्य केवल एउटा लिखित वक्तव्यमा सीमित रहने छैन । त्यो उनको राजनीतिक जीवनको नयाँ अध्यायको प्रारम्भ बन्न सक्छ । तर यदि वक्तव्यमा ‘पद होइन, राष्ट्रिय एकता’ भनिरहँदा व्यवहारमा फेरि पदकै प्रतीक र दाबीलाई अघि सारियो भने राजनीतिक समाजले स्वाभाविक रूपमा प्रश्न गर्नेछ– देउवा साँच्चै नयाँ भूमिकाको खोजीमा फर्किएका हुन् कि पुरानै भूमिकाको पुनरावृत्तिका लागि ?
अन्ततः देउवाको अगाडिको चुनौती यही हो । नेपाल फर्किनु एउटा घटना हो । वक्तव्य जारी गर्नु अर्को घटना हो । तर आफ्नो वक्तव्यलाई व्यवहारबाट प्रमाणित गर्नुचाहिँ वास्तविक राजनीति हो । देउवाले राष्ट्रिय एकताको कुरा गरेका छन् । त्यसको पहिलो परीक्षा राष्ट्रिय राजनीतिमा होइन, नेपाली कांग्रेसभित्रै हुनेछ ।
यदि उनले त्यो परीक्षा उत्तीर्ण गर्न सके भने उनको अनुभव पुनः राष्ट्रिय सम्पत्तिमा रूपान्तरित हुन सक्छ । तर, यदि प्रारम्भिक कदमले नै पुरानै शक्ति–संघर्षको संकेत दियो भने, उनले आफैंले घोषणा गरेको उद्देश्यको बाटोमा पहिलो अवरोध पनि आफैंले खडा गरेको ठहरिनेछ ।
त्यसैले आजको प्रश्न देउवा सभापति बन्ने वा नबन्ने मात्र होइन । प्रश्न यो हो– देउवा अब पद खोज्ने नेता बन्न चाहन्छन् कि आफ्नो लामो राजनीतिक अनुभवलाई सहमति, एकता र राष्ट्रिय हितका लागि प्रयोग गर्ने वरिष्ठ नेता ? उनको आजको वक्तव्यले दोस्रो सम्भावनाको ढोका खोलेको थियो । तर, त्यस ढोकाबाट उनी कुन दिशातर्फ अघि बढ्छन्–त्यसको निर्णय अब वक्तव्यले होइन, उनका आगामी कदमले गर्नेछन् ।