२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

दक्षिण एसियामा नयाँ हुरी

Nada
भूपेन्द्र थापा ‘माधव’
२०८३ भदौ १ गते ०८:०१
Shares
दक्षिण एसियामा नयाँ हुरी

दक्षिण एसियाको आकाशमा फेरि एउटा नयाँ हुरी चल्न थालेको छ । यो हुरी केवल सडकमा देखिएको भिड होइन, केवल सामाजिक सञ्जालमा देखिएको आक्रोश पनि होइन । यो एउटा पुस्ताको बेचैनी हो, एउटा पुस्ताको प्रश्न हो र पुरानो राजनीतिक संस्कृतिप्रतिको बढ्दो अविश्वास हो । बंगलादेशमा विद्यार्थी आन्दोलनले सत्ता संरचनालाई चुनौती दियो । श्रीलंकामा आर्थिक संकटले जनआक्रोशलाई सडकमा उता¥यो । नेपालमा नयाँ पुस्ताको विद्रोहले स्थापित राजनीतिक नेतृत्वलाई गम्भीर प्रश्न ग¥यो । भारतमा पनि युवाको असन्तुष्टि नयाँ प्रतीक र नयाँ राजनीतिक भाषामार्फत अभिव्यक्त हुन थालेको छ ।

ncell

भारतमा चर्चामा आएको ‘कक्रोच जनता पार्टी’ अर्थात् सिजेपी आन्दोलन यही नयाँ राजनीतिक मनोविज्ञानको एउटा उदाहरणका रूपमा अगाडि आएको छ । यी आन्दोलनका कारण र स्वरूप फरक छन् । तर, तिनको अन्तर्यमा एउटा समान प्रश्न देखिन्छ, पुरानो राजनीतिक संरचनाले नयाँ पुस्ताको भविष्य सुरक्षित गर्न सक्छ कि सक्दैन ? यही प्रश्नले दक्षिण एसियाको राजनीतिलाई नयाँ मोडमा पु¥याउँदै छ ।

भारतमा ‘कक्रोच जनता पार्टी’ अर्थात् सिजेपी परम्परागत अर्थमा स्थापित राजनीतिक दल होइन । यो नयाँ पुस्ताको डिजिटल असन्तुष्टि र राजनीतिक व्यंग्यबाट जन्मिएको अभियानका रूपमा अघि आएको देखिन्छ । ‘कक्रोच’ अर्थात् साङ्लो शब्दलाई आन्दोलनको प्रतीक बनाइनु आफैंमा एउटा राजनीतिक व्यंग्य हो । अपमानका रूपमा प्रयोग भएको शब्दलाई नै प्रतिरोधको परिचय बनाउनु नयाँ पुस्ताको राजनीतिक मनोविज्ञान बुझ्ने एउटा महत्त्वपूर्ण संकेत हो । यसको अर्थ सरल छ– हामीलाई कमजोर ठानिएला, दबाउन खोजिएला, तर हामी समाप्त हुने छैनौं ।

आजको पुस्ताको राजनीति परम्परागत राजनीतिक दलको कार्यालयबाट मात्र सुरु हुँदैन, त्यो सामाजिक सञ्जालबाट सुरु हुन्छ । । हिजो राजनीतिक सन्देश फैलाउन पत्रिका, सभा र मञ्च चाहिन्थ्यो, आज एउटा मोबाइल फोन नै राजनीतिक मञ्च बन्न सक्छ । एउटा भिडियो, एउटा ह्यासट्याग, एउटा व्यंग्यात्मक चित्र वा एउटा छोटो सन्देशले हजारौं–लाखौं मानिसलाई एउटै भावनामा जोड्न सक्छ । यही परिवर्तनले दक्षिण एसियाको राजनीतिलाई पुरानो ढाँचाबाट बाहिर निकाल्दै छ ।

सिजेपी आन्दोलनको चर्चा केवल एउटा डिजिटल अभियानका रूपमा मात्र गरेर पुग्दैन, यसको पछाडि रहेको सामाजिक मनोविज्ञानलाई बुझ्न आवश्यक छ । भारतमा लाखौं युवा शिक्षा पूरा गरेपछि रोजगारीको खोजीमा छन् । सरकारी सेवा र प्रवेश परीक्षाको तयारी गर्ने युवाको संख्या ठुलो छ । परीक्षा प्रणालीमा हुने अनियमितता, प्रश्नपत्र चुहावट वा परीक्षा रद्दजस्ता घटनाले युवाको भविष्यप्रतिको विश्वास कमजोर बनाउँछन् । एक युवाले वर्षौं मिहिनेत गर्छ, परिवारले उसको शिक्षामा लगानी गर्छ र उसले आफ्नो भविष्य एउटा परीक्षासँग जोड्छ । तर, अन्ततः यदि प्रणालीमाथि नै विश्वास गर्न नसक्ने अवस्था आयो भने त्यसबाट जन्मिने असन्तुष्टि केवल व्यक्तिगत रहँदैन, त्यो राजनीतिक बन्छ । बेरोजगारी, शिक्षा, अवसरको असमानता र संस्थागत जवाफदेहिताको प्रश्नले युवाको मनमा एउटै प्रश्न जन्माउँछ– देश अघि बढिरहेको छ भने मेरो भविष्य किन पछाडि छ ? सिजेपी आन्दोलनको वास्तविक शक्ति यही प्रश्नमा निहित छ ।

दक्षिण एसियामा डिजिटल माध्यमले राजनीतिक संगठनको परम्परागत संरचनालाई चुनौती दिएका छन् । तर, सामाजिक सञ्जालको शक्ति जति ठुलो छ, यसको जोखिम पनि उत्तिकै ठुलो छ । गलत सूचना फैलिन सक्छ, अफवाहले आन्दोलनको दिशा बदल्न सक्छ, विदेशी प्रभाव प्रवेश गर्न सक्छ र भावनात्मक उत्तेजनाले तथ्यलाई विस्थापित गर्न सक्छ । 
नेपालमा युवाको आक्रोश सडकमा देखियो, बंगलादेशमा विद्यार्थी आन्दोलनले राजनीतिक सत्ता संरचनालाई चुनौती दियो, श्रीलंकामा आर्थिक संकटले जनतालाई शासकविरुद्ध सडकमा उता¥यो र पाकिस्तानमा राजनीतिक अस्थिरताले युवाको भविष्यलाई अनिश्चित बनाएको छ । यी सबै घटनाका कारण फरक छन्, तर मनोविज्ञान समान छ ।

दक्षिण एसियाको नयाँ राजनीतिक परिवर्तनलाई बुझ्न ‘जेन–जी पुस्ता’को मनोविज्ञान बुझ्न आवश्यक छ । यो पुस्ता पुरानो पुस्ताजस्तो राजनीतिक दलप्रति भावनात्मक रूपमा बाँधिएको छैन । यो पुस्ताले सूचना प्रत्यक्ष पाउँछ र विश्वका अन्य देशका युवाको जीवनशैली मोबाइलको पर्दाबाट हेरेर आफ्नै देशको अवस्थासँग तुलना गर्छ । त्यसैले आजको युवा पुस्तालाई केवल राष्ट्रवादको नाराले लामो समयसम्म सन्तुष्ट राख्न सकिँदैन । 

नेपालको जेन–जी आन्दोलन र भारतको सिजेपी आन्दोलनबीच प्रत्यक्ष संगठनात्मक सम्बन्ध रहेको प्रमाण नभए पनि दुवै घटनाले एउटा साझा मनोविज्ञान देखाउँछन् । नेपालमा भ्रष्टाचार, सुशासन र राजनीतिक निराशाले युवालाई सडकमा ल्यायो भने भारतमा रोजगारी, शिक्षा र परीक्षा प्रणालीको असन्तुष्टिले नयाँ राजनीतिक अभिव्यक्ति जन्माउँदै छ । 
दक्षिण एसियाका कुनै पनि राजनीतिक परिवर्तनलाई बाह्य शक्तिको प्रभावबाट पूर्णतः अलग राख्न सकिँदैन । भारत विश्वको ठुलो शक्ति बन्दै छ, चीनको प्रभाव विस्तार भइरहेको छ र अमेरिका हिन्द–प्रशान्त रणनीतिमा सक्रिय छ । नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र माल्दिभ्सजस्ता देशमा हुने राजनीतिक परिवर्तनले क्षेत्रीय शक्ति सन्तुलनलाई प्रभावित गर्छ । राजनीतिक शून्यतालाई बाह्य शक्तिहरूले आफ्नो हितअनुकूल उपयोग गर्न खोज्न सक्छन् । आन्तरिक स्वतन्त्रता जोगाउँदै बाह्य प्रभावबाट आफ्नो राजनीतिक स्वायत्तता कायम राख्नु ठुलो चुनौती हो ।

आन्दोलनलाई संगठन, विचार, नेतृत्व, नीति र जनताको दीर्घकालीन विश्वास चाहिन्छ । यदि सिजेपी आन्दोलन शिक्षा र परीक्षा प्रणालीका समस्यामा मात्र सीमित रह्यो भने यसको प्रभाव निश्चित वर्गमा सीमित हुन सक्छ । 

इतिहासमा धेरै आन्दोलनहरू परिवर्तनको वाचा गर्दै जन्मिए, तर सत्तामा पुगेपछि तिनै आन्दोलनहरू पुरानै संरचनाको हिस्सा बने । त्यसैले वास्तविक परिवर्तन केवल सत्ता परिवर्तन होइन, राजनीतिक संस्कृतिको परिवर्तन हो ।

दक्षिण एसियाको राजनीति अहिले एउटा संक्रमणकालमा छ । पुरानो राजनीतिक पुस्ता अझै शक्तिशाली छ, तर नयाँ पुस्ता राजनीतिक रूपमा जागरुक हुँदै छ । यस पुस्ताले जात, धर्म, क्षेत्र र परम्परागत दलगत सीमाभन्दा बाहिर नागरिक पहिचान खोजिरहेको छ । यो प्रवृत्ति अवसर र चुनौती दुवै हो । यदि नयाँ पुस्ताको असन्तुष्टिलाई लोकतान्त्रिक संस्थाभित्र समेट्न सकियो भने लोकतन्त्र बलियो हुनेछ; दबाउन खोजियो भने असन्तुष्टि विद्रोहमा बदलिन सक्छ । दलहरूले आत्मसुधार गर्न सके परिवर्तन शान्तिपूर्ण हुनेछ, अन्यथा सडक फेरि इतिहास लेख्न बाध्य हुन सक्छ ।

भारतको सिजेपी आन्दोलन अहिले एउटा सुरुवाती राजनीतिक संकेत मात्र हुन सक्छ । तर, यसले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ, नयाँ पुस्तालाई अब मौन राख्न सजिलो छैन । उसलाई केवल राष्ट्रवादको नारा, विकासको तथ्यांक वा चुनाव मात्र पर्याप्त छैन, आफ्नो जीवनमा वास्तविक परिवर्तन चाहिएको छ । 

दक्षिण एसियामा नयाँ हुरी चलिरहेको छ । यो हुरीले पुराना राजनीतिक संरचनालाई उडाएर लैजान्छ कि तिनलाई सुधारेर नयाँ बनाउँछ, त्यो भविष्यले देखाउनेछ । तर एउटा कुरा निश्चित छ, अब दक्षिण एसियाको राजनीति पुरानो पुस्ताले मात्र निर्धारण गर्ने छैन । जब एउटा पुस्ताले डराउन छोडेर प्रश्न गर्न थाल्छ, इतिहासको सबैभन्दा ठुलो परिवर्तन प्रायः त्यहीँबाट सुरु हुन्छ ।

सम्बन्धित खबर