
काठमाडौं : सामाजिक सञ्जालमा १ भदौको बिहान एउटा भिडियो तीव्र गतिमा फैलियो । भिडियोमा केही युवाले होटलको कोठाको ढोका खोल्न लगाइरहेका छन् । भित्र प्रहरी नायब निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठ र एक युवती देखिन्छन् । युवाहरूले उनीहरूसँग प्रश्न गरिरहेका छन् । मोबाइलका क्यामेरा लगातार चलिरहेका छन् । केहीबेरमै त्यो भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भयो ।
घटना भने अघिल्लो रात अर्थात् ३१ साउन आइतबारको हो । काभ्रेको भकुन्डेबेसीस्थित प्रहरी चौकीका इन्चार्र्ज श्रेष्ठ होटलमा ती युवतीसँग बसेका थिए । उनीसँगै भेटिएकी युवती गत २१ फागुनको निर्वाचनमा म्यादी प्रहरीका रूपमा कार्यरत थिइन् । उनको म्यादी प्रहरी छनोट प्रक्रियामा सई श्रेष्ठ पनि संलग्न थिए ।
स्थानीयका अनुसार त्यही क्रममा उनीहरूबीच निकटता बढेको थियो । पाँचखालकी ती युवती श्रेष्ठलाई भेट्न भकुन्डेबेसी आउने गरेको स्थानीयको दाबी छ । स्थानीय युवाले आइतबार राति उनीहरू होटलमा रहेको जानकारी पाए । त्यसपछि केही युवा होटल पुगे । होटलको कोठा घेरे । ढोका खोल्न लगाए । अनि सुरु भयो प्रश्नोत्तर । स्थानीयले मोबाइलमा भिडियो खिचे । केहीबेरमै उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो ।
भिडियो खिच्ने युवाहरूले ‘अनुहार देखाउनुस्’, ‘के हो पारा ?’, ‘श्रीमती छ कि छैन ?’, ‘महिलाको पनि अनुहार देखाऊ’ भन्दै केरकार गरिरहेका थिए । युवतीलाई पक्राउ गर्न महिला प्रहरी बोलाउनुपर्ने उनीहरूको माग थियो । होटलमा उनीहरू आपसी सहमतिमै बसेका थिए वा घटनाको अन्य कुनै पाटो थियो भन्ने विषय भने अनुसन्धानकै क्रममा छ । तर, स्थानीयले ‘रंगेहात फेला पारेको’भन्दै उनीहरूको हुर्मत लिएका छन् ।
भिडियोमा श्रेष्ठ कोठाबाट बाहिर निस्किन खोजिरहेको जस्तो देखिन्छ भने ओछ्यानमा रहेकी महिला अनुहार छोपेर बसेकी छन् । भिडियो खिच्ने क्रममा ती महिलाको अनुहारमा समेत मोबाइल केन्द्रित गरिएको देखिन्छ । महिलाले अनुहार लुकाउने प्रयास गरे पनि उनको पहिचान खुल्नेगरी भिडियो खिचिएको देखिन्छ । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गोपनीयताको हकको बहस सुरु भएको छ ।
होटलमा सँगै बसेकै आधारमा युवतीलाई पक्राउ गर्नुपर्ने कानुनी आधार नभएकाले सोधपुछपछि उनलाई घर पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्टले बताए । अर्थात्, उनले गैरकानुनी काम गरेकी थिइनन् । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनालाई लिएर मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले सार्वजनिक पदमा रहेका प्रहरी अधिकृतले आफ्नो पदीय मर्यादा र आचरणको ख्याल गर्नुपर्ने टिप्पणी गरेका छन् । अर्कोतर्फ, होटलमा कसैसँग बस्दैमा त्यसलाई अपराध वा चरित्रसँग जोड्न नहुने र व्यक्तिको निजी जीवनको सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।
प्रहरीको आचरणले समग्र संगठनको छविमा समेत प्रभाव पार्ने हुँदा पदमा रहेका व्यक्तिहरू जिम्मेवार हुनुपर्ने नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन् । ‘सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधिमा स्वाभाविक रूपमा जनचासो हुन्छ,’ उनी भन्छन्, ‘यस्ता मामलामा उनीहरू थप सजग र जिम्मेवार हुनुपर्छ । अहिलेको घटनामा प्रहरी अधिकारीले अनुशासन मिचेको हो वा होइन, विभागले स्पष्ट पार्नुपर्छ ।’
सार्वजनिक पदमा रहेको व्यक्तिमाथि प्रश्न गर्दा जिम्मेवारीमा नरहेका व्यक्तिको गोपनीयता भंग गर्न नहुने उनको भनाइ छ । ‘आरोप लाग्नेबित्तिकै दोषी हुन्छन् भन्ने हुँदैन,’ मल्ल भन्छन्, ‘अनुसन्धानको प्रक्रियामा रहेका हरेक व्यक्तिको गोपनीयताको संरक्षण हुनुपर्छ ।’ सार्वजनिक पदमा बसेको व्यक्तिमाथि पनि अनुसन्धान हुन्छ, तर आरोप लाग्नेबित्तिकै अपराधी बनाउन नहुने उनको धारणा छ ।
‘कसैको अनुमतिबिना व्यक्तिगत भिडियो वा फोटो सार्वजनिक गर्नु अपराध हो, यदि मिडिया आफ्नो दायराभन्दा बाहिर गएको हो भने प्रेस काउन्सिलले कारबाही गर्नुपर्छ, मिडियाभन्दा बाहिरबाट यस्ता सामग्री आएको हो भने साइबर ब्युरोले यो विषयमाथि अनुसन्धान गर्नुपर्छ,’ मल्लले भने ।
कसैको व्यक्तिगत जीवनका घटना सार्वजनिक गर्दा मर्यादा ख्याल गर्नुपर्ने आवाज उठ्दै आएको छ । कानुनमन्त्री सोविता गौतम व्यक्तिको गोपनीयतामाथि जथाभावी हस्तक्षेप गर्ने अधिकार नभएको बताउँछिन् । सार्वजनिक सरोकारको विषय उठाउँदा व्यक्तिको गोपनीयता र मर्यादाको सीमालाई पनि उत्तिकै ख्याल गर्नुपर्ने उनको भनाइ छ । ‘विशेषगरी महिलाको निजी जीवनसँग सम्बन्धित सामग्री सार्वजनिक गर्दा त्यसले उनीहरूमाथि थप मानसिक उत्पीडन निम्त्याउन सक्छ,’ मन्त्री गौतमले भनिन्, ‘महिलाको निजी विषय सार्वजनिक गरेर थप सामाजिक दबाबमा पार्नुहुँदैन । यसका लागि सञ्चारमाध्यमसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि आफ्नो जिम्मेवारीबारे गम्भीर हुनुपर्छ ।’
भिडियो सार्वजनिक भएपछि आफ्नो गोपनीयता भंग भएको भन्दै युवतीले काभ्रे प्रहरीमा उजुरी दिएकी छिन् । जाहेरी परेसँगै प्रहरीले अनधिकृत रूपमा भिडियो खिच्ने तथा उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र फैलाउने व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । डिएसपी विष्टका अनुसार, युवतीको जाहेरीका आधारमा फौजदारी कसुरअन्तर्गत अनुसन्धान थालिएको हो ।
‘प्रहरीले वैयक्तिक गोपनीयताविरुद्धको कसुर, साइबर अपराध र अभद्र व्यवहारका कोणबाट अनुसन्धान गरिरहेको छ’, डिएसपी विष्टले भने, ‘भिडियो खिच्नेदेखि, सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र फैलाउने सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।’ भिडियो खिच्ने र सार्वजनिक गर्नेहरूको खोजी भइरहेको उनले बताए ।
घटनामा मुछिएका सई श्रेष्ठको हकमा प्रहरीले आन्तरिक छानबिनसमेत अघि बढाएको छ । डिएसपी विष्टकै नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिले श्रेष्ठको पदीय आचरण तथा अनुशासनका विषयमा अनुसन्धान गरिरहेको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा श्रेष्ठ दोषी देखिए उनीमाथि विभागीय कारबाही हुने प्रहरीले भनेको छ ।
यसै घटनामा रास्वपाका सांसद गणेश कार्कीले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले गोपनीयताको ख्याल गर्नुपर्ने कुरा कानुनमै भएको स्मरण गराउँदै सचेत हुन सबैलाई आग्रह गरे । ‘यदि पीडकको परिचय दिँदा पीडितको परिचय खुल्ने भए पीडकको पनि परिचय गोप्य राख्नुपर्छ,’ उनी भन्छन्, ‘प्रेस स्वतन्त्रताको सीमा कहाँसम्म हो ? कुनै घटनामा सार्वजनिक चासो जोडिँदैमा त्यससँग सम्बन्धित व्यक्तिको निजी जीवन र गोपनीयताको अधिकार कहाँसम्म सार्वजनिक बहसको विषय बन्न सक्छ ? यस विषयमा बहस गर्ने बेला भएको छ ।’
रास्वपाकी सांसद् बसुमाया तामाङले बुधबारको संसद् बैठकमा पनि यसबारे आवाज उठाइन् । ‘काभ्रेमा एक प्रहरी र युवतीको गोप्य भिडियो खिचियो, जुन व्यक्तिगत गोपनीयताको हकको ठाडो उल्लंघन हो,’ उनले भनिन्, ‘नेपालको संविधान, ऐन र कानुनअनुसार कसैको अनुमतिबिना गोप्य भिडियो खिच्न र सार्वजनिक गर्न पाइँदैन ।’ सांसद् तामाङले भिडियो सार्वजनिक हुँदा परेको सामाजिक र मानसिक असरको जिम्मेवारी कसले लिने ? भन्दै सरकारसँग प्रश्न गरिन् ।
कानुनमन्त्री गौतम, सरकारको नेतृत्व गरिरहेको दल रास्वपाका सांसद् कार्की र तामाङले व्यक्तिको गोपनीयताको कुरा उठाइरहँदा गृहमन्त्री सुधन गुरुङ भने आफैं होटलमा छापा मार्दै हिँड्ने गरेका छन् । मिटरब्याजपीडितसँग वार्ता गर्न पर्सा पुगेका उनले स्थानीयको सूचनाका आधारमा ठोरी बजारमा रहेको ‘ठोरी दोहोरी साँझ’ र ‘रिसोर्ट ठोरी क्याम्प फायर होटल’मा छापा मारेका थिए । त्यसक्रममा होटल सञ्चालक, होटल स्टाफ र गेस्टसहित नौजनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय ठोरीमा लगिएको थियो । पक्राउ गरिएकामध्ये सात युवती र दुई होटल सञ्चालक थिए । दोहोरी साँझमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा गृहमन्त्री आफैंले छापा मारेको प्रहरीले प्रस्टीकरण दिएको थियो ।
काठमाडौं उपत्यकाका ठमेल, नयाँ बसपार्कजस्ता भिड हुने क्षेत्रमा प्रहरीले यसरी नै छापा मार्दै आइरहेको छ । यसले उमेर पुगेका युवायुवतीको व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप भएको प्रश्नसमेत बेलाबेला उठ्ने गरेको छ । समाजलाई विकृत हुन नदिन यस्तो कदम चाल्न बाध्य भएको भनेर प्रहरीले यसबारे एउटै जवाफ दिँदै आएको छ । तर, समाजलाई नैतिक पाठ सिकाउने जिम्मा प्रहरीको नभएको सरोकारवाला बताउँछन् ।
प्रहरीले होटल, रेस्टुरेन्ट, डान्स बार, दोहोरी साँझमा यसैगरी छापा मार्दै युवायुवतीलाई बर्सौंदेखि पक्राउ गर्दै आइरहेको छ । काभ्रेको घटनामा स्थानीयले नै प्रहरीलाई होटलको कोठामा फेला पारेपछि भने गोपनीयताको विषयले चर्चा पायो । यही कुरा प्रहरीले गर्दा आफ्नो ड्युटी मानिने स्थानीयले गर्दा गोपनीयता हनन हुने ? भनेर प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ ।
नेपालको कानुनले दुवैजना १८ वर्ष वा सोभन्दा माथिका हुन् र सम्बन्ध आपसी मञ्जुरीमा भएको हो भने वयस्कबीचको प्रेम–शारीरिक सम्बन्ध आफैंमा अपराध नभएको उल्लेख गरेको छ । बहुविवाहको मुद्दा आकर्षित हुने घटना छ भने पनि निजी जीवनसम्बन्धी विवरण सार्वजनिक गर्ने सवालमा गोपनीयताको ख्याल राख्नुपर्ने कानुनविद्हरू बताउँछन् ।
गोपनीयताको हकबारे कानुनमा के छ ?
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (२) बमोजिम कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १८ वर्षभन्दा कम उमेरको कुनै बालबालिकालाई करणी गरेमा जबर्जस्ती करणी गरेको मानिन्छ । कानुनले वयस्क उमेरका युवायुवतीलाई शारीरिक सम्बन्ध राख्न खुला छ भनेर सजिलो भाषामा लेखेको त छैन, तर मञ्जुरी भन्ने शब्दले यसलाई केही लचक बनाएको देखाउँछ ।
जबर्जस्ती करणी र नाबालिकको हकबाहेकका सम्बन्धलाई कानुनले अपराध मानेको देखिँदैन । कानुनले वर्जित गरेका विषयहरू, जस्तै ः हाडनाता, मानसिक स्वास्थ्य आदि विषयमा भने राजीखुसीको विषय समावेश हुँदैन । नेपालमा यौन व्यवसाय पूर्णतः वर्जित छ । यौन व्यापार र प्रेमीप्रेमिका अथवा युवायुवतीबीचको सहमतिको सम्बन्ध फरक भएको कानुन व्यवसायी बताउँछन् । यौन व्यापार, अश्लीलताका विषय र सहमतिको सम्बन्धलाई एकै नजरले हेर्न नहुने उनीहरूको बुझाइ छ ।
गोपनीयतासम्बन्धी ऐन, २०७५ले व्यक्तिको निजी जीवन तथा चरित्रसम्बन्धी विषयको गोपनीयतालाई संरक्षण गरेको छ । ऐनले व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयलाई गोप्य राख्न पाउने अधिकार हुने र सम्बन्धित व्यक्तिको मञ्जुरीबिना त्यस्ता विषयलाई बेइज्जत वा आघात पुग्ने गरी प्रकाशन वा विद्युतीय माध्यमबाट सार्वजनिक गर्न नहुने व्यवस्था गरेको छ ।
होटलको कोठालाई समेत ऐनले ‘आवास’को परिभाषाभित्र समेटेको छ । नाबालक, जबरजस्ती करणी, मानव बेचबिखन, लागुऔषधजस्ता अपराधबाहेक गोपनीयता भंग हुनेगरी प्रहरीले पनि कुनै व्यक्तिको आवासमा हस्तक्षेप गर्न नहुने ऐनमा उल्लेख छ । अर्को कुरा कानुनले सार्वजनिक पदमा बसेको व्यक्तिको पनि गोपनीयता हुने कुरा उल्लेख गरेको छ । आफ्नो पद, आफूले गर्नुपर्ने काम र सेवा सर्तभन्दा बाहेकका विषयमा हरेक व्यक्तिले व्यक्तिगत जीवन बाँच्न पाउने उल्लेख छ ।