२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

कांग्रेस सचेतक राईको प्रश्न- राज्य विधिबाट चल्छ कि पहुँचबाट ?

Nada
२०८३ भदौ २५ गते १६:२१
Shares
कांग्रेस सचेतक राईको प्रश्न- राज्य विधिबाट चल्छ कि पहुँचबाट ?

काठमाडौं : नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् ।

ncell

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सरकारलाई ‘जेनजी आन्दोलन’को मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरे । विधिका लागि आन्दोलनमा उत्रेका युवाहरूको जगमा बनेको सरकारले विधि मिच्न थालेको बताए ।

उनले नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भएको आरोप लगाए । उनले रेडक्रसलाई राजनीतिक शक्ति परीक्षण गर्ने थलो नबनाउन तथा वैधानिक प्रदेश तथा जिल्ला समितिमाथिको हस्तक्षेप रोक्न माग गरे । साथै विधान तथा कानुनअनुसार विशेष महाधिवेशनको वातावरण बनाई वैधानिक नेतृत्व चयन गर्न सरकारसँग आग्रह गरे ।

उनले मलेसियामा रोजगारीका लागि सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था छनोट गर्ने तयारी भएको पनि आपत्ति जनाए । उनले छनोटको मापदण्ड, संख्या र प्रक्रिया पारदर्शी बनाउन सरकारसंग माग गरे । उनले स्वास्थ्य बीमा कार्यक्रममा घरघर पुगेर नागरिकलाई जोड्ने दर्ता सहयोगीहरूले लामो समयदेखि प्रोत्साहन भत्ता नपाएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।

नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने व्यक्तिको आफ्नै श्रम असुरक्षित भएको टिप्पणी गर्दै उनले प्रोत्साहन रकममा भइरहेको १५ प्रतिशत कर कट्टीको व्यवस्था पुनरावलोकन गर्न माग गरे । उनले रेडक्रस, वैदेशिक रोजगारी र स्वास्थ्य बीमाका यी तीनवटा विषय फरक देखिएपनि तिनको मूल प्रश्न एउटै रहेको उल्लेख गरे ।

उनले सरकारका मन्त्रीहरूले पछिल्लो समयमा दिएका अभिव्यक्तिहरूप्रति पनि असन्तुष्टि जनाए । गृहमन्त्री सुधन गुरुङले ‘हामी सिकाउन आएका हौं’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले प्रतिपक्ष सिक्न तयार रहेको बताए । तर विधि, प्रक्रिया, पद्धति, विधान, सहिष्णुता र सिद्धान्त सिक्न तयार रहेको उनको भनाइ छ ।

उनले प्रतिपक्षले सरकारको आलोचना र प्रश्न गर्न पाउने बताए । अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह र भ्रमलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ । 

सम्बन्धित खबर