
महोत्तरी : महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टर सैनिक शिविरमा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा सुरु भएको कार्यक्रम असोज २३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन मध्यपूर्वी पृतनाका पृतनापति भुवन खत्रीले गरेका थिए । अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई नेपाली सेनाको परिचय, काम, कर्तव्य तथा जिम्मेवारी, पृतनाको भूमिका र जिम्मेवारीलगायतका विषयमा विभिन्न प्रस्तुतीकरणमार्फत जानकारी गराइने बताइएको छ । साथै रक्षा मामिलासम्बन्धी समाचार संकलन तथा सम्प्रेषणका क्रममा आवश्यक जानकारी र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका साथै दोलखा, रामेछाप र सिन्धुलीलगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।
कार्यक्रमअन्तर्गत ऐतिहासिक तथा सामरिक महत्व बोकेको सिन्धुलीगढीको समेत अवलोकन गराइने प्रमुख सेनानी प्रतिभा थापाले जानकारी दिइन् ।
चारदिने अभिमुखीकरणले सञ्चारकर्मीलाई नेपाली सेना र रक्षा मामिलासम्बन्धी विषयमा थप जानकारी हासिल गर्न तथा तथ्यमा आधारित समाचार सम्प्रेषणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।