
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस माग गरेको सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा मलंगवा नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनाको साथबाट घुसबापतको १ लाख रूपैयाँका साथै स्रोत नखुलेको अतिरिक्त ३३ हजार ७०५ रूपैयाँ समेत बरामद गरिएको आयोगले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउन विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।