
काठमाडौं : पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेश गरेको भन्दै प्रहरीले इटहरीको एक हिन्दु–मुस्लिम जोडीलाई पक्राउ गरेको छ । यो घटनासँग जोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र उनका जर्मन श्रीमान् थोमसको पशुपति प्रवेशबारे पनि सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले इटहरीका प्रियंका परियार र उनका श्रीमान् असिम अन्सारीलाई मंगलबार पक्राउ गरेको थियो । उनीहरूलाई बुधबार थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।
दुई दिनअघि यो जोडी पशुपतिनाथ मन्दिरको भित्री गेटसम्म पुगेको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएपछि उनीहरू विवादमा तानिएका थिए । भिडियो सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले प्रहरीमा जाहेरी दिएको थियो ।
यस घटनापछि सामाजिक सञ्जालमा सांसद तामाङ र उनका गैरहिन्दु श्रीमान् थोमस पशुपति क्षेत्रमा पुगेको विषय पनि उठाइएको छ । एउटै मन्दिर प्रवेशसम्बन्धी नियम फरक व्यक्तिमाथि फरक ढंगले लागू भएको हो कि भन्ने प्रश्न कतिपय प्रयोगकर्ताले गरेका छन् ।
कतिपयले भने दुवै घटनाको परिस्थिति एउटै नभएको बताएका छन् । सांसद तामाङ र उनका श्रीमान्ले मन्दिरको मूल गर्भगृह वा निषेधित क्षेत्रमा प्रवेश नगरी बाहिरी क्षेत्रबाट सांस्कृतिक मर्यादा कायम गर्दै दर्शन गरेको दाबी उनीहरूको छ । त्यसैले दुवै घटनालाई एउटै आधारमा तुलना गर्न नहुने उनीहरूको तर्क छ ।
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहँदा पक्राउ परेका प्रियंका र असिमले भने आफूहरूको कुनै गलत नियत नभएको बताएका छन् । उनीहरूले अर्को भिडियोमार्फत कौतूहलका कारण मन्दिर क्षेत्र हेर्न गएको, भगवान्को दर्शन गर्ने उद्देश्य नभएको र प्रवेश गरेलगत्तै सुरक्षाकर्मीले आफूहरूलाई फर्काएको बताएका छन् ।
उनीहरूले आफूहरूबाट अन्जानमा गल्ती भएको स्वीकार गर्दै घटनालाई राजनीतिक विषय नबनाउनसमेत आग्रह गरेका छन् ।
यसैबीच, गैरहिन्दु मन्दिर प्रवेश गरेको घटना सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले आफ्नो सुरक्षा व्यवस्थामा कमजोरी भएको भन्दै क्षमायाचना गरेको छ । घटनाबारे छानबिन गर्न कोषका परिषद् सदस्य रामशोभित नायकको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ ।
पक्राउ परेका दम्पतीलाई पशुपति क्षेत्र विकास कोषको जाहेरीपछि इलाका प्रहरी कार्यालय इटहरीले मंगलबार साँझ इटहरी–९ स्थित रंगशाला चोकबाट नियन्त्रणमा लिएको हो । बुधबार बिहान उनीहरूलाई जहाजबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । पशुपति प्रवेशको विषयमा उठेको पछिल्लो विवादले मन्दिरको प्रवेशसम्बन्धी नियम, त्यसको कार्यान्वयन र सुरक्षा व्यवस्थाबारे पनि बहस बढाएको छ ।