
काठमाडौं : वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र भेरिफिकेसनमा समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको विवरण एक दिनअघि नै पठाउन निर्देशन दिएको छ ।
विभागले बिहीबार वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको अभिमुखीकरण तालिमसम्बन्धी सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र भेरिफिकेसनमा आएको समस्याका कारण फेमिस प्रणालीमा पूर्वप्रस्थान अभिमुखीकरण तालिमका प्रशिक्षार्थीहरूको अनलाइन हाजिरी गर्न कठिनाइ उत्पन्न भएको भन्दै तोकिएको समयमा प्रशिक्षार्थीलाई ब्याचमा भर्ना तथा हाजिरी गराउनुपर्ने बताएको छ ।
राष्ट्रिय परिचयपत्र प्रमाणीकरण अनलाइन भेरिफिकेसन भइनसकेका व्यक्तिहरूले अभिमुखीकरण तालिममा भर्ना गर्नुभन्दा कम्तीमा १ दिन अगाडि नै विभागको सूचना प्रविधि शाखामा आफ्नो राष्ट्रिय परिचयपत्रसम्बन्धी आवेदनको रुजु भरपाई तथा राहदानीको प्रति पठाएर तालिमका लागि राष्ट्रिय परिचयपत्र भेरिफिकेसन गर्न अनुरोध गर्न सकिने बताएको छ ।
भेरिफिकेसनका लागि कुनै प्रकारको शुल्क नलाग्ने भन्दै विभागले ब्याचमा प्रशिक्षार्थी भर्ना गरिसक्नुपर्ने समय बिहानका लागि बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुकीको हाजिरी ४ बजेदेखि ६ बजेसम्म गरिसक्नुपर्ने बताएको छ ।
विभागले सेवाग्राहीको सुविधाका लागि विद्युतीय अनलाइन प्रणाली प्रयोग गरे पनि प्रविधिको प्रणालीभित्र आउन नसक्ने कमजोरी आकलन गर्न नसक्दा पटकपटक सेवा अवरुद्ध हुन पुगेको सेवाग्राहीको गुनासो छ ।