२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

डिएनए लिइयो, सनाखत भएन

Nada
सपना बोहरा
२०८३ असोज २२ गते ०६:२५
Shares
डिएनए लिइयो, सनाखत भएन

काठमाडौं : भोटेकोशी बाढीमा फेलापरेका शव तथा मानव अवशेषको पहिचानका लागि ठुलो संख्यामा डिएनए परीक्षण भइरहेको छ । तर, सनाखतको गति भने सुस्त छ ।
सरकारी विवरणअनुसार रसुवा–भोटेकोशी बाढीमा पाँच हजार २८५ जना बेपत्ता छन् । प्रभावित क्षेत्रबाट एक हजार ४५४ शव तथा मानव अवशेष फेलापरेका छन् । तीमध्ये ११२ जनाको मात्र सनाखत भएको छ । 

ncell

फेला परेका शव तथा मानव अवशेषमध्ये ५८५ पुरुष, ३३६ महिला र ५३३ वटा पहिचान नखुलेका आंशिक मानव अंग छन् । लामो समय पानी, हिलो र भग्नावशेषमा रहेका कारण कतिपय शव क्षतविक्षत अवस्थामा छन् । अनुहार, कपडा वा शरीरमा रहेका चिह्नबाट पहिचान गर्न कठिन भएपछि हड्डी र दाँतबाट डिएनए निकालेर परीक्षण भइरहेको नेपाल प्रहरीले जनाएको छ । 

हाल तीन हजार २०० फरेन्सिक नमुना डिएनए परीक्षणको प्रक्रियामा छन् । नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुनाको प्रोफाइलिङ भइरहेको छ । तर, नमुना परीक्षण हुनु र शवको सनाखत हुनु फरक प्रक्रिया हो । शव वा मानव अवशेषबाट डिएनए प्रोफाइल तयार भएपछि त्यसलाई बेपत्ता व्यक्तिका आफन्तबाट संकलन गरिएको नमुनासँग मिलाउनुपर्छ । दुवै प्रोफाइल मिलेपछि मात्र शवको सनाखत पुष्टि हुन्छ । बाढीमा बेपत्ता भएकाका आफन्तको ठुलो संख्यामा डिएनए नमुना संकलन गरिएको छ । २९ देशमा रहेका ३६६ जना आफन्तले समेत डिएनए प्रोफाइल पठाएका छन् । 

प्रहरीले अब प्रोफाइलिङ सकेर म्याचिङको काम अघि बढाउने जनाएको छ । प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले प्रोफाइलिङ सकिएपछि म्याचिङ गरेर शव बुझाउने बताए । ‘डिएनए प्रोफाइलिङको काम धमाधम भइरहेको छ । प्रोफाइलिङ सकिएपछि म्याचिङ गरेर शव बुझाउँछौं,’ उनले भने । उनका अनुसार, कानुनी प्रक्रिया पूरा गरेर सकेसम्म चाँडो शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

सफ्टवेयरबाट हुँदै छ म्याचिङ

डिएनए परीक्षणमा नेपालसहित पाँच देशका प्राविधिक टोली संलग्न छन् । भारतबाट १९, चीनबाट १५ र दक्षिण कोरियाबाट तीनजना डिएनए विज्ञ कार्यक्षेत्रमा खटिएका छन् । अमेरिकाबाट तीन र सिंगापुरबाट दुईजना फिंगरप्रिन्ट विज्ञ पनि परिचालित छन् । 

भारतीय र कोरियाली डिएनए विशेषज्ञले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको टोलीसँग मिलेर परीक्षण गरिरहेका छन् । दुवै प्रयोगशालामा गरिएको परीक्षणबाट अहिलेसम्म एक हजार ४०० भन्दा बढी डिएनएको रिपोर्ट आइसकेको छ । 

प्रोफाइलिङपछि म्याचिङको काम ‘कोडिस’ सफ्टवेयरबाट गरिनेछ । चिकित्सकको टोलीले पोस्टमार्टमपछि शव प्याकिङ गरेर डिएनए नमुना निकाल्न प्रहरीलाई दिनेछ । प्रहरीले हड्डी, दाँतलगायत अंगबाट नमुना निकालेर रसायन प्रयोग गरी प्रोफाइल तयार गर्नेछ ।

मृतकका परिवारका सदस्यको डिएनए प्रोफाइल पनि कोडिस सफ्टवेयरमा राखिनेछ । सफ्टवेयरले शवबाट निकालिएको डिएनए र परिवारका सदस्यको डिएनए मिलाएपछि त्यसैका आधारमा सनाखत गरिने प्रहरीको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयले कात्तिक पहिलो साताभित्र जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएका शवमध्ये पहिचान खुलेका शव आफन्तलाई बुझाउने तयारी गरेको छ । हालसम्म फेलापरेका शव तथा मानव अवशेषमध्ये एक हजार २९२ वटालाई जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । पहिचान खुलेका र अन्य प्रक्रिया पूरा भएका ११२ शव भने परिवारलाई हस्तान्तरण भइसकेका छन् । 

सम्बन्धित खबर