२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

असुरक्षित त्रिवि, देशको बद्नामी

ADV
२०८१ भदौ ६ गते ०६:२५
असुरक्षित त्रिवि, देशको बद्नामी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सामाजिक सञ्जाल मार्फत् त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको सुरक्षा माग गरेकी छन् । त्रिविका पदाधिकारीहरुमाथि हमला गर्न खोज्ने र प्राध्यापकहरुलाई धम्की दिने गरेर सिंगो विश्वविद्यालय असुरक्षित बनाउने काम भएको मन्त्री भट्टराईले फेसबुकमा लेखेकी छन् । सँगै मन्त्री भट्टराईले गुण्डागर्दी गर्ने छुट कसैमा नरहेकाले त्यस्ता व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत माग गरेकी छन् । एउटा मन्त्रीले अर्को मन्त्रीसँग माग राखेर लेखेको स्टाटसलाई चासोका साथ हेरिएको छ । गृहमन्त्रीलाई सम्बोधन गरेर शिक्षा मन्त्री भट्टराईले सिंगो विश्वविद्यालय असुरक्षित भएको र त्यस्तो गुण्डागर्दी गर्ने छुट कसैमा नरहेको सन्देश सार्वजनिक गरेकी छन् । शिक्षा मन्त्रीबाटै त्रिवि र त्रिविका पदाधिकारीहरु असुरक्षित रहेको जानकारी दिनु पक्कैपनि सामान्य विषय होइन । 

यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरता आवश्यक छ । किनकि प्रधानमन्त्री सरकार प्रमुख मात्र नभएर त्रिविकै पनि कुलपति हुन् । प्रधानमन्त्री नै कुलपति रहेको त्रिविको असुरक्षाबारे सहकुलपति एवं विभागीय मन्त्री भट्टराईले देशकै सुरक्षा व्यवस्था हेर्ने विभागीय प्रमुख (गृह मन्त्री) समक्ष सार्वजनिक मागपत्र लेखेकी छन् । मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्नु अगाडि त्रिविका उपकुलपति लगायत पदाधिकारी विदामा बसेका थिए । त्रिवि जाने बातावरण नरहेको भनेर रजिष्ट्रारको कार्यालयले सुरक्षाको माग सहित सार्वजनिक बक्तव्य जारी गरेको थियो । रजिष्ट्रारको कार्यालयले गरेको सुरक्षा माग र त्रिवि पदाधिकारीहरु विदामा बस्दा पनि बातावरण नबदलिएको भन्दै शिक्षामन्त्रीले सामाजिक सञ्जालमा लेखेकी छन् । तर गृहमन्त्री रमेश लेखक बोलेका छैनन् । 

जबकी यो विषयमा गृहमन्त्री र प्रधानमन्त्रीले तत्काल पहलकदमी लिइसक्नुपर्ने थियो । किनकि कांग्रेस र एमालेको स्वार्थका कारण त्रिविमा अहिलेको अवस्था आएको तथ्य लुकेको छैन । समाजशास्त्र केन्द्रिय विभाग प्रमुख कुन दल निकटका व्यक्तिलाई बनाउने भन्ने विषय बढ्दै जाँदा शिक्षा मन्त्रीले सामाजिक सञ्जालबाट सुरक्षाको माग गर्नेसम्मको परिस्थिति बनेको देखिन्छ । प्रधानमन्त्री र शिक्षा मन्त्री एमाले हुनु अनि गृहमन्त्री कांग्रेस हुनुको परिणाम त्रिवि बन्धक मात्र नभएर बद्नाम बनेको छ । गुण्डागर्दीमा रमाउनेहरुको अपराधिक क्षेत्र त्रिवि बन्नु मुलुकको दुर्भाग्य हो । अहिले त्यही दुर्भाग्य सिंगो देशले समेत खेप्नु परिरहेको छ । त्यसैले यो बद्नामीबाट सच्याउने काममा तत्काल प्रधानमन्त्रीले अग्रसरता देखाउनुपर्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise