२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

के हो ब्रेन ट्युमर ? के छ उपचार ?

ADV
२०८१ जेठ २९ गते ०६:२५
के हो ब्रेन ट्युमर ? के छ उपचार ?

-प्रा डा राजीव झा

शरीरको कुनै पनि अङ्गमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भनिन्छ । मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर भएपछि मानिसको दिमागमा कोशिकाहरू चाहिनेभन्दा धेरै बढ्ने गर्दछन् र फैलने गर्छन् । ब्रेन ट्युमरको अवस्थालाई विश्लेषण गर्दा प्रारम्भिक अवस्था र जटिल अवस्थाका रूपमा हेर्न सकिन्छ । प्रारम्भिक अवस्थाको ब्रेन ट्युमर मस्तिष्कमा सुरु हुन्छ । कहिलेकाहीँ यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन् । 

सेकेन्डरी अर्थात् मेटास्टाटिक ब्रेन ट्युमरलाई घातक ट्युमरहरू भनिन्छ, जसले शरीरको अन्य ठाउँमा क्यान्सरका रूपमा उत्पन्न हुन्छ र विस्तारै मस्तिष्कसम्म फैलिन्छ । यस खालको ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमरभन्दा चार गुणा बढी जटिल हुन्छ । ब्रेन ट्युमर तथा क्यान्सर किन हुन्छ भन्ने ठोस कारण अझै पत्ता लाग्न सकेको छैन । त्यसैले यस वर्षको अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको सन्देश पनि ब्रेन ट्युमर जोखिमको कारण पत्ता लगाउनु भन्ने छ । विशेषगरी ब्रेन ट्युमर जेनेटिक असरबाट हुने गरेको पाइन्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागी कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहेको छ ।

ब्रेन ट्युमर हुनुको अर्को कारण खराव विकिरणलाई पनि लिन सकिन्छ । एक्सरे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानीकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको एसआरएस अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरिरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउँछ । 

चोटपटक लागेर पनि टाउकोमा ट्युमर पलाउन सक्छ । दिमागको इन्फेक्सनका कारण पनि ट्युमर हुनसक्छ । मोटोपन भएका व्यक्तिमा ब्रेन ट्युमर हुने जोखिम अझ बढी रहन्छ । पछिल्लो समय धेरै मोवाइल फोन प्रयोग गर्नेहरूमा पनि यो समस्या देखिएको छ । बच्चा पेटमा रहेदेखि वृद्धावस्थासम्म ट्युमरको सम्भावना रहन्छ । अझ खासगरी बच्चाहरूमा यो झन जटिल रहेको पाइन्छ । किनकी उनीहरूले आफूभित्र भएको समस्या राम्ररी भन्न नसक्ने हुँदा पछि झन् जटिल अवस्था सिर्जना भएको छ । उनीहरूको टाउकोको आकार बढ्यो, उमेरअनुसारको गतिविधि देखिएन भने मात्रै अभिभावकले चिकित्सक कहाँ ल्याउँछन्, त्यतिबेला उनीहरूको अवस्था गम्भीर बनिसकेको हुन्छ । बच्चाको शरिर कमजोर हुने भएकाले पनि झन जटिल समस्या आउने गर्दछ । 

मानिसमा सयभन्दा बढी प्रकारका ब्रेन ट्युमरहरू हुन सक्छन् । मुख्यरूपमा तिनलाई दुई किसिमबाट हेर्न सकिन्छ । एउटा नबढ्ने (बेनाइन) र अर्को बढ्ने (म्यालिग्नेन्ट) । बेनाइन ट्युमरहरू नफैलिने वा बिस्तारै बढ्ने खालको हुन्छन् । तर कहिलेकाहीँ तिनीहरूले मस्तिष्कको भागहरूलाई क्षति पुर्‍याई गम्भीर समस्या ल्याउन सक्छ । वेनाइनको पनि पहिलो र दोस्रो स्टेजका बिरामीको उपचारबाट रोगको पूर्ण रूपमा निको गर्न सकिन्छ भने म्यालिग्नेन्टलाई क्यान्सर भन्न मिल्छ । ब्रेन ट्यूमरका तेस्रो र चौथो स्टेजका विरामीलाई क्यान्सर भइसकेको हुँदा पूर्ण रूपमा निको पार्न सकिंदैन । म्यालिग्नेन्ट ट्युमरहरू दिमागको अरु भागमा फैलिन सक्छ । यिनलाई तिनीहरू सामान्यतया छिटो बढ्छन् । अन्य क्यान्सरभन्दा मस्तिष्कको क्यान्सर घातक मानिन्छ । त्यस्ता बिरामीको उपचारपछि पनि पुनः पलाउने सम्भावना बढी हुन्छ । शल्यक्रियासँगै किमोथेरापी र रेडियोधर्मी गर्दागर्दै पनि अर्को ठाउँमा क्यान्सर देखिन सक्ने सम्भावना उच्च हुन्छ । 

ब्रेन ट्युमर भएमा सुरुसुरुमा टाउको दुख्ने समस्या हुन्छ । टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा प्रमुख र सुरुवाती लक्षण हो । ब्रेन ट्युमर भएको मानिसलाई टाउको दुख्ने क्रम दिनहुँ बढ्दै जान्छ, औषधि खाँदा पनि ठीक हुँदैन । अचानक बिहान उठ्ने बित्तिकै आँखामा अध्यारो हुने, चक्कर पनि आउँछ र चक्कर या बान्ता आउने जस्तो लगातार भइरहन्छ भने यो पनि ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । ब्रेन ट्यूमर तीव्र गतीमा फैलिन्छ । यसले शरीरमा छटपटाहट पैदा गर्छ । टाउको दुख्नुका साथै छटपटाहट महसुस हुन्छ भने तुरुन्तै अस्पताल जानुपर्छ । 

कतिपयलाई छारे रोग वा पटकपटक बेहोस हुने पनि हुन्छ । राम्ररी सुन्न नसक्ने, गन्ध थाहा नपाउने, राम्ररी नदेख्ने, हिँड्दा पनि लर्बराएर हिँड्ने जस्तो हुन्छ । दिमागको स्मरण शक्ति कमजोर बन्दै जान्छ र व्यक्तित्वमा परिवर्तन आउन थाल्छ भने पनि यो ब्रेन ट्युमरको लक्षण हुन सक्छ । ब्रेन ट्युमरको लक्षण थाहा नपाउँदा कतिपयलाई साइकेटिकको औषधि खुवाउने वा मानसिक रोगको उपचार गराउने गरिन्छ । यसले गर्दा पनि त्यस्ता विरामीको समयमा उपचार हुन नसकी पछि जटिल समस्या आउने गरेको छ । 

मानिसको शरीरमा क्यान्सरका लक्षण देखिने गरे पनि बेवास्ता गरेका कारण समयमै रोगको सिकार भइसकेका बारे थाहा पाउँदैनन् र समयमै उपचार हुन पनि सक्दैन । विरामीलाई समयमै अस्पताल ल्याउन सकिएमा यसको उपचार पनि हुन सक्छ । सिटीस्क्यान, एमआरआई, पेट स्क्यानजस्ता परीक्षणबाट ब्रेन ट्युमर तुरुन्तै थाहा हुन्छ । यी परीक्षणबाट कुन तहको रहेछ भन्ने झण्डै ९५ प्रतिशत थाहा लाग्दछ । ब्रेन क्यानसर पुष्टि भएपछि हामीले थप उपचार गराउनु पर्ने हुन्छ । थप उपचार भनेको रेडियो थेरापी र किमोथेरापी नै हो । ट्यूमरको अवस्था हेरेर रेडियो थेरापी वा किमोथेरापी कुन दिने वा दुवै दिने भन्ने निर्णय गरिन्छ । ब्रेन ट्युमरको उपचार धेरै किसिमकबाट गर्न सकिन्छ । औषधि नदिई सामान्य परीक्षणबाट पनि निको पार्न सकिन्छ । 

(कुराकानीमा आधारित)

ADVADV

सम्बन्धित खबर

Advertise