२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रूसद्वारा करिब एक सय अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १८:१२
रूसद्वारा करिब एक सय अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध

काठमाडौंः रूसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रूसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । ‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको ‘रूसोफोबिक’ नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको हो’, रूसको  राष्ट्रिय समाचार संस्था तासले जनाएको छ । 

रूसले प्रतिबन्ध लगाएको अमेरिकी नागरिकको सूचीमा अमेरिकी सरकारका सदस्यहरू, प्रजातन्त्र समर्थक कार्यकर्ता, शिक्षाविद् र रूस–युक्रेन द्वन्द्वकाबीच युक्रेनलाई हतियार आपूर्ति गर्ने रक्षा अनुबन्ध फर्महरू र वित्तीय संस्थाहरूका नेताहरू समावेश रहेका छन् ।  

रूसी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार यो प्रतिबन्धको सुचीमा वाल स्ट्रिट जर्नल, वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्सका केही पत्रकारको नाम उल्लेख गरिएको छ । ‘प्रतिबन्धित व्यक्तिहरूको सूचीमा ‘रूस र रूसी सेनाबारे वासिङ्टनले फैलाएको प्रोपागान्डाको बारेमा झुटो प्रसारमा संलग्न प्रमुख उदार–विश्वव्यापी प्रकाशनहरूका सम्पादकीय कर्मचारी र पत्रकारहरू समावेश छन्’, विदेश मन्त्रालयले भनेको छ ।

सूचीबद्ध पत्रकारमध्ये वाल स्ट्रिट जर्नल (डब्लुएसजे) का प्रधान सम्पादक एमा टकर पनि रहेका छन् । सूचीमा रहेका डब्लुएसजेका अन्य १३ जना वर्तमान वा पूर्व कर्मचारीहरूमा सञ्चारमाध्यमका प्रमुख सम्पादक, विश्व समाचार विभागका प्रमुख, यसको किएभ ब्युरो प्रमुख, पूर्व मस्को ब्युरो प्रमुख र यसको सम्पादकीय बोर्डका सदस्य समावेश रहेका छन् । प्रतिबन्ध गरिएका मानिसहरूको सूचीमा न्युयोर्क टाइम्सका पाँचजना पत्रकार, वासिङ्टन पोस्टका चारजना पत्रकार र केलायती पत्रिकाका केही पत्रकारको नाम पनि सूचीकृत छ । 

अमेरिकी स्पेस कमान्डका कमान्डर स्टिफन ह्वाइटिङ, स्पेस सिस्टम कमान्डका कमान्डर फिलिप ग्यारान्ट र स्पेस पोलिसीका लागि सहायक उप–रक्षामन्त्री जोन प्लम्ब पनि प्रतिबन्धको सूचीमा परेका छन् । ‘अमेरिकी शासक वर्गले रूसमाथि लगाएको प्रतिबन्धको प्रतिक्रियामा रूसले यो प्रवेश प्रतिबन्ध जारी गरेको र रूस विरोधी गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिलाई समावेश गरेर यो सूची विस्तार गर्ने अभ्यास दृढता र स्थिरताका साथ जारी रहनेछ’, रूसी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ । 

यसअघि, अमेरिकाले ‘युक्रेनमा क्रेमलिनको अवैध युद्ध’ का लागि रूस र बेलारूसमा अमेरिकी उत्पादन र ‘अमेरिकी ब्रान्डेड’ वस्तुको आपूर्तिलाई प्रतिबन्धित गरेको थियो । (एजेन्सी) 

ADVADV

सम्बन्धित खबर

Advertise