२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ईसीबी अधिकारीद्वारा ब्याजदर परिवर्तनमा सावधानी अपनाउन आग्रह

Nada
२०८१ भदौ १४ गते १५:२२
Shares
ईसीबी अधिकारीद्वारा ब्याजदर परिवर्तनमा सावधानी अपनाउन आग्रह

काठमाडौंः युरो क्षेत्रको ब्याज दर निर्धारणकर्ताहरूले ‘बिस्तारै र सावधानीपूर्वक’ मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने युरोपेली केन्द्रीय बैंक (ईसीबी) का बोर्डका अधिकारीले शुक्रबार बताएका छन् । 

ncell

युरोपेली केन्द्रीय बैंकको ब्याज दर वृद्धिको ऐतिहासिक उचाइपछि युरोको प्रयोग गर्ने २० राष्ट्रहरूको समूह (यूरोजोन) को मुद्रास्फीति बिस्तारै केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यमा झरिरहेको छ।

यस हप्ताको तथ्याङ्कले अगस्टमा जर्मनी र फ्रान्स दुवैमा मुद्रास्फीति १.९ प्रतिशतमा झरेको देखाएको छ । सन् २०२१ पछि दुवै देशमा पहिलो पटक मुद्रास्फीति दुई प्रतिशतभन्दा तल झरेको हो । ईसीबीले सेप्टेम्बरमा फेरि दर कटौती गर्न सक्ने सम्भावनाको सङ्केत गरेको छ।

ईसीबीका बोर्ड सदस्य इसाबेल श्नाबेलले मुद्रास्फीतिको स्वभाविक चालले उपभोक्ता मूल्यहरू शान्त भइरहेको सङ्केतहरू दिएको र ‘सावधानीपूर्वक आउने मौद्रिक नीतिले अझै पनि सामना गरिरहेको चुनौतीलाई कम गर्ने’ बताएकी छिन्। 

इस्टोनियाको राजधानी तेलिनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेष गरी ‘सेवा क्षेत्रमा निरन्तर मूल्यको दबाव’ लाई औंल्याइन् । उनले भनिन्, ‘मौद्रिक नीति होसियारीका साथ ल्याइनुपर्छ र क्रमशः मुद्रास्फीति नियन्त्रण गर्दै अघि बढ्नुपर्छ। नीतिगत सहजताको गति यान्त्रिक हुन सक्दैन । यसलाई तथ्याङ्क र विश्लेषणमा निर्भर गर्न आवश्यक छ।’

ईसीबीले मुद्रास्फीति सन् २०२५ को अन्त्यसम्ममा दुई प्रतिशतको लक्ष्यमा फर्कने प्रक्षेपण गरेको छ। रूसले युक्रेनमाथि आक्रमण गरेपछि ऊर्जाको मूल्यमा आएको वृद्धिले सन् २०२२ को अन्त्यमा युरोजोनको मुद्रास्फीति १० प्रतिशत नाघेपछि ईसीबीले आफ्नो कडा चक्र शुरु गरेको थियो ।

ब्याजदर वृद्धिको चक्रपछि पहिलो कटौती जूनमा भएको थियो। बैंकले जुलाईमा दोस्रो कटौती गर्ने अपेक्षा गरिएको भएपनि ब्याजदर परिवर्तन भएको थिएन तर अर्को महिना कटौतीको सम्भावनाहरू बढ्दै छन्। अगस्टको लागि यूरोजोन मुद्रास्फीतिको पूर्ण आँकडा शुक्रबार अबेर आउनेछ। (एजेन्सी)

सम्बन्धित खबर