२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

कथा : विद्रोह

ADV
२०८१ भदौ १५ गते ०६:३५
कथा : विद्रोह

–सत्यजीत 

जिल्ला सदरमुकामबाट केही घण्टाको दूरीमा एउटा प्राकृतिक सुन्दरताले हराभारा गाउँ थियो । जहाँ चारैतिर पहाडी भूभागको बिचमा समतल बाक्लो बस्ती थियो । गाउँको बिचमा एक जना मुखिया बाको ठुलो बङ्गला थियो । त्यहाँ जमिन पनि एकदमै मलिलो र उब्जाउयोग्य थियो । गाउँको अधिकांश जग्गा मुखिया बा कै अधिनमा थियो । थोरै थोरै जग्गा मात्रै किसानहरूसँग थियो । त्यस बस्तीका परिश्रमी र मेहनती किसानहरू मुखिया बाको खेतमा र अन्यत्र ठाउँमा ज्याला मजदुरी नगरी जीविकोपार्जन गर्न सक्दैनथे । मुखिया बा जो साह्रै धनी, शोषक र तानासाही थिए । गाउँले किसानहरूमाथि शासन, शोषण र उत्पीडन गर्नु उनको कर्म थियो । 

त्यस गाउँमा मुखिया बाको हुकुम चल्दथ्यो तर, कुनै पनि गाउँलेले मुखिया बाको बिरोध गर्ने हिम्मत गर्दैनथे । उनीले गाउँलेहरूलाई बिना ज्याला काम लगाउँथे र भूमिको जबरजस्ती कर पनि उठाउँथे । कर तिर्न नसक्ने किसानहरूको जमिन आफ्नो कब्जा लिन्थे । मुखिया बाको बोली नै त्यस ठाउँको नियम र कानुन हुन्थ्यो र मुखिया बा आफै न्याय निसाफ हेर्ने न्यायाधीश पनि आफै बन्थे । कयौँ पुस्तादेखि जनताले स्वतन्त्रता, अन्याय र उत्पीडनबाट न्याय नपाउँदै आफ्नो जीवन व्यतीत गरेका थिए । मुखियाको शोषण र दमनबाट गाउँलेहरू दिन प्रतिदिन गरिबी, अशिक्षा र भोकमरीको चपेटामा पिल्सिरहेका थिए । 

गाउँमा एक जना धनवीरे नामको पढेलेखेको चलाख युवक थियो । धनवीरे कामको सिलसिलामा विभिन्न सहरहरूमा पुगिरहन्थ्यो । धनवीरेकी बहिनी सुन्तली असाध्यै सुन्दरी थिई । मुखिया बाको छोराले उसलाई घरीघरी पछ्याइ रहन्थ्यो । सुन्तलीलाई उसको व्यवहार र आचरण मन पर्दैनथ्यो । मुखियाका बाऊ–छोराको ज्यादती र अत्याचारबाट धनवीरे र गाउँलेहरू दिक्क भइसकेका थिए । धनवीरे एक दिन पल्लो गाउँमा ज्यालादारी गर्ने क्रममा विद्रोहीहरूको कार्यक्रम भइरहेको ठाउँमा पुग्यो । कार्यक्रममा विद्रोही कमान्डरले जनतालाई अन्याय र अत्याचारविरुद्ध सङ्गठित भई संघर्ष गर्नुपर्ने कुरा बताए । यस्तो कुराबाट ऊ धेरै प्रभावित भयो । 

धनवीरेले सोच्यो कि आफ्नो बस्तीका युवा साथीहरूसँग परामर्श गरेर नयाँ ढङ्गले अगाडि नबढी मुखियाको अत्याचारबाट मुक्त हुन सकिँदैन । उसले थप प्रशिक्षित हुन विद्रोहीहरूसँगको सम्पर्कलाई निरन्तरता दियो । उनीहरूले धानवीरेलाई गुप्त सङ्गठनमा सङ्गठित गरे । उसलाई राम्रोसँग प्रशिक्षण दिए र थप सशक्त नेतृत्व विकासको लागि केही पुस्तकहरू पनि दिए । 

उसले सङ्गठनको योजनाअनुसार गाउँलेहरूलाई गुप्त रूपमा भेला गराउँदै मुखियाको अत्याचारविरुद्ध सङ्गठन गर्न थाल्यो । बस्तीका ज्यामी, युवा, विद्यार्थी, महिला र किसानको अलग–अलग समूह बनायो । एक समूह र अर्को समूहकोबिचमा कुनै पहिचान नहुने गरी गुप्तरूपले सङ्गठनलाई प्रशिक्षित गर्दै गयो । यसरी बस्तीका उमेर पुगेका सबैलाई एकतामा बाँध्न सफल भयो । उसले अन्याय र अत्याचारको विरुद्धमा विद्रोह गर्न गाउँलेहरूलाई प्रेरित गर्‍यो । सबै सङ्गठन विद्रोहको लागि अग्रपंक्तिमा उभिन तयार भए । महिलाहरूले यस आन्दोलनलाई अगुवाइ गर्ने माग राखे । धनवीरेसँग सबै सङ्गठनहरूले विद्रोह गर्न ढिलाइ भएको गुनासो गर्दै त्यसको तयारीमा छिटै जुट्नु पर्नेमा जोड दिए ।

विद्रोहको दिन नजिकिँदै थियो । गाउँलेहरूले आफूले बनाएका घरेलु हतियार, खुकुरी, हँसिया, गैंटी र खेतीपातीका साधनहरूलाई हातहतियारको रूपमा तयारी गरे । धनवीरेले माथिल्लो तहको विद्रोही नेतासँग परामर्श र प्रशिक्षण लियो । मुखियालाई पौष १९ गते साँझ ७ बजेबाट कारबाही सुरु गर्ने निर्णय भयो । उसले अत्यन्तै गुप्त रूपमा गोपनीयताका साथ सबै सङ्गठनको अलग–अलग प्रशिक्षण बैठकको तयारी गर्‍यो  । उक्त बैठकमा माथिल्लो तहको विद्रोही कमान्डरलाई आमन्त्रण गर्‍यो । विद्रोही कमान्डरले बैठकमा रगत उम्लने खालको जोसिलो प्रशिक्षण दिए । सबै समूह विद्रोहको तयारीमा जुटे । धनवीरेलाई कमान्डरले कारबाही सम्बन्धी समग्र योजनाबारे खाका दिए । 

विद्रोहको अघिल्लो दिन सबै सामाग्रीको तयारी र फिल्ड रेकीको काम सम्पन्न भयो । कारबाहीको लागि सबै समूहका कमान्डरले आ–आफ्नो आर्कको कमान्ड समाल्ने र आ–आफ्नो समूहलाई तयारी अवस्थामा राख्ने निर्देशन भयो । विद्रोहका लागि आवश्यक सर्जामसहित बन्दोबस्तीको तयारी पूरा भयो । 

पौष १९ गते साँझको ६ः०० बज्यो, सबै जना आ–आफ्नो आर्कतिर लागे । गाउँमा केटाकेटी र बुढापाकाभन्दा अरू कोही थिएनन् । गाउँ सुनसान र चकमन्न भयो । गाउँको माथिल्लो भागमा चारैतिर सबै समूहले एकैसाथ मशाल जुलुस निकाले र माइकबाट मुखियाको विरुद्धमा नाराबाजी लाग्यो । ठाउँ–ठाउँमा सानोतिनो विस्फोट पनि भयो, विस्फोटन र विरोधको आवाजले मुखिया बा त्रसित भए । उनले परिवारका सबै सदस्य दिएर सुरक्षित बाटो सदरमुकाम पस्ने योजना बनाए । आफूसँग भएको सुनचाँदी र पैसा बोकेर तत्कालै मुखिया बाले बाटो तताए ।

गाउँलेहरूको विद्रोह यति सशक्त थियो कि मुखिया बाले केही सोच्न सक्ने स्थिति नै थिएन । गाउँलाई चारैतिरबाट मशाल जुलुस र नाराबाजीले घेरेको थियो । सबै समूहहरू घेरा कस्दै मुखिया बाको घर घेर्न पुगे । घर घेर्नुअघि नै मुखिया बा भागिसकेका थिए । बस्तीका सबै जनताहरू  विभिन्न समूहमा कारबाहीमा सहभागी थिए । यसअघि एउटै समूहमा नभएकाले अचम्मित हुँदै एक आपसमा मुखामुख गर्न थाले । आखिर सबै जनाले एउटै विचार, सङ्गठन र कारबाहीमा सामेल हुँदा गौरवको अनुभूति गरे । धनवीरेको कमान्डमा मुखिया बाको घर खानतलासी गरियो, घरमा कोही थिएनन् । धनवीरेले नयाँ युगको सुरुवात भएको घोषणा गर्दै भोलि बिहान ७ः०० बजे सभामा भेला हुन सबै जनतालाई अपिल गर्‍यो । धनवीरे र फिल्ड कमान्डरहरू त्यहीँ बसेर भोलिको कार्ययोजना निर्माणमा जुटे । 

बिहानैबाट मुखियाको घर परिसरमा केटीकेटी, बुढाबुढी र सबै गाउँले भेला भए । घोषणा सभाको सुरुवात गर्दै धनवीरेले गाउँवासीलाई धन्यवाद दियो । उसले यो घोषणा गर्‍यो कि पुस्तैदेखि मुखियाको शासन, शोषण, र अत्याचारबाट हामी मुक्त भएका छौँ । अब उप्रान्त हामी नयाँ युगका नयाँ मानिस बनेर नौलो समाजको स्थापना गर्नेछौँ । सबै खाले अत्याचार र अन्यायविरुद्ध एकजुट भएर नयाँ समाज निर्माणमा जुट्न सबै जनसमुदायलाई अपिल गर्‍यो ।

धनवीरेले यस ऐतिहासिक अवसरमा यस्तो घोषणा गर्‍यो – मुखिया बाको सबै चल अचल सम्पत्ति सामुदायिकरण गरेका छौँ । यस घरलाई सामुदायिक भवन बनाइनेछ भने उसको जग्गा जमिनलाई सामुदायिक कृषि कम्युन बनाइने छ । यस सुन्दर बस्तीमा स्कुल, स्वास्थ्य केन्द्र, उद्योग, आवास गृह, खानेपानी, खेलकुद, वृक्षारोपण, वातावरण संरक्षण जस्ता कामको सुरुवात आजैबाट हुनेछ । सबै समूहहरूलाई एउटा एउटा कामको कमाण्डको जिम्मा हुनेछ । 

धनवीरेको प्रस्तावलाई सबैले गडगडाहट ताली बजाएर अनुमोदन गरे । विद्रोहमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै कम्युनलाई जीवित राख्न, सशक्तीकरण गर्न र यसको उन्नत विकास गर्ने अभियानमा सबै जना एकजुट हुन धनवीरेले आग्रह गर्‍यो । गाउँलेहरूले उल्लासका साथ स्वतन्त्रता, न्याय र मुक्तिको अनुभूत गर्दै धनवीरेको उद्घोषलाई समर्थन गर्दै खुसीयाली मनाए ।

ADVADV

सम्बन्धित खबर

Advertise