२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अस्ट्रेलियाको वार्षिक जिडिपीमा गिरावट

Nada
२०८१ भदौ १९ गते १७:२६
Shares
अस्ट्रेलियाको वार्षिक जिडिपीमा गिरावट

काठमाडौंः अस्ट्रेलियाले कोभिड–१९ महामारीको अवधिलाई छोडेर ३० वर्षभन्दा बढीको अवधिमा सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि (एक दशमलव पाँच प्रतिशत) को रिपोर्ट गरेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कले २०२३ जुलाई १ देखि सन् २०२४ जुन ३० सम्मको आर्थिक वर्षमा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) एक दशमलव पाँच प्रतिशतले बढेको देखाएको छ । यो जुन आव २०२२–२३ मा तीन दशमलव एक प्रतिशत थियो ।

ncell

एबिएसका अनुसार सन् १९९१–९२ को आर्थिक मन्दीपछि शून्य दशमलव चार प्रतिशतको आर्थिक वृद्धिदर रहेकामा कोभिड महामारीलाई छोडेर यो अस्ट्रेलियाको सबैभन्दा कम आर्थिक वृद्धिदर हो । त्रैमासिक आधारमा अप्रिलको शुरुदेखि जुनको अन्त्य तीन महिनामा अर्थतन्त्र शून्य दशमलव दुई प्रतिशतले वृद्धि भएकामा सन् २०२३ को अन्तिम तीन महिना र सन् २०२४ को पहिलो तीन महिनामा भएको वृद्धिसँग मिल्दोजुल्दो देखिन्छ ।

विश्वव्यापी अनिश्चितता, उच्च मूल्य दर र निरन्तर मुद्रास्फीतिलाई प्रतिबिम्बित गर्दै गत त्रैमासिकमा अर्थतन्त्रमा सीमित वृद्धि भएको पुष्टि गरेको अर्थमन्त्री जिम चाल्मजले तथ्याङ्कको प्रतिक्रियामा जनाए । उनले यसले मानिसहरूको दबाबलाई देखाउने बताए । उनका अनुसार यसले अर्थतन्त्रलाई हानि नपुग्ने गरी मुद्रास्फीतिसँग लड्न र मानिसहरूलाई कडा मेहनत गर्न सहयोग पुर्याउन मुलुकको योजनालाई उचित ठहर्याउँछ ।   

एबिएसले जुनमा समाप्त हुने त्रैमासिकमा घरेलु खर्च अघिल्लो तीन महिनाको तुलनामा शून्य दशमलव दुई प्रतिशतले कम हुँदा जिडिपी वृद्धिमा शून्य दशमलव एक प्रतिशत अङ्कले कमी भएको तर सरकारी खर्च एक दशमलव चार प्रतिशतले बढेको जनाएको छ । अघिल्लो दुई त्रैमासिकमा गिरावट आएपछि जुनमा समाप्त हुने त्रैमासिकमा सेवा निर्यात पाँच दशमलव छ प्रतिशतले वृद्धि भएको छ । (एजेन्सी)

सम्बन्धित खबर