२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

उद्धारमा दलहरू

ADV
भावना पाठक
२०८१ असोज १६ गते ०६:४५
उद्धारमा दलहरू

काठमाडौं : प्रमुख राजनीतिक दलहरू प्राकृतिक विपद्पछिको उद्धारमा केन्द्रित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता÷कार्यकर्ता फिल्डमा पुगेका छन् । पार्टीले नै निर्णय गराएर समेत उनीहरू प्राकृतिक विपद्पछिको उद्धारमा खटिँदैछन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपद व्यवस्थापनका लागि राहत, पुनस्र्थापना र पुननिर्माणका लागि स्वयंसेवक अभियान नै सुरु गरेको छ । 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड मंगलबार बाढी प्रभावित क्षेत्र काठमाडौंस्थित बल्खुमा पुगे । त्यहीँबाट राहत र पुनर्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरे । 

अभियान उद्घाटनका क्रममा प्रचण्डले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिया गरे । उनले सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने आश्वासन दिए । बल्खुको जागरण टोलमा ४१७ घर परिवार बाढीबाट प्रभावित भएका छन् । यसअनुसार अन्य क्षेत्रमा माओवादी केन्द्रका नेता÷कार्यकर्ता खटिनेछन् । 

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले पनि पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुन पार्टी पङ्तिलाई निर्देश गरेको छ । 

एमालेका महासचिव शंकर पोखरेलका अनुसार मंगलबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्देश गरेको हो । उनका अनुसार एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय भएको छ । 
एमाले सचिवालय बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ । साथै लाइफ लाइनका रुपमा रहेका सडकहरु सञ्चालन गर्न पहिलो प्राथमिकता दिन सुझाइएको छ ।

प्रमुख सत्ताघटक नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला र गाउँ नगर कार्यसमितिको बैठक बसी स्थानीय सरकारसँग समन्वय गरी उद्धार, राहत र पुनः स्थापनाकार्यमा अग्रसरता लिने निर्णय लिएको छ । 

महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीको ‘बाढी पहिरो पीडित राहत तथा पुनःस्थानपना समन्वय समिति’को बैठकले यसका लागि आवश्यक समन्वय गर्ने समेत निर्णय गरेको हो ।

बैठकले बाढी पहिरो ग्रस्त क्षेत्रमा भएको जनधनको क्षति र बाढी पहिरोको कारण नागरिकले भोग्नुपरेको कठिनाई, उद्धार, राहत, सुरक्षा र पुनःस्थानपनालगायत विषयमा अबिलम्ब काम गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

बाढी पहिरो वढी प्रभावित प्रदेशका प्रदेश सरकारलाई उद्धार, राहत र पुनःस्थानपनाका सन्दर्भमा थप क्रियाशील बनाउन कांग्रेस प्रदेश कार्यसमितिको तर्फबाट ध्यानाकर्षण गराइएको छ । यसका लागि पार्टी केन्द्रले, प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ ।

बाढी र पहिरोबाट पीडित परिवारको सुरक्षा गर्न, तत्काल राहत उपलब्ध गराउन र अस्थायी आवास निर्माण एवं पुनःस्थापना लगायतका कार्य प्रभावकारी ढंगले गर्न कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय सरकारलाई क्रियाशील बनाउने निर्णय भएर कार्यान्वयनमा लगिएको कांग्रेस नेताहरू बताउँछन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू स्वतस्फुर्त रुपमा बाढी पहिरो प्रभावित क्षेत्रमा खटिएका छन् । अन्य राजनीतिक दल, नागरिक समाज र अन्य संघ संस्थाका प्रतिनिधिहरू समेत उद्धारमा खटिएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise