–डा. उद्धव पुरी
अहिलेको संसारमा विद्युतीय महत्वलाई नकार्न सकिँदैन । विद्युतीय शक्ति र स्रोतसाधन बिना जीवनको हरपलमा मानिस अर्थहीन अवस्थामा रहेजस्तो हुन्छ । उसका दैनिकी नै विश्व अनुकूल नहुन सक्दछ । त्यस्तै विद्यार्थी र शिक्षक एवम् अध्ययन र अनुसन्धान पूर्ण नहुन सक्दछन् । यसलाई सामान्य जीवन उपभोगका सबल र विलासिता मान्नेहरूले भर्खरै सामान्य बन्न थालेको कोरोना कालमा भोगिसकेका छन् । वास्तवमा अहिले विद्युत शक्तिको महत्व शैक्षिक क्षेत्रमा पनि उत्तिकै आवश्यक र प्रभावकारी भएको छ । किनभने संसारलाई नजिक बनाउने र ती स्थान विशेषसम्म पहुँच पुर्याउने काम विद्युतीय साधनहरूले गरेका छन् । जसले अध्ययन गर्ने, अध्यापन गराउने र अनुसन्धान गर्नेदेखि सबै खाले नयाँ जानकारी विद्युतीय माध्यमबाट मात्रै सम्भव छ भन्ने प्रमाणित गरिसकेको छ । नेपालको सन्दर्भमा पनि यो हरपलमा आवश्यकताको विषय बन्दै गएको छ ।
नेपालको केही स्थानबाहेक हर क्षेत्रमा अहिले विद्युतीय स्रोत र साधनको उपयोग हुन थालेको छ । विद्युत शक्ति नपुगेका स्थानका मानिसहरू पनि विद्युत उत्पादनको विविध विकल्पहरूको उपयोग गरी आवश्वकीय विद्युतीय साधनहरूको उपयोग गरिरहेका छन् । विद्यालय, कलेज र विश्वविद्यालयहरू विद्युत र विद्युतीय स्रोत साधन बिना सञ्चालनमा ल्याउन असम्भव प्रायः भइसकेको छ । विद्युत शक्ति बिना उज्यालो अपुग हुन्छ र विद्युत शक्तिले नै सम्भव बनाएको नेट प्रविधिहरू सञ्चालनमा आउँदैनन् । जसका कारण कतिपय कार्यालयगत कार्य, जनसम्पर्क र नयाँ विषय वा ज्ञानको खाजी कार्य रोकिन्छ । अहिले नेपालमा पनि शिक्षा क्षेत्रको कतिपय कार्यहरू विद्युतीय स्रोत र साधनको प्रयोगमा मात्र चल्दछन् । जसको अरू विकल्प छैनन् ।
विद्युतीय स्रोत र साधनमा जानकार नभएका वा सो विधि र प्रविधिलाई समयानुकूल बनाउन नसक्ने विद्यार्थी वा शिक्षक दुबैमा हीनता बोध र पछुतो हुन सक्दछ । किनभने संसारमा भएका हरेक परिवर्तन र नयाँ कुरा अनि त्यसको जानकारी केही पलमा नै विश्वभर फैलिसकेको हुन्छ । जुन अध्ययन र अध्यापनका लागि सबैभन्दा महत्वपूर्ण र प्रभावकारी मानिन्छ । यदि शिक्षक वा विद्यार्थी यी कुराहरूको पहुँचमा समयानुकूल बन्न सकेनन् भने कमजोर साबित हुन्छन् । उनीहरू पुराना लिखत अध्ययन र अध्यापनमा मात्र हराउँछन् । जुन वर्तमान प्रतिस्पर्धाको युगमा अर्थहीन रहन्छ । उसमा जतिसुकै शैक्षिक क्षमता भए पनि उसको अध्ययन, अनुसन्धान र अध्यापन अरूका सामु तुलनागत रूपमा कमजोर र विधिको पूर्ण उपयोग नभएको देखिन्छ ।
नेपालका विद्यालय र विश्वविद्यालयहरूमा विद्युतीय क्षमता र त्यसको उपयोगको पहुँच कतै कमजोर भए पनि सम्भव भएका स्थानमा पनि त्यसको उपयोगिता र चासोमा ठुलो खाडल देखिन्छ । यसलाई केही व्यक्ति विशेषहरू सामान्य रूपमा पनि लिन्छन् । त्यो नितान्तः गलत सोच वा कमजोर मानसिकता जस्तो लाग्छ । उदाहरणका लागि नेपालको जेठो र श्रेष्ठ विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको केन्द्रमा यो खाडल कम विद्यार्थी र बहुमत प्राध्यापकहरूमा देख्न सकिन्छ । जसले विश्वविद्यालयको अध्ययन, प्राध्यापन र अनुसन्धानमा केही असहजता देखाएको छ । एउटै विभागमा यस्ता विद्यार्थी र प्राध्यापक रहँदा अध्यापन र अनुसन्धान कार्य केही प्रभावित भएको पनि देखिन्छ । केही बिकट बाहिरबाट आउने वा त्यसलाई समयानुकूल नबनाउने विद्यार्थीहरू अरू सक्षम विद्यार्थीहरूको दाँजोमा कमजोर देखिन्छन् । उनीहरू अध्ययन र अनुसन्धान कार्यमा एउटा कम्प्युटर बाटै एकै क्षणमा सम्भव हुने वा गर्न सकिने कार्यका लागि पनि महिनौँ दौडिरहेका हुन्छन् । यसको मतलब उनीहरू गर्न सक्ने भएर पनि पछाडि कुदिरहेका हुन्छन् ।
विद्युतीय स्रोत र साधनको प्रयोग र उपयोगमा उनीहरू आफूलाई अभ्यस्त र सक्षम बनाउन प्रयास भने गरिरहेको देखिन्छ । यो सकारात्मक पक्ष हो । उसले आफूपछिको पुस्तालाई सुरुवातीदेखि नै सिकाउन र सिक्न प्रेरित गरेको देखिन्छ । तर, समस्या प्राध्यापकहरूमा भने भिन्न प्रकृतिको रूपमा देखिन्छ । प्राध्यापन पेसामा अहिले नयाँ आउनेहरूमा सम्भवतः यो समस्या छैन होला भन्ने लाग्दछ । सायद, यो विषय उठानले केहीलाई खल्लो लाग्न सक्छ । विगत करिब २९ वर्षभन्दा अगाडि र त्यसको हाराहारीमा रहेका प्राध्यापकहरू केही यसको पीडा बोधमा देखिन्छन् । हुन त अधिकांश प्राध्यापकहरूले आफूलाई हुनसक्ने र सम्भव भएसम्म विद्युतीय विधिको प्रयोग गरी आफूलाई सक्षम र समयानुकूल बनाएको देखिन्छ । तर, केही प्राध्यापकहरू छन् यो विद्युतीय क्षमता र त्यसबाट जीवनमा उपयोग गर्न सकिने विधि र माध्यमलाई अङ्गालेनन्, उनीहरू हिजोको दिनमा जति जानकार र योग्य भए पनि अहिले अध्ययन, अध्यापन र अनुसन्धानमा कमजोर र पछाडि छन् । त्यसैले विश्वविद्यालयले आफ्ना प्राध्यापकहरू विश्व प्रतिस्पर्धामा सक्षम हुन सकुन् भनी बेलाबेलामा यस्ता स्रोत र साधनको तालिम र उपयोगका लागि अवसर र सुविधा दिने गर्दछ र दिइरहेको छ । तर, उनीहरू विद्यार्थीका अगाडि मौखिक व्याख्या विधिमा रहन्छन् र आफूसँग भएको पुरानो स्रोत साधनको प्रयोगमा सीमित रहन्छन् ।
अचम्म त के छ भने अध्ययन, अध्यापन र अनुसन्धानको यो विश्वव्यापी प्रयोग र आफूलाई समयानुकूल बनाउने चासो र जाँगरलाई हाम्रो पालामा थियो र हामीले गर्नु भन्ने तर्क राखी जित्न खोज्दछन् र यो त्यसरी नै चलिरहेको छ । यसले विश्व परिवेशमा नकारात्मक प्रभाव जमाएको छ । सम्भवतः यो विद्यालय स्तरमा भन्दा पनि विश्वविद्यालय स्तरमा विकल्परहित विषय हो । नेपालका धेरै विश्वविद्यालयहरूमा यो समस्या बाँकी छन् होला भन्ने लाग्दछ । जुन आजको युग र दैनिकीसँग नै विरोधाभास हो भन्ने ठानिन्छ । विशेषतः विद्युतीय क्षमताले यी सबै कुरालाई सम्भव र सहज बनाइदिएको छ । विद्युतीय विधिको पूर्ण उपभोग गर्न सके वा आफूलाई ती साधन समयानुकूल बनाउन सके अध्ययन, अध्यापन र अनुसन्धानका सवालमा धरै काम कम समयमा कम खर्चमा उच्च स्तरमा विश्व प्रतिस्पर्धाअनुरूप गर्न र गराउन सकिन्छ ।