२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दीर्घकालीन सुधारमा जोड

ADV
२०८१ असार २ गते ०६:३५
दीर्घकालीन सुधारमा जोड

अमेरिका र वेष्ट इण्डिजमा जारी टी–२० विश्वकपमा नेपालले शनिबार टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई हराएर कीर्तिमान रच्ने अवसर गुमाएको छ । पहिलो खेल नेदरल्याण्ड्ससँग पराजित नेपालले दोस्रो खेला श्रीलंकासँग अंक बाँडेको थियो । तर समूह डीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकालाई बलियो चुनौती दियो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोक्न सकेको थियो । जवाफी ब्याटिङमा नेपाल जित उन्मुख भइसकेको थियो । तर अन्तिम तीन ओभरमा नेपालले लगातार विकेट गुमाउँदै इतिहास रच्ने अवसर गुमायो । यदि दक्षिण अफ्रिकालाई हराएको थियो भने नेपालले विश्वकपमा टेष्ट राष्ट्र हराउने मात्र नभएर अर्को विश्वकपमा स्वतः छनोट हुने थियो । तर एक रनले पराजित भएसँगै नेपालले धेरैवटा अवसर एकैपटक गुमाएको छ । 

यो पराजयलाई लिएर अनेक टिप्प्णी भइरहेको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालले धेरै राम्रो चुनौती दिएको टिप्पणी भइरहँदा नेपालमा भने मिश्रित धारणा देखिन्छ । कतिपयले खेलाडीहरुको कमजोरीलाई लिएर आलोचना गरिरहेका छन् भने कतिपयले प्रशंसा गरिरहेका छन् । तर प्रशंसा वा आलोचना तत्कालको आवेशजन्य प्रतिक्रिया मात्रै हो । क्रिकेटको क्षेत्रमा आवश्यक सुधार र खेलाडीहरुको वृत्ति विकास चाहिँ दीर्घकालीन विषय हो । शनिबारकै खेल हेर्दा पनि नेपालले थुप्रै सुधार गर्नुपर्ने देखिन्छ । मुख्य सुधार पूर्वाधार विकासमै आवश्यक देखिन्छ । किनकि विश्वकपको प्रतिस्पर्धामै नेपालका अधिकांश खेलाडीले फ्लड लाइटमा पहिलोपटक खेले । अधिकांशले अहिलेसम्म रातको समयमा खेलेका थिएनन् । 

तर यसतर्फ नेतृत्वले आवश्यक ध्यान दिएको देखिएन । क्रिकेटप्रेमीहरुको मन जित्न सामाजिक सञ्जालमा लेख्ने होडमा उत्रिएका राजनीतिक नेतृत्वले अहिलेसम्म देशमा एउटा मात्र पनि फ्लड लाइट भएको क्रिकेट मैदान निर्माणमा ध्यान दिएका छैनन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा समेत अहिलेसम्म सरकारले फ्लड लाइट जोड्न सकेको छैन । कीर्तिपुर जस्तो अर्को स्टुडियम तयार पार्न सकिएको छैन । खेलाडीले पारिश्रमिक र पुरस्कारकै राशी लिन नसकिरहेको परिस्थिति छ । यस्तो बेला टेष्ट राष्ट्रलाई हराएको सपना देख्नु स्वभाविक होइन । तर क्रिकेटकै कारण सिंगो देश एकताबद्ध बनेको छ भने संसारभर देशको नाम फैलिएको छ । त्यसैले क्रिकेटको विकासका लागि दीर्घकालीन योजनातर्फ ध्यान दिन आवश्यक छ । आवेशजन्य प्रतिक्रियामा अल्मलिएर बस्ने होइन । 

ADVADV

सम्बन्धित खबर

Advertise