२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

हिमाल जोगाउने सवाल

ADV
मध्यान्ह
२०८१ कार्तिक १ गते ०९:३३
 हिमाल जोगाउने सवाल

शिवकुमार श्रेष्ठ (शिवांसु)

जलवायु परिवर्तनको कारण नेपाल र विश्वका हिमाल, हिमनदी र अन्टार्टिकाका हिउँहरू दिन प्रतिदिन पग्लने क्रम बढ्दो छ । संसारका १० उच्च हिमालहरूमध्ये आठ वटा उच्च हिमालका शिखरहरू नेपालमा अवस्थित छ ।

पछिल्लो समय जलवायु संकटको कारण ठुला–ठुला महामारी प्राकृतिक प्रकोप तथा पर्यावरणीय विनाश भइरहेको छ । जसको प्रभावले मानवीय तथा प्राकृतिक क्षति भइरहेको छ । जसका लागि सबैलाई सम्मान, समानता र न्याय हुने गरी जलवायु संकट समाधानका विश्व कार्य योजना बनाउनु पर्दछ । जुन समुदाय बढी प्रभावित छ, उनीहरूलाई जलवायु न्याय र सुशासनका लागि नीति निर्माण तथा कार्यान्वयनमा भेदभाव विना सहभागिता गराउनुपर्छ । 

वार्षिक औसत तापक्रम सन् २००० लाई पूर्वाधार रेखा मान्दा सन् २०३० सम्म १.२ डिग्री सेल्सियसका दरले बढ्ने प्रक्षेपण गरिएको छ । यस्तै, सन् २०५० सम्म १.७ डिग्री सेल्सियस र सन् २१०० सम्म ३.० डिग्री सेल्सियस दरले बढ्ने अनुमानले थप चिन्तित बनाएको छ । त्यसैकारण कोप २३ को पेरिस जलवायु सम्मेलनले तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने कार्य योजना विश्वसामु राखेको छ ।

हिमाली क्षेत्रमा हिऊँ विना जीवन चल्दैन । पहिला पहिला ५ देखि १० फिट सम्म हिमपात सजिलै हुन्थ्यो । हिउँ हिमाली क्षेत्रको सिचाइको मुख्य श्रोत पनि हो । हिमपात हुनुलाई शुभ र खेती उब्जनीको लागि अहम् भूमिका लिइन्छ । हिमपात हुँदा कृषि, वन वातावरण तथा सामाजिक जन जीवनमा समेत सकारात्मक प्रभाव पर्दछ । हिमपात नपर्दा विभिन्न प्रकारको रोग व्याधि फैलिनुका साथै जडीबुटीका लागि अत्यावश्यक छ, भने जीवन धान्न पनि हिउँ पर्नु आवश्यक छ ।

जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा सेतो हिमाल कालापथ्थरमा परिणत भएका छन् । हिजोआज हिमालमा समेत हिउँ देखिन छाडेका छन् । प्रायः मंसिरको अन्तिम साताबाट मात्र हिमपात शुरु हुन्छ । मनाङको गंगापूर्ण र लमजुङलगायत आधाभन्दा बढी हिमपात काला पथ्थरमा रूपान्तरण भइसकेको छ ।

सर्वप्रथम सगरमाथा सन् १९५३ मे २९ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्के शेर्पाले आरोहण गरेका थिए भने बिना अक्सिजन आङरिता शेर्पाले १० पटक सगरमाथा सफल आरोहण गरी विश्व कीर्तिमान राखे । सन् २००८ मे २२ तारिख ८८ जना आरोहीहरूले एकै दिन सगरमाथा चढेका थिए । त्यस्तै, जलवायु परिवर्तनविरुद्धका अभियन्ता पिके शेर्पा र उनका १६ वर्षीय छोरा सोनूम शेर्पाले सन् २०२२ मे २३ मा एकै पटक सगरमाथा आरोहण गरेका थिए ।

नेपालका २५ हिमाल चढेन आरोहीले अनुमति पाउने गरेको छन् । सबैभन्दा बढी सर्वोच्च शिखर सगरमाथा पर्दछ भने दोस्रो रोजाइमा ल्होत्से हिमाल परेको छ । ०७९ सालको वसन्त यामको सगरमाथा तथा चुली आरोहणका लागि कुल ८९९ आरोहीले अनुमति लिएका थिए ।

एडमन्ड हिलारी र तेन्जिङ नोर्के शेर्पा भन्दा पहिला नेपालमा पहिलो पटक सफल हिमाल आरोहण सन् १९५० मा फ्रेन्च नागरिक मरिस हजोग र लुइस लाकनले अन्नपूर्ण हिमाल आरोहण गरोका थिए । सन् १९९७ मे २८–३१ तारिखका दिन नेपालमा अन्तर्राष्ट्रिय पर्वतारोही दिवस मनाइयो ।

यसरी सन् १९५० देखि २०२४ सम्म पर्वतारोहीहरूले पर्वत आरोहण गर्दै आइरहेका छन् ।  ७४ वर्षको अवधिमा नेपालका हिमालय आरोहण गर्नेको संख्या लाखौँमा छन् । आरोहीबाट नेपालले रोयल्टी बापत अरबौँ आम्दानी गरेको छ । तर, आरोही, गाइड, कुक, भरिया र सहयोगीबाट हिमाल आरोहण गर्दा खेरिको फोहर व्यवस्थापनको लागि नेपाल सरकारले खासै चासो र व्यवस्थापन गरिएको देखिँदैन । विभिन्न संघ संस्था र व्यक्तिबाट भएको समाचारमा आएको छ । व्यक्तिगत रूपमा हिमाल सफाइ अभियानमा पिके शेर्पाले हिमाल सफाइसहित जलवायु परिवर्तन विरुद्ध जनचेतना मूलक कार्यक्रम र पैरवीमा संलग्न रहँदै आएका छन् ।

पिके शेर्पाले सगरमाथा क्षेत्रबाट आठ सय किलो फोहर र पाँच वटा मृतक मानव शरीर व्यवस्थापन गरेका छन् । हिमाल सफाइ कार्यक्रम गर्न केही साथी मिली सन् २०१० मा (फेन्डस अफ सेभ द हिमालय) नामक संस्था खोलेका छन् । सन् २०२१मा नेपाली सेनाको सफा हिमाल सफाइ अभियान अन्तर्गत धौलागिरि हिमालको फोहर संकलनमा युनिलिभर नेपालको सहकार्यमा पाँच हजार २० किलो फोहर संकलन गरेको थियो ।

सगरमाथा नेकस्ट नामक संस्थाले सगरमाथाको फोहर संकलन गरी फोहोरबाट बनेका सामाग्री विक्रीबाट आएको रकम सगरमाथा प्रदूषण तथा नियन्त्रण समितिलाई प्रदान गरिने जनाएको छ । दिशा, पिसाब, खाली अक्सिजन सिलिन्डर, प्लास्टिकका वोटल, क्यान, ब्याट्री, खाना बेरिएको वस्तु, च्यातिएको टेन्ट, कागजात र मृतक शरीरहरू पर्दछन् । सगरमाथामा मिल्किएको फोहरको समस्यासँग जुध्न चीनले वातावरण मैत्री शौचालय सात हजार २८ मिटरको उचाइमा बनाउने भएको छ ।

सन् २०२१ मा नेपाली सेनाको सफा हिमाल अभियानअन्तर्गत सगरमाथासहित अन्य हिमालबाट २७ हजार ६७१ किलो फोहर तथा चार वटा शव संकलन गरिएको थिए । यस पटक वन तथा वातावरण मन्त्रालय, पर्यटन विभाग सहित सरोकार वाला निकायको सहकार्यमा सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयको व्यवस्थापनमा सगरमाथा, होल्से, पुमरी, आमदब्लम,मकालु तथा धौलागिरि हिमालबाट फोहर संकलन अभियान गरेको हो । सफा हिमाल अभियान २०२२ अन्तर्गत नेपाली सेनाको नेतृत्वमा भएको हिमाल सफाइ अभियानका टोली सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लुबाट १६०० के.जी. फोहोर संकलन गरेको थियो । सेनाका अनुसार सगरमाथा र ल्होसे क्षेत्रबाट छ हजार ३६५ केजी, कञ्चनजंघाबाट छ हजार ६१२ के.जी, मनास्लुबाट चार हजार २३ के.जी फोहोर संकलन गरेका थिए । 

सन् २०२१ मा १२ करोड ५५ लाख रूपैयाँ खर्च गरेर सेनाले फोहोर संकलनको समन्वय गरेको थियो । चार हिमालमा सैनिक तथा शेर्पा सहित ९१ जनाको सहभागिता थियो । सन् २०२१मा सेनाले छ वटा हिमालबाट ३५ टन फोहर संकलन गरेको थियो । सेनाका अनुसार सगरमाथा क्षेत्रमा मात्रै तीन सय शव र फोहर मैला छन् । सगरमाथा क्षेत्रमा एक सय ४० टन फोहोर र चालीस टन जति दिशाजन्य फोहोर रहेको अनुमान छ । सेनाले हिमाली अर्थतन्त्र प्रदूषण नियन्त्रण तथा हिमाली साहसिक पर्यटनको अवधारण अनुसार एकीकृत योजना अनुसार फोहोर सफाइ काम गरिरहेको छ । हिन्दकुश हिमालय श्रृंखला १५०० किलो मिटर लामो छ । 

एसियाका करिब एक अर्व ३० करोड जनसंख्याको पानीको श्रोत हिमालय हो । यस क्षेत्रमा छ हजार मिटरभन्दा माथिका एक हजार तीन सय १० हिमालमध्ये हाल चार सय १४ हिमाल मात्र आरोहणको लागि खुल्ला गरिएको छ । आरोहण खुल्ला गरेका हिमालमा आरोहीहरूले फोहोर छाड्ने गरेका छन् । सन् २००८ देखि २०१९ सम्म शेर्पाहरूको टोलीले सगरमाथा क्षेत्रबाट २१ हजार एक सय किलो फोहर संकलन गरेर ल्याएका थिए ।

मानव सिर्जित समस्या जस्तैः प्राकृतिक श्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग बढ्दो औधोगिककरणले जलवायु परिवर्तनका कारण मानव जीवनका हरेक क्षेत्रमा नकारात्मक असर पु¥याएको छ । मानव सिर्जित समस्या कम गर्न सकिए जलवायु परिवर्तनले पनि असर न्यूनीकरण गर्दछ । 
 

ADVADV

सम्बन्धित खबर

Advertise