–प्रा.डा. बद्रीविशाल पोखरेल
जनताको बहुदलीय जनवादले तीन दशक पार गरिसकेको छ । यस लामो अन्तरालमा जबजमार्फत मूलतः नेपाली कम्युनिस्ट र प्रजातान्त्रिक आन्दोलनमा प्राप्त उपलब्धि र प्राप्ति केलाउनु जरुरी हुन्छ । जतिबेला संसारबाट कम्युनिस्ट आन्दोलन धराशायी र धुलिसात् भएको थियो, त्यति नै बेला नेपालमा कम्युनिस्ट आन्दोलनको हँसिया हथौडा चिन्ह अंकित लाल झन्डा फहराएको थियो । तत्कालीन रूसमा समाजवाद ढलेपछि उपर्युक्त महासंकट विश्वव्यापी रूपमा सिर्जना भएको थियो । कम्युनिस्ट आन्दोलनमा आएको वैश्विक संकट हटाउन जननेता मदन भण्डारी जबजमार्फत लागिपरेका थिए । उनी यो संकट आउनुभन्दा पहिले नै मार्क्सवादको पुनः सिर्जनका सवालमा लामो समयदेखि चिन्तन र गहन अध्ययनमा लागिपरेका थिए । यसैको परिणाम उनी पार्टीको महासचिव भए । मदनकै मार्गदर्शन र सहजीकरणमा संयुक्त बाम निर्माण गरी नेपाली कांग्रेससमेत सहकार्य गर्दा २०४६ सालको आन्दोलन सफल भएको थियो ।
भ्रूणस्थ जबजका आलोकमा सार्वभौम सत्ता जनतामा निहित नेपालको संविधान २०४७ जारी हुन सकेको हो । उक्त संविधानलाई अझ लोकतान्त्रिक बनाउन मदनले २७ बुँदे फरक मत राखेका थिए । ०४६ पछि प्रतिगामी दरिबारिया शक्ति पुनर्जीवित हुनसक्ने खतरा थियो । त्यसैले प्राप्त उपलब्धिलाई जोगाउन र जगेर्ना गर्न नेकासँग संक्रमणकालमा सहकार्य गर्ने प्रस्ताव गरिए पनि कार्यान्वयन हुन सकेन । तथापि, पार्टीले अनेक क्षति सहेर भए पनि जबजमार्फत नेकासित न्यूनतम सवालमा एकताबद्ध हुने र गर्ने प्रयत्न गरिएको थियो । आसन्न र सम्भावित संगीन संकट देखेर अहिले नेका र एमालेका बिच संयुक्त सरकार बनेको छ । देश चरम अस्थिरताको दलदलमा परेका बेला देशमा उथलपुथल ल्याएर असफल राष्ट्र बनाउन उद्यत अवस्था देखेर एमाले र नेकाको संयुक्त सरकार बन्न बाध्य भएको स्थिति हो । जे–जस्ता भित्री र बाहिरी परिघटना भए पनि संकटका साथी र सारथीहरू मिल्छन् भन्ने कुरा विभिन्न उदाहणबाट प्रमाणित हुन्छ । यी दुवै शक्तिले २०६२÷०६३ को शान्तिपूर्ण ऐतिहासिक जनआन्दोलनमा देशमा जनधनको अपार क्षतिका साथ युद्धरत माओवादीलाई समेत साथमा लिए । यसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुन गयो । उक्त आन्दोलन आपसी सहमतिमा स्थगन भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी र कार्यकर्तालाई संघर्षरत रहन कडा निर्देश गरे तर पनि त्यसको सुनवाइ भएन । बहालवाला सेनापतिलाई बलात् हटाई देशभित्र विग्रह ल्याउने जस्ता अनेक प्रपञ्च रचिए ।
२०६२/०६३ बाट प्राप्त उपलब्धि जोगाउन जबजको आलोकमा नेकासहित भएर काम भइरह्यो । प्रथम महिला राष्ट्रपति विद्या भण्डारीको संविधानको पालन र संरक्षणको भूमिका विशिष्ट रह्यो । संविधानअन्तर्गत रहेर नेपाल राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका सवालमा निर्वाह गरेको भूमिका उदाहरणीय रह्यो र यसैले एमाले पार्टीले उनलाई गणतन्त्र गौरवका रूपमा उच्च सम्मान समेत गरेको थियो । नेपालमा संविधान २०७२ निर्माण र जारी नै गर्न नदिने, अमानवीय नाकाबन्दी लगाएर नेपाललाई चरम अस्थिरताको भुमरीमा पार्ने दुष्प्रयत्नलाई नाकाम पार्न एमालेको भूमिका अब्बल रहेको छ । नौ महिने र ओली नेतृत्वको एकल सरकारका बेलाका कामहरू अविस्मरणीय रहेका छन् ।
तर, जबजअनुसार पार्टीलाई गुणात्मक बनाउने दिशामा निकै कमजोरी देखिएका छन् । जननेता मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या गरिएपछि एमाले पार्टी सैद्धान्तिक र सांगठनिक दृष्टिकोणले बरालिन थालेको पाइन्छ । सांगठनिक दृष्टिले पार्टीलाई लोकतान्त्रिकरण गर्ने विषयमा सुरूमा दुराग्रह राख्ने तर, समयक्रममा त्यसैलाई अनुशरण गर्नेलगायत द्वैध चरित्र अपनाइयो । योग्य र योग्यतमलाई उचित जिम्मेवारी प्रदान गर्ने मदनको सोचलाई उतिबेला पनि बेवास्ता गरियो यो अवस्था अहिले पनि ज्युँका त्युँ देखिन्छ । जननेता मदन भण्डारीले पार्टीलाई प्रतिभाको फूलबारी बनाउन खोजेका थिए, तर यो पार्टी काँडाघारीमा परिणत हुन थाल्यो । संयोगले ओली पार्टीको ९ औँ महाधिवेशनमा अध्यक्ष भएपछि यो पार्टी मण्डलेकरण हुनबाट भने बच्यो । ओली नेतृत्वपछि यो पार्टी एकताबद्ध सशक्त र सुदृढ हुन थाल्यो । यस पार्टीलाई यसै पार्टीका उपल्ला तहका एकाध नेताले खरानी पार्न खोजे पनि तिनलाई पार्टीले उठ्नै नसक्ने थला पार्यो । मात्रात्मक रूपमा राजकीय र राजनैतिक क्षेत्रमा निक्कै सकारात्मक भूमिका निर्वाह गरे पनि गुणात्मक दृष्टिकोणले एमाले पार्टी अहिले सार सौन्दर्य विहीन देखिन्छ ।
कुनै पनि वस्तु, विषय र क्षेत्रमा चुरो चाहीँ विशेष महत्वपूर्ण हुन्छ । यही चुरोका कारण सतिसाल सय वर्ष लडा, खडा र पडा रहनसक्छ वा जीवित रहन्छ । प्रगतिशील सरकार र सत्ताका लागि प्रगतिशील सांस्कृतिक चुरो अपरिहार्य हुन्छ । सामन्तवादी नायक हटे पनि उनको चरम अन्धविश्वासी धार्मिक सांस्कृतिक चुरो जीवित रहेको हुँदा लोकतान्त्रिक सरकारलाई ऐया–ऐया र आच्छु–आच्छु पारेको हो । जननेता मदन भण्डारीले जबजमा सामाजिक कुरीति, अन्धविश्वास रूढीगत धारणाहरूलाई सामाजिक सांस्कृतिक सुधार आन्दोलन चलाई हटाउँदै लगिने छ भन्ने कुराको मर्म पार्टीले अझै बुझेकै छैन । मदनले भने झैं सामन्तवादी भूतप्रेतलाई बेलैदेखि नपन्छाउँदा, यसले गणतन्त्रलाई तर्साउन खोजेको देखियो । जनताको जनवादी व्यवस्थाको सुदृढीकरण शीर्षकको तेस्रो उपचरणको चर्चाका क्रममा भण्डारीले सांस्कृतिक रूपान्तरण गर्ने विषयलाई शीर्ष महत्व दिएको देखिन्छ । तर, यस दिशातिर पार्टीले सिन्को पनि भाँचेको छैन । पार्टीमा प्रतिस्पर्धा र पहलकदमीबाट श्रेष्ठता हासिल गर्ने, आफैभित्र स्वस्थ्य प्रतिस्पर्धा गर्ने, योग्य र योग्यतम छानेर उपयुक्त जिम्मेवारी प्रदान गर्ने कुरा अहिले समाप्त प्रायः देखिन्छ ।
मार्क्सले परिवर्तित परिस्थितिमा पनि जोसुकै नेता, बुद्धिजीवी र स्रष्टाहरूका मन मस्तिष्कमा पुरानै शासक र शासन सत्ताका विचार, चिन्तन, संस्कार र संस्कृति प्रभावी हुन्छ भनेका छन् । नभन्दै अहिले पनि एमाले उपल्ला तहका अत्यधिक नेताहरूमा सामन्तवादी संस्कार र सांस्कृतिक कुरूप पक्ष सिरदेखि तीरसम्म प्रभावी देखिन्छ । म, मैले र मेरो मात्र भन्नु सामन्तवादी अहम् र अहंकार हो । उपल्लै तहका नेताहरू नस, नाता र गोतालाई काखी च्याप्छन्, गणेश शैलीलाई काँधमा बोक्छन् । धन, दौलत, आय आर्जन तथा चरम अवसरवादमा लिप्त छन् । इटहरी उपमहा नगर पालिकाको हाल जुन अत्यन्त निराशाजनक, दयनीय र कुरूप दृश्य देखिन्छ । त्यसका पछाडि तत्कालीन एमाले जिल्लाको हात छ । आफ्नै वार्डमा पार्टी हार्छ, तै पनि तिनै ठूला नेता मानिन्छन् । आफ्नै घर करेसामा संस्कृत विश्व विद्यालयका उपकुलपतिलाई उद्दण्ड जत्थाले आक्रमण गर्दा मौन र मूकदर्शक बन्छन् । छरछिमेक र जनतासित एक थोपो मैत्री भाव, मरमिजास र हिमचिम नै छैन । तैपनि तिनी ठूला गनिन्छन् । सुनियोजित रूपमा गोप्य तरिकाले षडयन्त्रपूर्वक आफ्ना नितान्तः निजी गुट बनाउँछन् र ११औँ महाधिवेशनमा अध्यक्ष हुन गुप्तगु षडयन्त्र गर्छन्, तर आम कार्यकर्ता समक्ष गुटको विरोध गरी टोपल्छन् । लुम्बिनीमा संसदीय दलको प्रमुखलाई एक वचन नसोधी जुनियर नेतालाई मुख्य मन्त्री बनाउँछन् । पार्टीको वरिष्ठ उपाध्यक्षलाई अपमानित गरेझैँ गर्दै पार्टी कार्यक्रमका सन्दर्भ पारेर देश दौडाहा गर्छन्, गराइन्छ । मदन भण्डारी फाउन्डेसनले पार्टीमा अभर परेका बेला कलात्मक हस्तक्षेप गरेको थियो । अहिले झन् जटिल अवस्था देखिँदै छ ।
२०५० साल जेठ ३ गते जननेता मदन भण्डारीले पोखरामा पार्टी संगठन सञ्चालन बारे समसामयिक विचार प्रस्तुत गरेका थिए । उनले पाचौं महाधिवेशनका निर्णयअनुरूप क्रियाशील हुँदा मात्रै पार्टीको उत्थान र प्रगति हुने कुरा किटानी गरेका थिए । अध्यात्मवाद र भौतिकवाद बारे नितान्तः तार्किक, शास्त्रीय खालको प्रशिक्षणमा मात्र भर नपरी नेता, कार्यकर्ता र संगठकलाई स्वास्थ्य, शिक्षा, कृषि, पशु जस्ता प्राविधिक तथा संस्कृति र सांस्कृतिक रूपान्तरणजस्ता विषयमा प्रशिक्षित गर्नुपर्ने सुझाव दिएको देखिन्छ । परम्परागत प्रशिक्षणलाई मदनले अहिलेको परिस्थितिमा खोटपूर्ण ठहर गरेका छन् । यस खालको विविध विषयका सामान्य ज्ञान भएका संगठकहरूबाट जनसमाज लाभान्वित हुन्थ्यो भन्ने मदनको दृढ मान्यता देखिन्छ । अहिले त महँगा होटेल र लजमा बस्ने अधिकांश नेतामा प्राविधिक ज्ञान सुको पनि छैन र जतिसुकै प्रशिक्षित भए पनि अधिकांश नेता मृत आत्माको चिर शान्तिको कामना गर्छन् । तिनलाई सापेक्ष, तुलना, अंश र समग्र जस्ता मार्क्सवादी मूल्यांकन गर्ने कुरा थाहा नै छैन । अनि तिनका अन्तर्मनमा सबै जोगी कानचिराले जरा गाडेको देखिन्छ । पार्टीमा कमरेड महाराजको जगजगी देखिन्छ । यिनीहरू यति थेत्तरा छन्, बातले सुध्रिने लक्षण देखिन्न । चामल पनि बेच्न नजान्ने र नसक्नेको पार्टीमा राइँदाइँ देखिन्छ । आफू मात्र इमानदार हुँ र छु भनेर हुँदैन । इमानदारिताको माहौल तयार गर्नुपर्छ ।
भण्डारीले नेता र कार्यकर्तालाई एउटा टुल्स र औजारजस्तो मात्र भएर अब पुग्दैन र साँच्चै नेताजस्तो भएर काम नगर्ने किसिमको प्रवृत्तिलाई तोड्नु पर्ने बताएका छन् । पार्टीमा व्रतबन्धको सार नै नबुझी बिरालो बाँध्ने संस्कार गर्ने नाममा लाखौँ खर्च गर्ने नेता कोशी प्रदेशमा छन् । ‘ह्यापि वर्ड डे टु यु’ भन्दै बत्ती निभाएर र नेपालको नाम र नक्सा अंकित केक काटेर जन्मोत्सव मनाइन्छ । पार्टी कामको भुईँ अनुभव नै नभएकालाई केन्द्रीय बनाइन्छ । एमाले प्रवेश गरेको भोलिपल्ट नै दुवै हातमा लड्डु थमाइन्छ । एक मत बढाउनेभन्दा उल्टो घटाउनेलाई ठाडो आदेशमा प्रदेश सभासद् बनाइन्छ । यी त देखिएका दृश्य हुन् । अदेखमा भएका र खोजी गर्दा भेटिने विकृति मनग्गे हुन सक्छन् । संसदीय भासमा भासिने हो भने केही भन्नु छैन तर, जबजअनुसार देश र जनताको हितलाई सर्वोपरि राखेर काम गर्ने हो पार्टीको नेतृत्वमा जबजको जिन अपरिहार्य हुन्छ, उचालेकोले मृग मार्दैन । प्रतिस्पर्धामा अब्बल हुने र देखिने चुरो तथा टावर पर्सन्यालिटीले मात्र यो पार्टी एकताबद्ध र सबल बन्न सक्छ ।
(लेखक, एक संस्कृतिविद् हुन् ।)