–सन्दीप पनेरू
नेपालको वर्तमान राजनीतिक परिदृश्यमा एउटा कुरा अत्यन्तै प्रष्ट देखिन थालेको छ— सत्तामा रहेका वा रहेका दलप्रति जनताको विश्वास दिनप्रतिदिन घट्दो क्रममा छ । लामो समयदेखि शासनमा बसेका दलहरूले न त स्थायीत्व दिन सके, न त नागरिकका आधारभूत आवश्यकता नै पूरा गर्न सके । यस्तो सन्दर्भमा, जनताको नजर वैकल्पिक शक्तिप्रति जानु स्वाभाविक बनिरहेको छ । यस लेखमा त्यही प्रश्न उठाइएको छ— किन खोजिँदैछ वैकल्पिक शक्ति ?
राजनीतिमा निराशा, व्यवस्थामा असन्तोष र शासनमा चरम अविश्वासले गर्दा नागरिकहरूको अब पुराना अनुहारहरूप्रति मोहभंग भइरहेको छ । विगतमा पटक–पटक सरकार फेरिए, गठबन्धन टुटे–बने, चुनावहरू भए, तर अपेक्षित परिवर्तन कहिल्यै आएन । जनताले संविधानसभाबाट संविधान बनाउनेदेखि समावेशी शासन, सुशासन र आर्थिक समृद्धिको सपना देखेका थिए, तर ती सपना आज पनि अधुरा छन् । जनताको जीवनस्तर सुधारिएको छैन, बेरोजगारी झनै बढेको छ, महँगी नियन्त्रणबाहिर छ र भ्रष्टाचार संस्थागत भएको छ । जब सत्तामा रहेका शक्तिहरूले आफ्ना कमजोरी लुकाउन प्रतिस्पर्धीको दोष देखाउँछन्, जनताको मन वैकल्पिक दिशामा डुल्न थाल्छ ।
वैकल्पिक शक्तिको खोजी केवल विरोधको कारणले मात्र होइन, विकल्पप्रतिको आवश्यकताको परिणाम हो । जसरी उपभोक्ताले एउटै कम्पनीको उत्पादनमा सन्तुष्टि नपाएपछि अर्को कम्पनीको खोजी गर्छ, त्यस्तै हो राजनीतिको पनि अवस्था । जब पुराना दलहरूले सेवा दिन छाड्छन्, तब नयाँ विचार, नयाँ नेतृत्व र नयाँ कार्यशैलीप्रतिको खोजी सुरु हुन्छ । नेपालमा हाल केही नयाँ दलहरू वा स्वतन्त्र उम्मेदवारहरू यही कारण उदाएका छन् । तिनीहरूले परिवर्तन, पारदर्शिता, जवाफदेहिता र जनमुखी शासनको वाचा गर्दै जनताको मन जित्न थालेका छन् ।
समस्या के हो भने, मुख्यधारका दलहरू आफैं सुधार हुनेतिर लाग्न तयार छैनन् । उनीहरू सत्ता कब्जा गर्नमा मात्रै व्यस्त छन्, सेवा दिने उद्देश्य हराउँदै गएको छ । एउटै अनुहारहरू, एउटै शैली, एउटै बहाना र असफलता दोहोरिरहेको छ । दलहरूको कार्यशैली हेर्दा लाग्छ, उनीहरू देश बनाउनेभन्दा पनि चुनाव जित्न, पद बाँड्न र शक्ति सुम्पनमै रमाइरहेका छन् । यस्तो अवस्थामा जनताको चेतना बढ्दै जानु र नयाँ विकल्पको खोजी गर्नु एक लोकतान्त्रिक प्रक्रिया हो । जनताले जसलाई विश्वास गरे, उसैले काम नगरेपछि त्यो विश्वास अन्ततः नयाँ अनुहारमा सर्दा केही गलत हुँदैन ।
सामाजिक सञ्जालको विकासले पनि वैकल्पिक शक्तिको खोजीलाई मलजल दिएको छ । अब नेताका गतिविधि, घोषणापत्र र काम गर्ने शैली सजिलै सार्वजनिक र विश्लेषणयोग्य हुन्छन् । नागरिक स्वतन्त्र रूपमा अभिव्यक्त हुनसक्ने माध्यम पाएका छन् । उनीहरूको असन्तुष्टि, गुनासो र चाहना सिधा जनस्तरसम्म पुग्न थालेको छ । यसले गर्दा सत्ताधारी दलहरूको असफलता अझ उजागर हुँदै गएको छ । अर्को पाटो के पनि छ भने नयाँ पुस्ताको चेतना फरक ढंगको छ । उनीहरू केवल जात, धर्म वा पार्टीको नाममा मत दिँदैनन् । उनीहरू विकास, परिणाम र पारदर्शिताको अपेक्षा राख्छन् । र, जहाँ त्यस्तो अपेक्षा नपुगेको देखिन्छ, त्यहाँ उनीहरू वैकल्पिक ढोका खट्काउन पछि पर्दैनन् ।
पछिल्ला निर्वाचन परिणामहरूले पनि यही संकेत गरेका छन् । स्वतन्त्र उम्मेदवारहरूको विजय, वैकल्पिक दलहरूको क्रमिक उभार र पुराना दलप्रति जनताको आलोचना ती सबै वैकल्पिक शक्तिको खोजीको नतिजा हुन् । यसको मतलब के हो भने परिवर्तन चाहने जमात बढ्दैछ । अब नेतृत्व केवल पुराना संघर्षको इतिहासले होइन, नयाँ सोच, क्षमता र व्यवहारले मूल्यांकन गरिन थालेको छ । जनतालाई केवल घोषणामा होइन, कार्यान्वयनमा विश्वास छ । पुराना दलहरूले अहिलेसम्म जे गरे, त्यो पर्याप्त थिएन । अब उनीहरूलाई प्रतिस्पर्धी विचार र नेतृत्वसँग जुध्नुपर्नेछ ।
तर, वैकल्पिक शक्ति पनि केवल नाराबाट स्थापित हुँदैन । त्यसको आधारमा सिद्धान्त, दृष्टिकोण, योजना र जनतासँगको संवाद हुनुपर्छ । जनताले पनि विकल्पको नाममा केवल आकर्षक भाषण होइन, व्यावहारिक कार्यक्रम खोजिरहेका छन् । वैकल्पिक शक्ति सफल हुन सक्छ यदि उसले आत्मसमिक्षा गर्छ, जनताको समस्या बुझ्छ र व्यवहारिक समाधान दिन सक्छ भने । अन्यथा, त्यो पनि पुरानै जस्तै बन्न पुग्छ । इतिहासले देखाएको छ— जसले जनताको माया जित्यो, त्यसैलाई सत्ताले चुम्छ । तर, जसले त्यो माया गुमायो, त्यो क्षणभरमै बिर्सिन्छ ।
अन्ततः वैकल्पिक शक्ति कुनै एक दलको नाम होइन, त्यो परिवर्तनप्रतिको आकांक्षा हो । त्यो जनताकै चेतनाको प्रतिबिम्ब हो । अब सत्तामा बस्नेहरूलाई बुझ्न जरुरी छ— जनताको धैर्यको सीमा हुन्छ । आज होइन भने भोलि, परिवर्तन सुनिश्चित छ । त्यसैले, नेतृत्व अब विवेकशील, उत्तरदायी र जनमुखी बन्नुको विकल्प छैन । जनताले विकल्प खोज्न थालेको छ, यसको मतलब हो— पुरानाले अवसर गुमाइसके । वैकल्पिक शक्तिको खोजी अब केवल बहसको विषय होइन, यो परिवर्तनको संकेत हो ।