–भरत देवकोटा
नेपाल आमाको गर्भबाट समय समयमा युग प्रवर्तक महान् व्यक्तिहरूको जन्म भएको छ । त्यस्ता महान् मानवहरू मध्ये नेपाली आमाका एक प्रभावशाली, होनहार योद्धा, बहुआयामिक, जनताका प्रियतम प्रखर वक्ता नेपाली धरातल सुहाउँदो राजनीतिक कल्पना शक्ति भएका, सृजनशीलताले निपुण व्यक्तिहरूको सूचिमा सबैभन्दा श्रेष्ठ स्थानमा रहेका व्यक्तिलाई नै हामी जननेता भन्ने गर्दछौँ । त्यस्तै प्रथम व्यक्ति हुन् जननेता मदन भण्डारी, जो बाबु देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारी भण्डारीका कोखबाट वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको साबिकको ढुङ्गेसाँगु गा.वि.स.मा जन्मेका थिए । उनीले टुडिबोटे हिउँदे स्कुल र ठोट्ने प्राथमिक विद्यालय बरडाँडा ताप्लेजुङबाट आफ्नो औपचारिक शिक्षा सुरु गरी नि.मा.वि.भने तेम्बे मा.वि. ढुङ्गेसाँगुबाट पूरा गरे । भण्डारी मा.वि. स्तरको शिक्षा बालसुबोधनी संस्कृत माध्यमिक विद्यालय फुङलिङ्ग २ बाट पूरा गरेका थिए । सबैबिच फरक तथा मिलनको बिन्दु पहिचान गर्न सिपालु चञ्चल तर विलक्षण प्रतिभाका धनी जो थिए हामी तिनै व्यक्तिलाई जननेता मदन भण्डारी भनेर चिन्ने गर्दछौँ ।
जब नेपाली समाजमा जहानियाँ राणा शासनको समूल अन्त भई वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्रको उदय भयो, त्यसको ठिक २ वर्षपछि यस धर्तीमा भण्डारीको पदार्पण भएको थियो । उहाँले आफ्नो जीवनमा नेपाली राजनीतिमा राजपरिवार र राजनेता भनाउँदाबाट जनतामाथि कति अत्याचार थियो भन्ने अनुभूति राम्रोसँग गर्नुभयो । आन्तरिकरूपमा भइरहेको शोषणको संरचना र बाह्यरूपमा विस्तारवाद र साम्राज्यवादबाट भइरहेको हस्तक्षेपबाट उहाँ राम्रोसँग परिचित हुनुभयो । उहाँ सबै खालका विभेद, असमानता र शोषण अन्त्य नगरी जनता अधिकार सम्पन्न नहुने निष्कर्षमा पुग्नुभयो । नेपाली राजनीतिमा भण्डारीलाई प्रजातन्त्र वा लोकतन्त्र वा गणतन्त्रका पर्यायका रूपमा समेत चिन्दछौँ । किनकि उहाँ एक कोरा दर्शनका पक्षमा मात्रै होइन, जनता र जनताद्वारा जनताको लागि गरिने शासन व्यवस्थाको पक्षमा हुनुहुन्थ्यो । उहाँ लोककल्याणकारी अवधारणसहितको नयाँ जनवादी राज्यव्यवस्था पक्षमा हुनुहुन्थ्यो । नयाँ कम्युनिस्ट जनवादी सोचको खोजी गर्ने व्यक्तिको उहाँलाई लिन सकिन्छ ।
विशेषगरी २०२५/२६ पछिका विद्यार्थी राजनीति हुँदै झापा आन्दोलनलगायत २०३५ को मोरङको ईटहरा गाउँको भण्डारीकै घरमा नेकपा (माले)को घोषणा हुँदा उहाँ पार्टीको केन्द्रीय कमिटीमा आबद्ध हुनु भएको थियो । त्यसपछिका विभिन्न घटनाक्रमका साथै, २०३६ सालको जनमत संग्रहपछि मालेभित्रको नयाँ जनवादी सिद्धान्त अङ्गीकार गर्दै जनताको जनवादलाई अधिकतम लक्ष्य लिनुपर्छ र तत्कालीन कार्यनीति पञ्चायतलाई ढाल्ने किसिमको हुनुपर्छ अर्थात् वामपन्थी विरोधी शक्तिसँग मिलेरै भए पनि पञ्चायत ढाल्ने तर्फ लाग्नुभयो । उहाँले एकातिर पञ्चायतविरुद्ध र अर्कोतिर उग्र वामपन्थी धारका विरुद्ध आन्दोलन चलाउनुभएको थियो ।
वि.सं. २०३७ मा सशस्त्र सङ्घर्षभन्दा पार्टीले जनसंघर्षको कार्यनीतिलाई प्रधान बनाएर बहसको अगुवाइ चलाउनमा उहाँको मुख्य योगदान छ । जसले २०४१ मा मदन भण्डारी पोलिटब्युरोमा पुगेपछि २०४६ सालमा नेकपा माले बहुदलीय प्रतिस्पर्धाबाट अघि बढ्न सकिन्छ भन्ने निर्णयमा पुगेपछि चौथो महाधिवेशनले उहाँलाई नेतृत्वमा पुर्याएको पाइन्छ ।
जब नेकपा मालेको ५औँ महाधिवेशनबाट उहाँ महासचिवमा बन्नु भयो त्यसपछि उहाँको बौद्धिक, राजनीतिक, कार्यनीतिक विशिष्टता, आकर्षक व्यक्तित्व, सरल तथा उत्साही भाषा शैली र वाक प्रखरताको कारण उहाँलाई ह्वात्तै उचाइमा पु¥याएको पाउन सकिन्छ । प्रजातन्त्रको पुनस्र्थापनापछि वि.सं. २०४७ मा नेपाल अधिराज्यको संविधान बन्दा मालेको तर्फबाट विभिन्न २७ बटा बुँदासहितको आलोचनात्मक समर्थन सार्वजनिक रूपमा प्रस्तुत गर्दै समाधानका उपायहरू पनि पेस गर्नुभएको थियो । जुन वि.सं. २०६२–०६३ को आन्दोलनपछि हालसम्म पनि अत्यन्तै सान्दर्भिक छन् ।
उहाँले जनता र जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा सार्वभौमसत्ताको प्रयोग हुनेछ भन्नुहुन्थ्यो, अन्यथा सार्वभौमसत्ताको अधिकार घुमाउरो ढंगबाट राजाको हातमा पुग्छ भनी विचार प्रस्तुत गर्नुभएको थियो । सो कुराको पुस्ट्याइँ वि.सं. २०५९ असोज १८ गते राजा ज्ञानेन्द्र शाहले आफूमा निहित सार्वभौमसत्ताको दुरुपयोग गरे जसले गर्दा भण्डारीलाई दूरदर्शी नेता साबित गरायो । यस अर्थले पनि उहाँ आम जनताको माझ दूरगामी र दूरदर्शी नेता स्थापित गरायो ।
जननेता भण्डारीले २०४९ सालमा ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त ल्याउनु भएको थियो । विश्व कम्युनिस्ट आन्दोलनमा शान्तिपूर्ण परिवर्तनको अभ्यास नभएको सन्दर्भमा भण्डारीले समाधान देखाउनुभएको थियो । जुन नेपाली संस्करणको कम्युनिस्ट घोषणा पत्र पनि थियो । जसमा संविधानको सर्वोच्चता, बहुदलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धा प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष बहुदलीय पद्धतिको मूल तत्त्व थिए । जहाँ पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने, नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा विकास गर्ने, समाजवादी व्यवस्थाको लागि भौतिक तथा सांस्कृतिक तयारी गर्ने जस्ता विशेषता थिए । ‘जनताको बहुदलीय जनवाद’को सिद्धान्तमा विशेषगरी मिश्रित अर्थ प्रणाली, वैज्ञानिक तथा उन्नत कृषि प्रणाली, नेपालको उच्चतम हित संरक्षण हुने गरी व्यापार तथा पारवहन नीति, यातायात र सञ्चारलाई जनता र राष्ट्रको सेवामा केन्द्रित गर्ने, शिक्षालाई सर्वसुलभ बनाउने, स्वास्थ्य सेवालाई मौलिक अधिकारको रूपमा स्थापित गर्ने, विभिन्न खालका विभेद र असमानतालाई अन्त्य गर्ने जस्ता कुरा समेटिएका थिए ।
यसरी जननेता भण्डारीले कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण, बहुदलवादको पक्षपोषण, जनताको सर्वोच्चताको उच्च सम्मान, जनवादी राज्यसत्ताको लोकतान्त्रीकरण गर्ने, बहुदलीय प्रतिस्पर्धाको ग्यारेन्टी जस्ता कुरालाई सैद्धान्तिकरुपमै प्रष्ट्याउनु भएको थियो । उहाँले जबजमा परिवर्तनको लागि अधिकतम प्रयत्न शान्तिपूर्ण हुने कुराको प्रतिबद्धतासहित समाजवादी वा जनवादी जे सुकै परिवर्तन भए पनि बहुदलीय प्रतिस्पर्धाको श्रेष्ठताका आधारमा हुनेछ भन्ने मान्यता पनि स्थापित गर्नुभयो ।
यसैआधारमा नेकपा (एमाले)ले वि.सं. २०५४ सालको महाधिवेशनमार्फत जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्तको रूपमा स्विकार्दै वि.सं. २०५९ सालको ७औँ महाधिवेशनले पार्टीको कार्यक्रम र सिद्धान्तको रूपमा पुष्टि गर्दै त्यसबाट निर्देशित हुने निर्णय गरेको थियो । त्यस्तै, बुटवलमा भएको ८ औँ महाधिवेशनबाट जबजको रक्षा प्रयोग र विकास गर्ने कुरा घोषणा गरेको थियो । तथापि, जबजप्रति अघात समर्पण हुनेहरू र स्वामित्व ग्रहण गर्न चाहनेहरूले यसलाई एक अकाट्य मेसिनरी वा सिद्धान्तको रूपमा मान्दछन्, भने आफूलाई सिद्धहस्त कम्युनिस्ट विद्धान भन्नेहरूले नयाँ बोतलमा पुरानै रक्सी भनी आलोचना गर्ने गरेका छन् । यद्यपि, यो एक गतिशील र समाज रूपान्तरणको मार्गदर्शक सिद्धान्त हो ।
कम्युनिस्ट पार्टीमा सबै नेतृत्वहरू सिद्धान्तकार हुँदैनन्, जस्तो कम्युनिस्टको पहिलो घोषणा पत्र लेख्ने कार्ल माक्र्स कम्युनिस्ट नेता थिएनन्, तर दार्शनिक हुन् । लेनिन दार्शनिक होइनन्, तर माक्र्सवादी सिद्धान्तका अनुयायी मात्रै नभएर प्रयोगकर्ता हुन् । त्यही माक्र्सवाद पढेर लेनिनको संगत गरेको भए पनि जोसेफ स्टालिन कम्युनिस्ट शासक नभएर अधिनायकवादी शासक भए । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का अध्यक्ष माओत्सेतुङ्ग अनुदार माक्र्सवादी थिए । त्यस्तैगरी भिन्न नेता देङ स्याओ पिङ चिनियाँ आर्थिक क्रान्तिका नायक भए भने तत्कालीन माले÷एमालेका अन्य नेताहरू महासचिव र अध्यक्ष भए, तर सिद्धान्तकार भएनन् । तथापि उहाँहरूका विभिन्न नाउँमा कम्युनिस्ट सटरहरू चलेकै छन् । मसालहरू, एकता केन्द्र, माओवादी हुँदै ए.माओवादी केन्द्रसम्मको यात्रामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ महासचिव, अध्यक्ष हुँदै सुप्रिमोसमेत हुनु भयो । तर, सैद्वान्तिकरूपमा दीर्घकालीन रणनीतिक लक्ष्य विहीनता नै देखिनेछ भने कार्यनीति भन्दै अवसरवादको रसपान गरिरहनु भएको छ । यसरी हेर्दा, केही अपवाद बाहेकका विश्वका कम्युनिस्ट नेताहरूमा सत्ता बाहिर हुँदा जनवादी क्रान्ति, आदर्शवादी र सत्तासीन हुँदा शासक बन्दछन्, जसले कम्युनिस्टप्रति वितृष्णा नै पैदा गर्दै गएको पाइन्छ ।
माक्र्सवाद, लेनिनवाद, माओवाद वा अन्य जुनसुकै वाद भएता पनि हाम्रो नेपाली धरातल सुहाउँदो नभई रहेको सन्दर्भमा भण्डारीले ‘जुत्ता सानो भयो भनेर खुट्टा काट्ने होइन, खुट्टा अनुसारको जुत्ता बनाउनु पर्छ’ भन्ने सन्देश दिएर जानु भयो । भण्डारीले अरूको नक्कल गरेर हुँदैन भन्दै हाम्रो समाजका जनताको मूल्य मान्यतालाई सिद्धान्तमा रूपान्तरण गर्नुपर्छ भन्ने सन्देश दिनुभयो । उहाँले संघर्षको समयमा आश्रय दिने जनता, आमा बुवा, दाजुभाइ, दिदीबहिनीको मन दुखाउन हुँदैन र उहाँहरूले पुज्ने ठाउँ र दिशातिर खुट्टा नफर्काउनु र अपमानपूर्ण व्यवहार नगर्नु भन्नु हुन्थ्यो ।
देशलाई अर्धसामन्ती, अर्ध उपनिवेश र दासताबाट मुक्त गर्न सकिन्छ भन्ने मान्यतालाई लागू गर्नुपर्छ भन्ने धारणले गर्दा जबज नेपाली क्रान्तिको मौलिक सिद्धान्त बन्न पुगेको हो । प्रस्ट वैचारिक दृष्टिकोणसाथ समग्र जनताको विचारधारालाई आफ्नो सिद्धान्तमा रूपान्तरण गरी देश र समाजको आवश्यकताअनुरूप मौलिक राजनीतिक सैद्धान्तिक मोडालिटी विकास गर्नु भएको कारण भण्डारीलाई जननेता भनिन थालिएको हो । उहाँ नेपाली समाजको पूर्णरूपले रूपान्तरण गर्ने सोच बिचार र धरातलीय यथार्थतामा आधारित बहुआयामिक सृजनशील र उत्कृष्ट व्यक्तित्वको कारण उहाँलाई विभिन्न अन्तर्राष्ट्रिय व्यक्ति र पत्रपत्रिकाहरूले समेत ‘नेपाली कार्ल माक्र्स’ समेत भन्न चुकेनन् । वि.सं. २०४८ को चुनावमा काठमाडौं क्षेत्र नम्बर १ र ५ बाट निर्वाचित भएपश्चात् छापिएको अन्तरवार्ता अझै चर्चित छ र अमेरिकाको न्युज विक पत्रिकाले ‘ईन नेपाल, कार्ल माक्र्स लिभ्स’ भन्ने संज्ञा दिएको थियो ।
उहाँले राजधानीको सभालाई सम्बोधन गर्दा राजालाई ‘महाराज आँखा नचम्काई बक्सियोस्, हात नलम्काई बक्सियोस्, राजनीति गर्ने रहर छ भने श्रीपेच फुकालेर मैदानमा आए हुन्छ, मदन भण्डारी चुनाव लड्न तयार छ’ भन्नुभएको थियो । उहाँका यस्ता शब्दावलीका साथ भाषण गर्दा मानिसहरू धमाधम उहाँका मित्र बन्न थाले । उहाँका भाषण दीर्घकालीन महत्वको प्रभाव पैदा गर्ने खालका हुने गर्दथे । जसका कारण सबै खाले मानिसहरू पत्रकार, बुद्धिजीवी, कर्मचारीहरू र पक्ष विपक्षहरू साथै देशी विदेशीहरूले उत्साहका साथ सुनेर अनुयायी हुन्थे र उहाँ उपस्थित सभा सम्मेलनमा महासागर उर्लने गर्दथ्यो । उहाँको भाषण कला, मिठासपूर्ण र अनुप्रासयुक्त ठेट भाषा शैली, कठोर राजनीतिक शब्दावली, चर्को भाषणमा शालीन र सौम्य हुने हुनाले भाषणको जादु र मानिस जम्मा गर्ने मास नेता पनि हुनु हुन्थ्यो । उहाँले जनतालाई, आफ्ना सहयात्री र समकक्षीहरूलाई आफ्नो सहारा र प्राण ठान्नु हुन्थ्यो । तर, पनि मिति २०५० साल ज्येष्ठ ३ गते चितवनको दास ढुंगामा दुर्घटनामा परी उहाँको असामयिक निधन भयो । जुन घटना हालसम्म पनि रहस्यमै छ ।
विशेषगरी हामी सबै युवाहरूले उहाँलाई नेपाली लोकतान्त्रिक कम्युनिस्ट क्रान्तिका नायक नेतृत्वकारी विचारक, समकालीन अन्तर्राष्ट्रिय बाम आन्दोलनको नविनतम् संघीय लोकतान्त्रिक गणतन्त्रका परिकल्पनाकारको रूपमा चिन्दछौँ । भण्डारीले जननिर्वाचित प्रतिनिधिमूलक शासन व्यवस्थालाई जुन महत्वका साथ अगाडी सर्नुभयो अहिले सबै कम्युनिस्टहरूले बहुदलीय प्रतिस्पर्धासहितको जनवादकै पक्षपोषण गर्नु र त्यही अभ्यासलाई राज्य शक्ति प्राप्तिको साधन र साध्य मान्दै दक्षिणपन्थी र बुर्जुवा उदारवादका हिमायतीहरू समेत अन्तमा लोककल्याणकारी गणतन्त्रात्मक समाजवादको पक्षमा देखिनु, उग्र वामपन्थी भड्काव शक्तिलाई लोकतान्त्रिक मार्गमा समाहित हुनुले उहाँले प्रतिपादन गर्नु भएको सिद्धान्तको सत्यता र सान्दर्भिकताको पुष्टि हुन्छ ।
(देवकोटा दुग्ध विकास संस्थानमा कार्यरत छन् ।)