२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

कम्युनिष्ट आन्दोलन किन कमजोर ?

shivam cement
२०८२ असार ११ गते ०६:००
कम्युनिष्ट आन्दोलन किन कमजोर ?

–नारायण शर्मा

नेपाल मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनमै एउटा महारोग रहिआएको छ । यो महारोग महासंक्रामक रोग पनि हो । कुनै वस्तु, व्यक्ति वा घटनाको विकास वा विनाशको मुख्य कारण आन्तरिक अर्थात् आफैभित्र अन्तर्निहित विचार, विशेषता वा गुण वा दोष नै हुन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादी दर्शन र सिद्धान्तको चुरो कुरो हो । यसलाई व्याख्या, विश्लेषण, बखान, बयान, बकवास, बुद्धि विलास, वक्तव्यबाजी र बात बहादुरी गर्दै पण्डित्याइँ छाँटेर बोल्न, लेख्न, अर्ती उपदेश दिन, भीषण–भाषण गर्न र दस्तावेजीकरण गर्नमा उनीहरूले विशारद र महारथ नै प्राप्त गरेझैँ गर्दछन् । 

विडम्बना, उनीहरू आफ्नो त्यो बुझाई वा बोलीलाई व्यवहारमा अवलम्बन र कार्यान्वयन गर्नमा कति कमजोर, कायर र कपटी छन् भन्ने कुरा भनी साध्य छैन । उनीहरू यति पूर्वाग्रही, प्रतिशोध र निषेधात्मक छन् कि उनीहरूका लागि चाकरी, चाप्लुसी, चुक्ली, चटनी, चम्चागिरी जस्ता चकारजन्य चतु¥याइँ नगर्ने, उनीहरूको अनावश्यक पूजा–प्रशंसा नगर्ने र उनीहरूलाई पैसा–पाहुरको पोको पनि नचढाउने अन्य पर र तलका त के कुरा आफ्नै पार्टीका उपल्लै कमिटीका क्रान्तिकारी कम्युनिष्ट नेताहरूलाई नै नजिकमा राख्न त के टाढाबाट देख्न समेत सक्दैनन् । 

उनीहरूका यसप्रकारका गल्ती–कमजोरी र असक्षमता–असफलताहरूको आवश्यकताअनुसार आलोचना गर्ने सचेत, सरल, स्वच्छ, स्वाभिमानी, सदाचारी, स्वविवेकी, श्रमजीवी, साहसी, संघर्षशील र सच्चा सहकर्मीहरूलाई त यी महारथीहरूले फुटेको आँखाले पनि देखिसहँदैनन् । यो आत्मरतिजन्य रोगको फलस्वरूप उनीहरू यति अन्धा, असहिष्णु र अन्यायी भएका छन् कि यसले गर्दा नै उनीहरूको आफ्नो अस्तित्व सँगसँगै क्रान्तिकारी पार्टी र आन्दोलन नै चरम संकटमा परेको छ । यति मात्र होइन उनीहरूका यिनै र यस्तै गैरमाक्र्सवादी, अद्वन्द्ववादी र गैरसर्वहारावादी संकीर्ण, स्वार्थी व्यक्तिवादी र महत्वाकांक्षी चिन्तन र चरित्र अर्थात् सोच, शैली, संस्कार र संस्कृतिजस्ता गलत विचार र आचारले कम्युनिष्ट आन्दोलन क्षतविक्षत छ । यद्यपि, यसमा प्रतिक्रियावादी र संशोधनवादीहरूको भूमिका ठुलै छ तथापि, त्यो बाह्य भूमिका र कारण सहायक नै हो । 

आज नेपाल मात्रै होइन, विश्वबाटै क्रान्तिकारी कम्युनिष्ट पार्टी र आन्दोलन विघटनको संघारमा छ । आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा मात्र होइन; आर्थिक, सामाजिक र सांस्कृतिक रूपमै विचलन, विभाजन, विघटन र विसर्जनको अवस्थामा पुगेको छ । यो अवस्थामा पुग्नुको मूल कारण क्रान्तिकारीहरूकै विचार र आचारगत कमीकमजोरीले हो । तर, यसमा निर्मम समीक्षा हुन सकेको छैन । 

यस्तो गर्न नसक्नुको परिणामस्वरूप यस्तोसम्म भएको छ कि आज यसप्रकारको पार्टी र आन्दोलनलाई पुनर्जीवन दिँदै पुनर्गठन, पुनर्संस्कार र पुनर्निर्माण गर्न लागेकाहरू पनि हरपल हरेक हैरानी खेप्नु परेको दुःखद अवस्था छ । इतिहासमा क्रान्तिकारीको रूपमा आफ्नो नाम क्रान्तिकारी काम गरेर होइन कुरा गरेर लेखाउने लालसाबाट लालायित यी नेपालका लालहरूका विगतदेखि वर्तमानसम्मका अर्थात् पुष्पलाल र झापा विद्रोहीदेखि हालका क्रान्तिकारी कम्युनिष्ट पार्टी र आन्दोलन पुनर्गठन अभियानका वास्तविक बाल विद्रोही भुईँ अभियन्ताहरूमाथि यी र यस्ता प्रकारका उपेक्षा, आलोचना, अवहेलना र निषेध गरिनु स्वाभाविकै हो । 

यसबाट आश्चर्यचकित, दुखित र द्रवित हुने कुरै होइन । बरु पूरा जोस, होसका साथ आक्रोशित र आक्रामक ढङ्गले आफ्नो क्रान्तिकारी पार्टी र आन्दोलनको पुनर्गठन गर्दै निर्णायक विजयको आन्दोलनको आँधीबेहरी ल्याउने जिम्मेवारी पूरा गर्नमा लागि परौँ ! अन्ततः हाम्रो जीवनकालमा नभए पनि हाम्रा सन्ततिको कालसम्ममा त सबैको सही समीक्षा हुने छ अनि सत्य, न्याय, समानता र क्रान्तिकै पक्षमा उभिने, लड्ने र बढ्नेहरूकै जीत हुनेछ ।

(लेखक शर्मा, वामपन्थी नेता हुन् ।)

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise