२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

बिजुली र नेपालमा चलचित्र

ADV
२०८१ कार्तिक ४ गते ०६:२५
बिजुली र नेपालमा चलचित्र

–विजयरत्न तुलाधर

संसारमा २५० वर्ष पहिलेदेखि बिजुुली प्रयोगमा ल्याउन थालिएको पाइन्छ । बेन्जामिन फ्रैंकलिनले सन् १७५२ गरेको खोज सफल भएसँगै विश्वले बिजुुलीलाई उपयोग गर्ने अवस्था बनेको थियो । जसले विश्वलाई औद्योगिकरूपमा नयाँ युगमा पनि प्रवेश गरायो । समाजको बढ्दो आवश्यकताहरू पूरा गर्न कसरी बिजुली प्रयोग गर्न सकन्छि भन्ने निरन्तर खोज भइरह्यो । बिजुलीको सञ्चार चीमको माध्यमबाट भएको पाइन्छ । चीम भएकोले गर्दा हामीले बिजुलीको उज्यालोमा बस्न पाएका छौं । मानिसको लागि यस्तो उपयोगी बस्तु चीमको आविष्कार आजभन्दा १२६ वर्षपहिले अमेरिकामा भएको हो । त्यसको आविष्कार चाहिँ प्रसिद्ध वैज्ञानिक थोमस अल्वा एडिसनले गरेका हुन् । चीमको आविष्कारसँगसँगै संसारमा चलचित्रको पनि प्रादुर्भाव भनौं वा आविष्कार पनि भयो । यो सन् १८९५ को कुरा हो । 

विश्वमा सर्वप्रथम चलचित्रको जन्म सन् १८९५ मा फ्रान्सका दुई दाजुभाइहरू जर्ज लुमिएर र लुइ लुमिएरले गरेका थिए भने त्यतिबेला नेपालमा जहानियाँ राणा शासन थियो । जसका कारण संसारमा सर्वप्रथम चलचित्रको आम प्रदर्शन भएको ६५ वर्षसम्म नेपालमा चलचित्र निर्माण हुन नसकेको अवस्थामा रह्यो । नेपालमा वि.सं १९६८ मा राणा प्रधानमन्त्री चन्द्र शमशेर बेलायतको भ्रमण सकेर फर्किएपछि पहिलो पटक बिजुली उत्पादन भएको हो भनिन्छ । उनै चन्द्र शमशेरको प्रयासमा फर्पिङ्गमा चन्द्र ज्योति बिजुली कारखाना खोलिएको थियो । 

संसारमा बिजुलीको चलन व्यापकरूपमा चलिसकेपछि चलचित्रहरू पनि धमाधम बन्न थाले । त्यही क्रममा सन् १९५१ अर्थात् विक्रम सम्वत् २००७ मा नेपाली भाषामा पहिलो पटक चलचित्र बन्यो । उक्त चलचित्र पनि नेपालमा नभई भारतको पश्चिम बङ्गालको कलकत्तामा निर्माण गरिएको थियो । नेपालमा त त्यसको पन्ध्र वर्षपछि अर्थात् वि.सं. २०२२ सालमा तत्कालिन राजा महेन्द्रले भारतमा भेटेका चलचित्रकर्मी हिरा सिंहलाई नेपाल बोलाएर चलचित्र बनाउन लगाएका थिए । उसो त हिरा सिंहले वि.सं. २०१८ साल मै नेपाल आएर राजा महेन्द्रको जन्मोत्सवसम्बन्धी वृत्तचित्र पनि बनाएका थिए । तर, २०२२ सालमा तत्कालिन सरकारको प्रयासमा ‘आमा’ चलचित्र बनाएदेखि मात्र नेपालमा चलचित्र निर्माण कार्यको प्रारम्भ भएको हो । वि.सं. २००७ सालमा भारतमा बनेको नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ हो भने त्यसको १५ वर्षपछि २०२२ सालमा नेपालमा नै निर्माण भएको पहिलो नेपाली चलचित्र ‘आमा’ हो ।

तथ्यहरूलाई हेर्दा, नेपालमा चलचित्र निर्माण कार्य २०२२ सालबाट मात्र सुरु भएपनि विदेशी भाषाका चलचित्रहरूको प्रदर्शनी भने त्योभन्दा अगावै भइसकेको पाइन्छ । वि.सं. १९५८ साल बैशाख २४ गते सोमवारदेखि देशमा प्रकाशित ‘गोरखापत्र’को प्रकाशन आरम्भ भयो भने गोरखापत्रको पहिलो अंकमा ‘टुडिखेलमा तमाशा’ शीर्षक दिई बैशाख २६ गते बुधवार साँझ टुँडिखेलमा चलचित्र हेर्न आउनु भन्ने बिज्ञापन रूपी सूचना छापिएको थियो । तत्कालिन राणा प्रधानमन्त्री देवशमशेरको शासनकाल उनी र उनकी श्रीमतीको सिन्दूर–जात्रा क्रममा उक्त दिन सर्वसाधारणलाई निःशुल्क चलचित्र देखाइएको कुरा इतिहासविद्हरू बताउँछन् । यस अर्थमा यही मितिलाई नेपालमा सर्वसाधारणका लागि निःशुल्क पहिलो पटक चलचित्र प्रदर्शनी भएको दिनका रूपमा लिने गरिएको छ । यद्यपि, राजारानी, राणा प्रधानमन्त्री र उनीहरूको परिवार, नातेदारहरू, भाइ भारदार एवम् दरबारीयाहरूले त्यसअघि नै चलचित्र हेर्थे भन्ने कुरा नकार्न सकिँदैन । 

‘गोरखापत्र’मा प्रकाशित विज्ञापनको व्यहोरा यस्तो थियो– श्री ३ महाराजबाट बेदाम्मा दुनियाहरूले हेर्न पाउन भनी टुडिखेलमा प्रोजेक्टास्कोप् अर्थात् मानिसले चलफिर गर्येको सब काम तसवीरबाट सोही बमोजीम दुरूस्त देखिन्या तमासा वैशाख गते २६ बुधवारदेखि हुनेछ । सो तमाशा हेर्नलाई अगाडि केटाकेटिहरू, ताहाँपछि नीज केटा केटीहरूका आमाहरू, वाहाँपछि लोग्ने मानिस हरू वाहाँ पछि वग्गीमा आउनेहरू अरू लाई नछेकने गरी रहने छन् ।

यस्तै, त्यसको ३२ वर्षपछि हलभित्र चलचित्र प्रदर्शन गरिएको अर्को एक तथ्य पनि भेटिन्छ । प्रधानमन्त्री जुद्ध शमशेरको शासनकालमा वि.सं. १९९० साल भाद्र १७ गते शुक्रवारका दिन सिंहदरबार स्थित तत्कालीन नाचघरमा अंग्रेजी र हिन्दीसमेत गरी जम्मा चार वटा चलचित्रहरू प्रदर्शन गरिएका थिए । ती चलचित्रहरू कुञ्जर शमशेरद्वारा विदेशबाट झिकाई उनकै आयोजकत्वमा सरकारी स्तरमा प्रदर्शन गरिएका थिए । त्यसपछि राजा र राणाका दरबारमा वर्षमा झन्डै १५÷२० वटा जति विदेशी चलचित्रहरू प्रदर्शित हुने कुरा इतिहासविद् डा. हेमन्त शम्शेर राणाद्वारा प्रस्तुत गरिएको ‘जनरल नर शम्शेर जंगबहादुर राणाको जीवनी’ नामक पुस्तकको पृष्ठ ११० मा उल्लेख गरिएको छ ।

यसरी नेपालमा बिजुली बत्तीको उत्पादनसँगसँगै चलचित्र यात्राको पनि प्रारम्भ भएको देखिन्छ । चलचित्र प्रदर्शन गर्न बिजुली अनिवार्य साधन बनेको थियो । वि.सं. २००६ सालतिर काठमाडौंको नयाँ सडकमा काठमाडौं सिनेमा घर खोलियो पछि यस सिनेमा घरको जनसेवा हल नामाकरण गरियो । यो हल वि.सं. २०१८ सालमा आगलागिमा परेर नष्ट हुन पुग्यो । अहिले त्यो स्थानमा विशालबजार नामक व्यापारी भवन रहेको छ । वि.सं. २०११ सालपछि बिजुलीको प्रचलन बढ्दै गएपछि काठमाडौं जस्तो शहरमामात्र नभइ देशका अरु शहर र गाउँहरूमा पनि सिनेमा घरहरू बन्न थाले । सिनेमा हलहरू बन्न नसकेका ठाउँहरूमा बिजुली बत्तीको सहारा लिएर घुम्ती हलहरू पनि खोलेर चलचित्र देखाएको इतिहास छ । अहिले पनि कतैकतै घुम्ती सिनेमा घरको माध्यमबाट चलचित्र प्रदर्शन हुने गरेको पाइन्छ । यसरी हेर्दा, नेपालमा चलचित्रको विकासमा बिजुली बत्तीको ठूलो भूमिका रहेको प्रष्टै देख्न सकिन्छ । 

(तुलाधर, बरिष्ठ रंगपत्रकार हुन् ।)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise