–सीता ओझा
आदिमकालदेखि नै पौरस्त्य सभ्यताले विकास गरेको समाजमा महिला र पुरुषको विवाहको धारणा, सम्बन्ध र कामको परिभाषा फरक गरेको पाइन्छ । वर्तमान सन्दर्भमा लैङ्गिक समानता र सामाजिक न्यायको दृष्टिकोणबाट विभेदहरूको चिरफार र समानताको आधार तयार गर्न शल्यक्रिया गर्न प्रयत्न भइरहेको छ । यस्ता प्रकृतिका भेदभावपूर्ण सामाजिक असजिलाहरू परिवार बचाउने नाममा राज्य, परिवार र निजी स्वामित्वको व्यवस्थाअघिदेखि नै महिलाको विरुद्ध÷अहितमा थिए भन्ने पुष्टि भइसकेको छ । यस्ता विभेदकारी कार्यहरू परिवार र राज्यको उत्पत्ति र निजी स्वामित्वको विकासपछि अधिक मात्रामा बढेको भेटिन्छ ।
परम्परागत मान्यताको विरुद्ध अग्रगमनको मान्यताको बीजारोपण गर्नेहरूले पनि सामाजिक रूपान्तरणका यस्ता विषयहरूलाई प्राथमिकतामा राखेर, भएका भिन्नता र असमानताका विषयमा चर्चा÷बहस गरेको विषय खास भेटिएको छैन । यसरी परम्परागतरूपमा सुरुवात भएका, तर वैज्ञानिक आधार नभएका, सामाजिक विधि र रीतिहरूका बारेमा रूपान्तरित हुने विषयमा ठोसरूपमा कार्यक्रम बनाएर कसैले बोलेका छैनन् । अनौपचारिकरूपमा एकाधले बोलेकाहरूको पनि ठोस कार्यक्रम, निरन्तरता र परिवर्तन नहुन्जेल गर्ने प्रयत्न गरेको पनि भेटिएको छैन । कुनै एउटा विषयमा कुनै एक दिन, कुनै संघसंस्थाले निम्त्याएर यातायातको नाममा थोरै सहुलियत प्रदान गरेको अवस्थामा विचार राख्ने अवसर मिल्नेको बेला या राष्ट्रिय अन्तर्राष्ट्रिय परियोजना पाएर परियोजना रहुन्जेल मिल्दासम्म लेख्ने र बोल्ने बाहेक बनेका नीति कार्यान्वयनमा खास चासो देखिन्न । त्यस्तै, रूपान्तरणका विषयमा देखिएका समस्याका विषयमा नीतिगत रूपमा देखिएको खालीपन पूर्ति गर्ने विषयमा चाहिँ खासै चिन्ता गरेको पनि पाइएको छैन ।
अधिकांश मानिसहरूको स्वभावसँग कसैले बोलेको कुराको आधारमा आकर्षित भएर या बसेको बानी र व्यवहारमा परिवर्तन गर्न नसकेको जस्तो गरेर पनि सामाजिक अपराधमा संलग्न भएका र हुने गरेका थुप्रै घटनाहरू पढ्ने र सुन्ने गरेका छौँ । हाम्रो बानीमा भएको अर्घेलोका कारण मानिसले आफ्नो मान्यता र रुग्णता सितिमिति त्याग्न सक्दैन साथै आफ्ना सोंचमा भएको रुग्णताको पहिचान गर्न पनि खोज्दैन । यस्ता व्यवहारको त्याग नगरी परिवर्तन या रूपान्तरण सम्भव छैन । यसरी व्यवहारमा परिवर्तन गर्नुपर्ने अवस्था आएमा मानिसले आफैँ कमजोर भएको महसुस गर्नु या पछाडि पारिएको ठान्ने परम्परागत सोच रहेसम्म पक्ष र विपक्षको रूपमा विभेद या अन्यायमा भइरहन्छ । यस्ता कुराको हेक्का, सबलहरूले पटकै थाहा पाउँदैनन् । विवेक नै शून्य भएकाले हो या हुँदै नभएर हो, हामी धेरैले यस्ता व्यवहारको बेवास्ता गरिरहेका हुन्छौ ।
आम नागरिकलाई कानूनले यस्ता विभेदकारी व्यवहार सहन बाध्यकारी बनाएको त छैन तर, सहनेले घर बनाउन, परिवारको इज्जत जोगाउन या विद्रोह गर्न नजानेर अथवा नसकेर निरीहताको कारण सहन बाध्य भएको हुनसक्छ । कतिपय बेला आफ्नो अस्तित्व रक्षाको लागि पनि सहनु पर्ने बाध्यता सिर्जना भएको हुनसक्छ । परिवारमा या समाजमा बाँच्नका लागि उसले ती कुरा सहन गर्ने बाहेक अन्य उपाय नै नभएको अवस्था पनि त हुनसक्छ । नसहे या फरक विचार राख्न थाले परिवार र नाता सम्बन्ध भित्रबाट पनि एक्लै पारिन्छ, निषेध गरिन्छ र व्यक्तिलाई नै खराब बनाइन्छ । न्याय र समानताको सट्टा मिल्ने मिलाउने नाममा विद्रोह गर्नेलाई बहिष्कार या अन्यायपूर्ण व्यवहारले थामथुम पारिन्छ । घरपरिवारमा हुने र गरिने यस्ता प्रचलनहरू अहिले नेपालमा कार्यरत राजनीतिक दल र दलीय संरचनामा फरक विचार र मत राख्नेहरूप्रति लक्षित व्यवहार र बहिष्करणका समाचार बनेका थुप्रै उदाहरण प्रशस्तै देखे सुनेकै छौँ ।
वर्तमान पारिवारिक संरचना र व्यवहारलाई केलाउने हो भने एकल महिलाको अवस्था कस्तो रहेको छ ? कस्ता–कस्ता महिला एकल भनिन्छन् ? जस्ता प्रश्नहरूमा सचेत हुनुपर्ने समुदाय कति प्रतिशत छ ? जस्ता विषयहरूको सरोकार राख्नु पनि महत्वपूर्ण सामाजिक पक्ष हो । पारिवारिक संरचनाभित्र एकल महिलाहरूको परिचय, स्थान, भूमिका र पहिचानको अवस्था संविधान र कानुनले व्याख्या गरेअनुसार छ त ? निश्चय पनि यसको जवाफ छैन अर्थात् महिलाले आश्रित, संरक्षित, दया र निगाहमा मात्रै बाच्ने अवस्था छ भन्ने आधार प्रशस्तै भेटिन्छन् । चेतना र शिक्षाको हिसाबले पहिलेभन्दा अहिलेको समय थोरै बदलिएको छ । समयले प्रविधि भित्र्याउँदा सूचना र सञ्चारले प्रशस्तै ठाउँ पाएको छ । विश्वव्यापीकरणको कारण राजनीति र राज्यका कानुनहरू निकै बदलिएको अवस्था छ । समाज र परिवारमा थोरै खुलापन आएको छ । तर, महिला र पुरुषबिच सभ्यताको विकाससँगै कोरिदिएको भिन्नताको सीमारेखा हेर्दा बदलाव देखिए पनि खासै दृष्टिकोणमा रूपान्तरण आएको देखिन्न । पहिले र अहिले सामाजिक आर्थिक क्रियाकलापको रूप बदलियो तर व्यवहार विभेदकारी नै छ ।
विश्वका दार्शनिकहरूले अहिलेसम्म भिन्न–भिन्न रूपमा सिद्धान्तको केवल व्याख्या मात्रै गरे, प्रतिपादित सिद्धान्तको प्रमुख विषयलाई व्यवहारिक बनाउन सिफारिस मात्रै गरे । मानिसको व्यवहारिक जीवनको परिवर्तन गराउने पक्षमा खास भूमिका देखिन्न । अहिलेसम्मका परिवर्तनले त्यो व्यवहारमा खास बदलाव देखाउन सकेन । परिवर्तनको लागि भएका आन्दोलनहरू सकिएको केही समयपछि बिस्तारै आन्दोलनकारीहरूमा नै यथास्थितिवादी सोचहरू भित्रभित्रै औँसा पारिरहेको भेटियो । त्यस्ता व्यवहारले कमजोर झन् कमजोर हुन्छ, बलियोले सधैँ निर्धोलाई खेद्छ । हाम्रो पारिवारिक संरचनामा अहिले पनि बोल्दा र व्यवहार गर्दा फरक नै गरिनेछन् । पारिवारिक शक्ति र मर्यादामा रहेकाले अरूलाई प्रायः हेपिरहेकै देखिन्छ । त्यसरी गरिएको वर र परको व्यवहार हटाउने कहिले होला ? भन्ने प्रश्न र उत्तर दुवै आफैँले खोज्नु पर्ने हो कि ! जस्तो लाग्छ ।
एउटै रक्त सम्बन्धका छोरा र छोरीबिचमा आमाबाबुले गर्ने गरेको या रहेको विभेद होस् या फरक रक्त सम्बन्धभित्र गाँसिएको ज्वाइँ र छोरीबिचको नाता, सम्बन्धमा नै किन नहोस्, स्वयम् जन्माउनेले नै महिलालाई नै अन्यायमा पारिरहेका हुन्छौँ । गाँसिएको नाता र रगतको नाता छोरी र बुहारीबिच पनि हामीले व्यवहारमै भिन्नताहरू गर्ने गरेका छौँ । रक्त सम्बन्धभित्र गरिने र हुने यस्ता व्यवहारगत विभेदहरू निकै निन्दनीय र निकृष्ट प्रकृतिका छन् । अझै पनि हामी परिवार बनाउने नाममा यस्ता भेदहरू गर्दैछौं । मौन या चुपचाप सहन गर्नपर्छ भन्ने संस्कृतिको नाममा कमजोरलाई ठगिरहेका छौँ ।
अझै पनि छोराछोरीको विवाह घर धान्न र व्यवहारबाट फुर्सद पाउनका लागि गर्छौँ । यस्तो प्रचलनले घरभित्र पति–पत्नीबिच हुने र गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने देखिन्छ । सुधार नगर्दा पारिवारिक जिम्मेवारी र बोझ महिलामा नयाँ महिला पर्न जान्छ र पारिवारिक किचलो सुरु हुन्छ । परिवारका सबै सदस्य जोडी नभएको पनि हुन सक्छन् । यस्तो बेला परिवारमा एकल भएको व्यक्तिलाई सहयोग र समर्थन गर्ने सदस्य नभेटिन हुनसक्छ र व्यवहारले थिच्ने गर्छ । विषेशगरी यस्तो समस्या एकल भएको महिलामा बढी पर्न जान्छ ।
अहिलेसम्म हाम्रो समाजले महिला एकल बस्नु सामाजिक अपराध जस्तै ठान्ने गर्दछ । एकल बसेपछि मातापितालगायत घरको सम्पूर्ण पक्षको हेरचाह एकलले गर्नुपर्छ भन्ने मान्यता जोड्ने गरिन्छ । अविवाहित छोरी एक्लै बस्ने हकै हुन्न झैँ गरी निगरानी र कटाक्ष गर्ने प्रचलन सर्वत्र छ । साथै, जघन्य सामाजिक अपराध नै गरे झैँ घर, परिवार, नाता, सम्बन्धभित्रबाटै हेपाइ र दुर्वचन सहन गर्नुपर्ने अवस्थाहरू प्रशस्तै छन् । यस्ता व्यवहार संविधान विरोधी, कानुन हातमा लिने र मानवअधिकार विरोधी गतिविधिहरू हुन् । तर, हामी सामाजिक अगुवाले बोल्न सकिरहेका छैनौँ । सक्दैनौ । उनीहरूको सम्पत्तिको हक, मौलिक हक, स्वतन्त्रताको हक हो भनेर मुख खोल्न नसकेकै कारण समाजमा महिलामाथि प्रशस्तै हिंसा भएका घटना पनि देखेका छौँ ।
अविवाहित होस् या डिभोर्सी या विधवा, व्यक्तिले विवाह गर्नु या नगर्नु व्यक्तिकै स्वतन्त्रताको कुरा हो । विवाह सामाजिक आवश्यकता हो, तर हाम्रो समाजभित्र यस्ता कुरामा व्यक्तिलाई बाध्यता पारिन्छ । बाध्यात्मक बनाउने कुरा मानवअधिकार विरोधी कुरा हो । कतिपय बेलामा हामी मानिसलाई बाध्य पारेर जबरजस्त विवाह गराउँछौँ । विवाहपछि पारिवारिक संरचनामा हुने फेरबदल र थप योजनाका बारेमा सोच्दैनौँ । परिवार चलाउने कुरामा हाम्रो कुनै योजना छैन, हुन्न । चल्तीको गाडी जस्तो परिकल्पनाले थपिएको सदस्यलाई अमैत्री वातावरण बन्छ । यस्तो सोच्न बनाउने सिकाइ हामीले पाएकै छैनौँ । थपिएको सदस्यसँगको पारिवारिक अपेक्षा यसले पु¥याउने क्षमता उसले राख्नुपर्ने हो या होइन सोच्दैनौँ । उसको दायित्वमा पर्छ भने उसले त्यो क्षमता राख्छ या राख्दैन विश्लेषण नै गर्दैनौं । यथार्थ नहेरी अपेक्षित व्यवहार पुरा गराउनेतिर लाग्छौ । विचारको भिन्नता यहीँबाट सुरु–सुरु हुन्छ र अन्तर्विरोध जन्मन्छ । अन्तर्विरोधको व्यवस्थावनका लागि समस्याको पहिचान, समस्याको सम्बोधन, मैत्रीपूर्ण व्यवहार र आयस्रोतको पारदर्शिता र श्रोतको पहिचान र वितरण प्रणालीमा सामाजिक न्यायको व्यवहार नै पहिलो आवश्यकता हुनपर्छ भन्ने हेक्का नभएको या नबनाएको कारण पारिवारिक कलह वा तनाव झन् बढ्छ । त्यसपछि परिवारभित्र हरेक मानिसमा तनाव सिर्जना भई मनोसामाजिक समस्यामा पर्ने, आर्थिक सामाजिक व्यवस्थापनको लागि घर छोड्ने, छुटिने, विदेसिने खतरा बढ्छ । यो अवस्था नै सामाजिक, आर्थिक अस्वस्थता हो । यस्तो अवस्थाका कारण महिला या पुरुष एकल हुनसक्छ । यस्तो अवस्थामा एकल भएको महिला नै असुरक्षित र जोखिममा पर्छ ।
परिवारभित्र पतिको सबैसँग पहिलो नाता हुन्छ । व्यवस्थापन पनि उनैले नै गर्ने हो । तर हाम्रो समाजले घरभित्र (पकाउने, पस्कने आदि) को व्यवस्थापनमा पुरुषको कुनै दायित्व नबनाइदिएकै कारण अनेकौँ समस्याहरू सिर्जना भएका छन् । यस्ता समस्या पुरुषको हुर्काईमा भएको जटिलताको कारण पनि महिला सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्थामा पुग्छन् र एकल बन्नुपर्ने बाध्यता देखिन्छ । पृष्ठभूमिका अनेकौँ अपमानलाई गौण बनाएर पुनः महिलालाई नै अनेकौँ आरोप लगाएर अपराधी बनाउने र हेप्ने प्रचलन विवाहित तर, सम्बन्ध विच्छेद गरेका एकलहरूले व्यहोर्नुपर्ने बाध्यता पनि कम छैनन् । त्यस्तै, सम्बन्धमा बेमेल भएको कारण, तेस्रो लिङ्गीय पहिचान भएको कारण, विवाह नगरी बसेको कारण व्यहोर्नुपर्ने आर्थिक–सामाजिक र सांस्कृतिक विभेदकारी व्यवहारको त परिवार कति छन् कति !
अहिले पनि महिलाको होस् या पुरुषको विवाह नगर्नु या नहुनुलाई त्यो व्यक्तिको अथवा परिवारको समस्या ठानिन्छ र अपराध मानिन्छ । अपराधी ठानिने मात्रै होइन, चरित्रमा दोष लगाउने, चोर, बोक्सीको शंका गर्दै मलमूत्र खुवाउने, कुटपिट गर्ने, छिछि र दुरदुर गर्ने अवस्था छ । विडम्बना भन्नुपर्छ, साथ सहयोगमा उभिने व्यक्ति घरपरिवारमा भेटिन्न । यसरी समुदायबाट अलग गर्ने, उसको आर्थिक, सामाजिक हकबाट नै वञ्चित गराउने गरिरहँदा नाता, सम्बन्ध र जननिर्वाचित प्रतिनिधिहरू पनि रक्त सम्बन्धको पक्षमा लागेर महिलालाई एक्लाएका सयौँ घटना छन् । यस्ता अपराधको बर्खिलापमा बोल्नेभन्दा उल्टै दङ्ग पर्ने गर्छौँ, किन ? त्यस्तै परिवारमा अविवाहित या अन्य एकल महिला देखेपछि जल्दा बल्दा अन्य सदस्यहरूले ज्येष्ठ नागरिकको संरक्षणमा जिम्मा लगाउने र आफू पन्छिने प्रचलन पनि प्रशस्तै देखिन्छन् । यसरी पन्छाउने कुराले परिवारभित्र बल र शक्तिमा हुनेले सामाजिक न्याय गरेको ठहर गर्छ र ? एकल हुनु या बस्नुको अर्थ उसको वैयक्तिक स्वतन्त्रताको हरण या तिलाञ्जलि दिनु हो र ! यस्ता विषयमा हाम्रा कानुनहरू अझै किन मौन छन् ?
अविवाहित या एकल भएका कारणले व्यक्तिको सामाजिक मान मर्दन हुनु या गर्नु सामाजिक अपराध हो । नेपालको संविधानको भाग तीन धारा १६ र १७ ले भएको व्यवस्थालाई कसरी सम्बोधन कसरी ? महिला एकल हुनु, विवाह नगर्नु, विधवा हुनु, सम्बन्ध विच्छेद गर्नु, तेस्रो लिङ्गी हुनु, सम्बन्ध बिग्रिएको कारण एक्लै बस्नु सामाजिक अपराध होइन । विवाह वैयक्तिक कुरा हो सामाजिक आवश्यकता भनेर बाध्य पार्नु राम्रो होइन । व्यक्तिको पारिवारिक हकको उपभोग गर्ने विषय, सांस्कृतिक, धार्मिक, सामाजिक र आर्थिक क्रियाकलापलाई व्यक्तिगत र सरल तरीकाले बुझ्ने प्रचलनको विकास गरौँ अनि मात्रै पारिवारिक सम्बन्धको जुइनो बलियो हुन्छ र सद्भाव कायम भई मैत्रीपूर्ण परिवारको कल्पना गर्न सकिन्छ ।