काठमाडौं : नेकपा माओवादी केन्द्रले भृकुटी मण्डपमा आयोजित विरोध सभाअघि जुलुस निकालेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस निकालेको हो ।
सुनधाराबाट शुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै माओवादीले आज खबरदारी सभा आयोजना गरेको हो । माओवादी केन्द्रले १० बुँदे एजेन्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्दैछ ।