२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

एकादशीमा निर्जला एकादशी

ADV
२०८१ असार ४ गते ०६:२५
एकादशीमा निर्जला एकादशी

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

जेष्ठ शुक्ल एकादशी, निर्जला एकादशी आज, तुलसी रोपणले पनि चिनिएको दिन । निर्जला एकादशी दुई दिन परेकोमा वैष्णवानां एकादशी आज हो । सृष्टिको उषाकालमा ब्रह्माजीको अंश, वंशमा तुलजङ्ग असुरको उदय भयो । उसको पुत्र मुर दानवको उदयले संसारलाई भयभीत बनायो । देवताहरू राज्यच्यूत भए । शिव आज्ञाले विष्णुले मुर दानवलाई बध गर्ने आदेश दिँदा विष्णु नै युद्ध क्षेत्रमा पराजित भई वदरीकाश्रमको सिँहावती गुफामा सुत्नुपर्ने भयो । शयन गरिएका विष्णुका शरीरबाट सम्पूर्ण तेजसहितको एक कन्याको उदय भयो । ती कन्यासँग सम्पूर्ण शस्त्र अस्त्रदेखि युद्धकलाको सम्पूर्ण ज्ञान थियो । ती कन्या त्यही मुर दानवसँग युद्ध गर्न लागिन् । नृशंस, संहारकारी मुर दानव पराजित भयो तिनै कन्याबाट । विष्णु पनि आफू जागा भएर ती कन्यालाई वरदान माग भन्दा उनले आफ्नो नाम एकादशी रहनु पर्ने र तीर्थमा श्रेष्ठ, विध्ननाशक, सिद्धिदाता, धन, धर्म, मोक्षको कारक भई मानवलाई चाहेअनुसारको सिद्धि दिन सकूँ भन्ने वरदान मागेकीले ‘हुन्छ’ भन्ने विष्णुको आदेशअनुसार सत्ययुगदेखि नै एकादशीको उदय र महत्व बढ्दै आएको पाइन्छ ।

शुक्ल र कृष्ण गरी दुई भेद भए पनि उस्तै सिद्धि दिने एकादशी हरेक महिनाको दुई वटाको दरले वर्षभरिमा चौविस वटा र पुरुषोत्तम माससमेत दुई वटा गरी जम्मा २६ वटा हुन्छन् । त्यसमध्ये तुलसीरोपण एकादशीको नामले जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी) यस वर्ष आज परेको छ । तुलसीको मञ्जरी दल छर्ने एकादशी पनि भनिन्छ यस दिनलाई ।

सामान्यतयाः द्धादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशी तिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ । यस्तो पर्व परेमा अन्य एक हजार वटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ । एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्म हत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौँ अश्वमेधयज्ञ गरको समेत फल पाइने हुन्छ । शुक्लपक्ष कपुनर्वसु नक्षत्रले युक्त भएको एकादशी जया हो । शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो । द्वादशी रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ । यस्तो नक्षत्र विशेषको एकादशी परेमा एक वर्षसम्म नित्य एक पाथी तिल दान गरेको वा एक हजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ । 

कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरू पहिल्याई पुण्य पाउने प्रयास गर्नु सर्वोत्तम हुन्छ । फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ । निर्जला एकादशी सकेमा जलसमेत ग्रहण नगरेर गरिने उपासना हो । नखाएर मात्रै व्रत उपासना हुने भने होइन । मुख्य कुरा वाणीको व्रत, श्रवणको व्रत, आचरण, तन, मन, धनको पवित्रता, इन्द्रिय निग्रह, देवपूजा, हवन, जप, अनुष्ठान, दान, क्षमाशीलता, सवै नै उपासनाका स्वरूपहरू हुन् । एकादशीमा अन्न खासगरी चामलमा मानिसका दुष्कर्म (पाप)हरू बस्ने भएकाले अन्न नै ग्रहण गर्नु परे पनि चामलको भात र परिकार ग्रहण नगर्ने विधान छ । महिनामा एक÷दुई दिन अन्न त्यागले शरीरको पाचन क्षमता वृद्धि भई शरीर निरोगी हुन्छ र मुख्य जठराग्नि पनि बलियो हुन्छ ।

व्रतको प्रभाव भने मनको दृढ संकल्प नै हो, मनोबल वृद्धि हो, चित्तशुद्धि हो, धर्म परायण र सात्विक भावको विकास हो । सत्य, धर्म, सदाचार व्यक्ति, समूह, समुदाय र समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ । मनोमालिन्य र द्वन्द्वपूर्ण समाजको कारण मुलुक, राष्ट्र र पूरै ब्रह्माण्ड नै उजाड बन्न पुग्छ । देवत्व भावले दानपारमिताले सबैको संरक्षण हुन्छ । वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकहरूले पनि अनुसन्धान, अध्ययन गर्दैछन् । भावना शुद्ध गरी कार्य गरेमा त्यस्तै योजना, उद्देश्य, रणनीति, कार्यक्रमसँग सहभागी हुन सकेमा समग्र मुलुकको आर्थिक विकास छिटो र समानुपातिक पनि हुन सक्छ ।

काम्य र नित्य गरी व्रतको दुई स्वरूप छन् । उद्देश्य एवम् कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ । नित्य र निस्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बन्ने हुन्छ – कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ, जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ । एकादशी व्रत बसेमा निरोगी भइन्छ, सुखी र समृद्धशाली भइन्छ । जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा भइन्छ । चोरी, हिँसा, क्रोधबाट टाढा भइन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ ।

निर्जला एकादशीको दिन बिहानै तुलसी दल छर्ने कार्य गरी श्रीविष्णुको पूजा गरिन्छ । तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरूमा लागि जीवनको हृदय झैं महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise