–मानसी पौडेल
‘हेर्दाहेर्दै तिम्रो तस्वीर बोल्यो अनि रोएँ, अतीतका ती यादहरुले पोल्यो अनि रोएँ ।’
मोबाइल चलाउँदै थियो, खै के थिचियो कुन्नि, अचानकै अञ्जु पन्तको गीत बज्न थाल्यो । यसै पनि तनावमा थियो ऊ । अफिसमा एउटा क्लाइन्टसँग राम्रै विवाद भएको थियो । पुरानो सम्झौतामा नयाँ बजार मूल्य कायम हुनुपर्ने अडान लिएपछि उसको पारो चढयो ।
‘डिल क्यान्सिल गरौं’ तत्काल केही फरक पर्दैन । तर, दीर्घकालीन असर पर्न सक्छ । ‘स्वीकार गरौं’ सम्झौता विपरीत थिए अडान उसका । मस्तिष्कमा दिनभरका घटनाले कुस्ती खेलिरहँदा निद्रा नलाग्नु स्वाभाविक थियो । टाउको गह्रौं भइरहृयो । सायद निकै छटपटी पनि थियो मनभित्र कताकता ।
बीसौं वर्षको व्यावसायिक अनुभवमा यस्तो कहिल्यै भएन उसलाई । कुनै पनि निर्णय लिन समय नै लिँदैनथ्यो । जे आइपर्छ, मनलाई सोध्थ्यो र तुरन्तै निर्णय गथ्र्यो । केही निर्णयले व्यवसाय र उसलाई प्रतिकूल प्रभाव पारे पनि त्यसभित्र पनि अनुकूलता खोज्न माहिर थियो ऊ । आफैंले आफ्नालागि गरेका निर्णय कहिल्यै गलत हुँदैनन् भन्ने थियो उसलाई ।
बेला बेला मनमनै गम्थ्यो– किन कि यो मेरो निर्णय हो ! झण्डै १२ बजेको हुँदो हो । परिवारका सबै सदस्य मस्त निद्रामा थिए । ऊ भने बिथोलिएको थियो नराम्रोसँग । आज अलि ढिलो पनि भयो घर आउन । ‘सधैंको बिजनेस, डेली भेटघाट, मिटिङ, अपोइन्टमेन्ट मनै नभएपछि बहाना नाथेको के कमी ? जति पनि हुन्छन् । समय घर्किएपछि फिरेको बुद्धिको के काम ? जीवन आफ्नालागि मात्रै होइन ! एक्लै रमाउने मान्छे जोगी हुनु नि, किन गृहस्थी प्रवेश गरेको ?’ संघारमै पड्किएकी थिई श्रीमती । ‘आज छोरीको बर्थ डे । उसका साथीहरु आएका थिए । कम्तिमा मेरो नभए पनि बच्चाहरुको त ख्याल गर्नु नि ।’
यस्तै यस्तै कैयौं कुराहरु फकालिरही । ऊ सुनी मात्र रहृयो । सन्दर्भ के थियो ? गुनासो के बाँकी रह्यो ? मेसै पाएन । ऊ हतपत जवाफ फर्काउँदैन यसै पनि । आफैं तनावमा भएका बेला बोल्दै बोेल्दैन । ‘हेर्दाहेर्दै तिम्रो तस्वीर बोल्यो अनि रोएँ, अतीतका ती यादहरुले पोल्यो अनि रोएँ । अञ्जु पन्त गुन्जिरहिन् एकनाससँग । पहिलो पटक सङ्गीतले थोरै आनन्द दियो उसलाई । दोस्रो पटक सुन्यो । शब्द र भावले मस्त बनायो । तेस्रोपटक सुन्दा स्तब्ध भयो । विस्मृत जस्तै भएका सम्झनाका छालहरु उछालिएर आए । ‘आफ्नालागि जिऊ ! मनलाई पनि कहिलेकाहीँ खुसी राख । तिम्रो जीवन खै ? तिम्रो खुसी खै ?’ त्यस दिन उसले भनेकी थिई ।
‘जीवन आफ्नालागि मात्रै होइन ।’ श्रीमतीको आवाज पनि गुन्जियो एकसाथ मस्तिष्कमा । ‘तिम्रो खुसी खै ? तिम्रो मनको चाहना बुझेका छौ ? यत्तिका काम केका लागि ? कहिलेकाहीँ मनको चाहना पनि बुझ्ने गर । आफ्नालागि पनि जिउने गर । त्यसले जीवनलाई स्वादिलो बनाउँछ ।’ थपेकी थिई उसले । ऊ, उत्तरा अर्थात् उत्ताउली केटी । ‘इज दिस एप्रोप्रिट फर हर ?’ काउकुती शैलीमा मुस्कुरायो । पहिलो भेटमा सालिन लागे पनि दोस्रो भेटदेखि उसलाई त्यो केटी खासै मन परेको थिएन । त्यही दिन उसको मनले भन्यो–उत्ताउली केटी !
‘जीवनमा समय छ ?’ व्यस्त कार्यक्रम तालिकाबीचमा पाएको थोरै समयमा साथीहरुमाझ उसले यो प्रश्न फ्याँकेको थियो । ‘लभ गर्ने समय छ ?’ अनपेक्षित थियो उत्तरमा उत्तराको प्रश्न उसका लागि । उसले त्यति बेलै सोचेको थियो( कति उत्ताउली रैछे यो । कामको सिलसिलामा दोस्रो भेट थियो ऊसँग । प्रश्न अरु कसैलाई सोधिएको थियो । जबाफमा उत्तराले प्रश्न गरी । आफ्नो अकमक्कतामा उत्तरा भित्रभित्रै मुस्कुराएको महसुस ग¥यो उसले । सोच्यो–प्रश्नको ठूलै बल्छी थापेको ठानी होली । वरपर उभिएका उसका मान्यवर, आरणीय, साथीभाइ, अनि थियो भने विशेष कोही । सबैले मुखामुख गरे तर आँट कसैले गरेनन् मुख खोल्ने ।
ऊ सोचिरहेको थियो, छ भनूँ कि छैन भनूँ ? छ भनुँ, यो उमेरमा पनि लभ गर्दै हिँड्दो रैछ भन्छन् कि भन्ने डर । छैन भनुँ कस्तो निष्प्रिह जीवन रैछ पारिवारिक बोझले थिचिएको । माया, प्रेम, स्नेहबिनाको जीवन मरूभूमितुल्य भन्ने होलान् भन्ने पिर उत्तिकै । प्रश्न अनपेक्षित त छँदै थियो । जीवनको भित्री पाटो पनि खोतल्ने भएपछि थप गम्भीर बनायो । पुरूष मनोदशाको विश्लेषण गर्दै उत्तरा मक्ख परी । सहज र सरल उसको व्यक्तित्वलाई जटिल मोडमा र्पुयाएकोमा भित्रभित्रै गद्गद पनि थिई सायद !
‘अँ, छ ।’ बडो संवेदनशील, गम्भीर अनि सतर्कतासाथ उसले भन्यो ।
‘ओ ! यस‘ । उसो भए जीवन खुसी र सुखी छ ।’ २–४ जना मान्छे पन्छाउँदै उत्तरा ऊ नजिक पुगी । ऊ सत्य बोलिरहेछ भन्ने विश्वास गरिन उत्तराले । सांसारिक मायाजालको जिम्मेवारी र दायित्वबोधको थकान मात्र देखी उसले उसको अनुहारमा ।
ऊ यति थकित थियो कि भोकले व्याकुल अजिंगरले आफ्नै अगाडि आहारा आउँदा पनि मुख बाउन अल्छी माने जस्तै । पारिवारिक जिम्मेवारी अनि दायित्वबोधले थिचिएको उसको जीवन मेसिन हो कि मेसिन जीवन ? ठम्याउन सकेको थिएन । ऊ कहिले जीवनलाई मेसिन ठान्थ्यो, कहिले मेसिनलाई जीवन । मेसिनलाई सधैं अन गरिरहन्थ्यो ऊ–कुनै पनि बेला मेसिन अफ भयो भने जीवन सकियो । सायद जीवनप्रतिको बुझाइ त्यही थियो उसको । ‘काम’.., सिर्फ मामका लागि ।’ ऊप्रतिको उत्तराको बुझाइ । ‘फेरि पनि समय व्यवस्थापन आफैंमा कठिन त छ नि !’ उत्तराको आशंकालाई उसैले पुष्टि र्गयो । ‘अँधेरी रात मेरै हो । दिन अरुका लागि, रात आफ्नालागि । समयको सही व्यवस्थापन ।’ उत्तरा छाती फुलाउँदै निर्धक्क बोली ।
अचानकै सन्नाटा छायो । निस्पट्ट अँध्यारोमा पनि मान्छेले आफूलाई चाहिँ देख्छ । सायद अचानकै सूर्य डुब्यो । तुरन्तै अध्याँरो भयो । अनि दुवैले आफैंलाई मात्रै देखिरहेका छन् त्यो अँध्यारोमा । निर्धक्क फुकेको उत्तराको छाती क्षणभरमै खुम्चियो नमस्ते झार जस्तै । सानी छँदा खरबारीमा घाँस काटेको सम्झी । घाँस काट्तै गर्दा बेला बेला मेसो छोडेर नमस्ते झार छुन जान्थी । उसै पनि मसिना पात ।
त्यसको कुनै टुप्पोमा छुनेवित्तिकै फिँजारिएका पात सबै खुम्चिन्थे । ऊ ठान्थी( झारले आफैलाई नमस्ते गरेको । सायद मपाइँत्व बोकेका सबै मान्छे यस्तै ठान्थे( झार हामीलाई नमस्ते गरिरहेछ । गजबको सन्तुष्टि, अनौठो आनन्द ।
झारले नमस्ते गरेको भ्रममा त्यस बेला ओठमा मुस्कान सवार भएथ्यो । अहिले मुस्कान हरायो क्षणभरमै । ओठ, मुख सुक्यो, स्वाभिमान डग्मगायो । आत्मविश्वास अल्झियो आफैले असावधानीपूर्वक थापेको बल्छीमा । भयभीत मनले रात्रिकालीन ठमेल सम्झियो । त्यहाँका सुन्दरी सम्झियो । ओ माइ गड ! थाइल्यान्डसम्म पुग्यो मन । पसिनाको खोलै बग्यो । गलत स्थान, गलत अभिव्यक्ति । यति अपरिपक्व यसअगि कहिल्यै थिइन उत्तरा ।
‘बिहेपछि त समय व्यवस्थापन गाह्रै होला’, गम्भीर हुँदै भन्यो उसले । विचलित हुनबाट बँच्यो उत्तराको स्वाभिमानसँगै आत्मविश्वास । भयभीत मन मात्रै पुगेको रहेछ ठमेल । आलाकाँचा व्यक्तित्वको अपरिपक्व सोच मात्रै पुगेको रहेछ थाइल्याण्ड । उसको अभिव्यक्तिले ठूलै राहत दियो उत्तरालाई । बलियो भएको उत्तराको स्वाभिमानले सायद फेरि उसको मनलाई जिस्क्यायो । ‘श्रीमतीलाई धेरै समय दिँदो रहेछ ? श्रीमतीले पनि त धेरै समय मागेको हुनुपर्छ । उसलाई धेरै समय दिनुपरेकाले काममा समय व्यवस्थापन गर्न कठिन भएको ? हुनै सक्तैन । काम त उसको प्राथमिकता हो । मेसिन जसरी काममा खटिन्छ । उसले जसरी कामलाई सबैले प्राथमिकता दिने हो भने नेपालको आर्थिक विकासको गति सतप्रतिशत बढ्छ । श्रीमतीलाई समय दिन नसकेकाले गुनासो सुन्नुपर्दा ऊ भित्रभित्रै खुम्चिएको छ । मरिच जस्तै । होइन, होइन, नमस्ते झार जस्तै ।’ उत्तराभित्र हाँसोको फोहोरा नै छुटयो होला भन्ने ठान्यो उसले ।
‘त्यही त, सन्तुलन मिलाउन जान्नुर्पयो भनेको नि ।’ समय व्यवस्थापनसँगै उत्तरा सम्बन्ध व्यवस्थापनको प्रशिक्षणमा लागि । ‘बिहेपछि त समय आफ्ना लागि भन्ने नै रहेन नि । श्रीमती, छोराछोरी, ससुराली, इष्टमित्र, बन्धुबान्धव, अनि व्यवसाय‘ सकियो जीवन । सकियो समय । कहाँ छ जीवनमा समय ?’ पत्तै नपाइ उसले जीवनप्रतिको सारा असन्तुष्टि र दिग्दारी पोखिसकेको थियो । ‘त्यसैले त भनेको नि ‘लभ गर्ने समय छ’ भनेर ? अरुलाई लभ गर्न जाऊ, लभ गर्दै हिँड भनेको होइन । आफूले आफैलाई माया गर । आफैलाई प्रेम गर । आफ्नो मनको खुसीका लागि काम गर । चाहना के हो, बुझ । करले होइन, रहरले काम गर‘.।’ उत्तरा थप्दै गई( “तिमीले आर्जन गरेको सम्पत्ति केका लागि ? कमाएको प्रतिष्ठा केका लागि ? तिमीले गरेको मेहनत र दुःख केका लागि ? सबै अरुका लागि ? खै त तिम्रो पोल्टामा के छ अहिले ? त्यसैले तिमी आफ्नालागि बाँच ।’
‘सबै सम्बन्ध नाफाघाटाको सम्भावनाको खेल । खेलमैदानमा कहिले स्नेह निमोठिन्छ, कहिले बिरानासँगको निकटता वलिष्ठ हुँदै जान्छ । आफन्त र आफन्त ठानिएकाहरुसँगको सम्बन्धले कति बेला पल्टाबाजी खेल्छन्, थाहै हुँदैन । जीवन सङ्घर्षको बाटोमा जब समय व्यवस्थापनमा कमजोरी हुन्छ, सम्बन्धहरु उल्टिन्छन् । प्रयास गर्दागर्दै ती सम्बन्धले नमिठो पीडा दिन्छन् ।’
उत्तराको धाराप्रवाह प्रवचन बीचैमा रोकेर उसले पीडा बिसायो । ‘जति गर, संसार कहिल्यै तिम्रो हुँदैन । परिवारको गुनासोमा कमी आउला, अन्त्य हुँदैन । समयक्रमसँगै गुनासाका विषय थपिँदै जान्छन् । त्यसैले म फेरि पनि भन्छु( अब त कम्तीमा तिमी आफ्नालागि जिउने प्रयत्न गर । मनलाई पनि कहिलेकाहीँ खुसी राख । तिम्रो जीवन खै ? तिम्रो खुसी खै ? तिमी जुन समय खोजिरहेछौ, तिम्रो चाहनाभित्रै छ त्यो । तिम्रो मनभित्र छ । एक पटक मात्रै चाहना बुझ्ने कोसिस गर । मात्र एक पटक मनलाई सोध । तिम्रो ‘म’ के चाहन्छ ?’ जीवन सुखको दर्शन नै पढाइ उत्तराले । ‘मेरो चाहना मात्रै ? यतिसम्म स्वार्थी हुन सक्छ मान्छे ?’
‘अँ, तिमी जसरी बुझ । परिस्थितिहरु जब विपरीत हुन्छन्, तब व्यक्तिको प्रभाव र पैसा होइन मात्र ज्ञान, स्वभाव र सम्बन्ध काम आउँछ ।
नाफाघाटाभित्र स्वार्थ लुकेको हुन्छ । बढी नाफाले स्नेह र भावनालाई ओझेलमा पारी अहम्कारिता बढाउँछ । घाटाले मित्रतामा फाटो ल्याउन मद्दत गर्छ । समय समयभित्रै लुकेको हुन्छ । नाफाघाटाको सीमान्तभन्दा भिन्न ‘सुगन्धित सम्बन्ध’ ठम्याउने काम तिम्रो हो ।’ व्यस्त कार्यतालिकाको केही समय यत्तिकैमा सकिएको थियो । सायद उत्तराको समय र सम्बन्धको परिभाषा र बुझाइ पनि । समाज, संस्कृति र परम्पराभन्दा माथिको वास्तविक सम्बन्ध ‘सुगन्धित सम्बन्ध’ ले उसको माथिँगल रिँगायो निकै समय । त्यसपछि कैयौं पटक उत्तरासँगको भेटघाट जुरायो समयले, ऊप्रतिको धारणा भने परिर्वतन गराएन । ऊ थिई उत्ताउली केटी !
उसैले म्यासेन्जरमा पठाएका गीतका सयौं लिङ्कमध्येको एक थियो त्यो । जुन अचानकै ‘प्ले’ भएको थियो ।
‘हेर्दाहर्दै तिम्रो तस्वीर बोल्यो अनि रोएँ, अतीतका ती यादहरुले पोल्यो अनि रोएँ ।’
उसले गीत पूरै सुन्यो । दोहो¥याइ, तेहे¥याइ सुन्यो । कल्पनामै रात छर्लङ्ग भइसकेको थियो । निद्रा त परेन तर ऊ बिलकुल फ्रेस थियो । जीवनप्रतिको नयाँ बुझाइसँगै ऊर्जा थपिएको महसुस र्गयो । अनि सायद प्रण ग¥यो मनलाई सुखी पार्ने । आफ्नालागि जिउने । म्यासेन्जरमा आएका उसका सन्देश हेथ्र्यो, रिप्लाइ गर्दैनथ्यो । कतिपय लिंकहरु त उसले खोलेको पनि थिएन । आज भने उसले उत्तरा अर्थात् उत्ताउली केटीलाई सन्देश पठायो– ‘हिजो आज म साह्रै फुर्सदिलो भएको छु । आफैंलाई विश्वास नलाग्ने गरी ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies