–लेखनाथ ढकाल
स्रोत, साधन र शक्तिमा हैकम कायम गर्न समाजका विभिन्न तप्काका मानिसहरूका बीचमा राजनीतिक प्रतिस्पर्धा चलेको छ । प्रतिस्पर्धाको तह द्वन्द्वको रूपमा र लडाइँका रूपमा पुग्ने गरेको छ । विचार, सिद्धान्त र राम्रा कुरा गरे पनि मानिसको प्रायः सबै ऊर्जा, पैसा र समय आपसको अस्वस्थ प्रतिस्पर्धाका लागि नै खपत हुने गरेको छ ।
मानिस सामाजिक प्राणी हो, परिवारमा बस्छ र सबै गतिविधि सम्पन्न गर्छ । परिवार निश्चित प्राकृतिक र पारिवारिक संस्कारले परिवार संगठित रहेको हुन्छ । परिवार प्राथमिक संगठन हो, असल पारिवारिक संस्कार भएको संगठन सफल परिवार हुन्छ । असंख्य परिवार मिलेर समाज र राष्ट्र बनेको हुन्छ । समाज र राष्ट्र निश्चित कानुनी संरचना तथा भावनात्मक विश्वासले संगठित रहेको हुन्छ ।
समाज र राष्ट्रलाई नियन्त्रण, सुव्यवस्थापन र शासन प्रणाली संचालन गर्ने शक्ति केन्द्रका रूपमा राजनीतिक सत्ता रहेको हुन्छ । विगतको समयमा राजनीतिक सत्ता धार्मिक विश्वास र मान्यताका आधारमा स्थापित रहेर संचालन हुने गरेको इतिहास छ । आधुनिक राज्यसत्ता संविधान, ऐन, नियमका आधारमा संचालन हुन्छ ।
परिवार, समाज र राष्ट्रमा मानिसहरू विभिन्न धार्मिक विश्वासका आधारमा पनि रहेका छन् । त्यसमाथि संविधान, ऐन, नियम राज्यसत्ता संचालनका लागि आधारभूत तत्त्व रहेका छन् ।
सभ्यताको क्रममा जब मानिसले फिरन्ते जंगली अवस्थाबाट एउटै स्थानमा परिवार बनेर बस्ने अवस्थामा आयो, तब नै मानिसलाई जमिन, जनावर, घर, उब्जाउ जमिन, खानेकुरा आदि आवश्यकताका वस्तुमा आफ्नो हैकम बनाउने आवश्यकताले जसले बढी जोहो गर्यो, त्यही धनी हुने प्रथाको विकास गर्यो । आफ्ना सम्पत्तिको रक्षा गर्न सुरक्षाको प्रबन्ध गर्नुपर्ने आवश्यकता आयो ।
यही क्रमले राज्यसत्ताको विकास भयो । मानिसको समाज बिस्तारै सम्पत्तिका हिसाबले हुने र नहुने बीचमा विभाजन हुन पुग्यो । एकापसको सहकार्यमा सामाजिक संरचना विकास हुँदै गए पनि कृषि युगमा आइपुग्दा पुँजीको आधारमा वर्गीय समाजको विकास भयो । अहिलेको पुँजीवादी औद्योगिक युगमा सोही सिलसिलाअनुसार पुँजीपति र श्रमिक वर्ग बनेको छ ।
आधुनिक कानुनी राज्यको युगमा पनि राज्यसत्ताको सहायताले एउटा वर्गले अर्को वर्गलाई शासन गर्ने क्रम चलेको छ । शासन सत्ता कुन वर्गको स्वार्थ पूरा गर्ने भन्ने लडाइँ आजको राजनीति बनेको छ । नवउदारवाद र समाजवाद आजको राजनीतिका मूल दुई धार छन् । नेपालको सामाजिक विकासको अवस्था भने झण्डै सामन्तवादी अवस्था त्यसमा नवउदारवादको विकृत चरित्रले घर गरिरहेको अवस्था छ । भनाइमा प्रायः सबै समाजवाद भन्ने गर्छन् तर चरित्रले सबै उस्तै देखिन्छ ।
मानव विकासक्रम अनेक खालका शृंखलाहरू पार गर्दै आएको छ । हरेक एउटा अवस्था अघिल्लो अवस्थाको आधार हुने गर्छ । ज्ञानको क्षमता विकास भएपछि विश्व ब्रह्माण्ड र स्वयं आफ्नो उत्पत्ति तथा अस्तित्वको नालीबेली बोध गर्ने हैसियतमा मानिस पुग्यो । जीवनको उत्पत्ति र संचालनका कतिपय थाहा पाउन नसकिएका पक्षहरूमा विविध अड्कलहरू गरियो ।
ज्ञानको विकासक्रम अहिलेको जस्तो विकसित नभएका अवस्थामा, मानिस कबिला अवस्थामा नै रहेको बेला मरेको कुनै आफन्त सपनामा देखिँदा आत्मा र पुनर्जन्मको धारणा जन्म भयो होला । एक जना मानवशास्त्री लेखकले एउटा घटना बताएका छन्– परिवार, निजी श्रीमतीसमेत नहुने कबिला अवस्थाको विकासक्रमको अवस्थामा छोराले राखेकी आइमाईसँग बाबुको संसर्ग हुँदा रिसले छोराले बाबुलाई हिर्काएर मार्यो । आफूलाई सुरक्षा दिएर पालन पोषण गरेका बाबुलाई मारेकोमा पछुताएको छोराले सपनामा बाबुलाई देखेपछि पितृको आत्मा वरिपरि नै रहेको विश्वासमा पितृ पूजा गर्ने प्रचलन चलेको तर्क गरेका छन् ।
यस्तै, प्रकृतिका अनेक घटनाहरूका बारेमा मानिसले बनाएका धारणाहरूले नै विभिन्न धार्मिक विश्वास झाँगिन थालेका हुन् । मानिसको समाजलाई कुनै दैवी शक्तिको योजना र व्यवस्थापनमा चल्ने विश्वास स्थापित गरियो । राज्य र राज्यसत्ताको शक्ति यसकै आधारमा स्थापित भएको पाइन्छ ।
सत्तामा आसीन शासक दैवी शक्ति प्राप्त वा दैवी उत्तराधिकारी मानेर शक्तिशाली शासन केन्द्रको स्थापना भएको हो । अहिलेको अवस्थामा पनि यही धारणाको निरन्तरता निकै हदसम्म कायम छ । मानिसको ज्ञान र चेतना विकास हुँदै आउँदा कतिपय कपोकल्पित कुरा र भ्रमका आधारमा गरिने विश्वास हट्दै गयो । मान्छेको ज्ञानको विकासले प्रकृतिलाई नै बोधगम्यताको सीमामा ल्याइसकेको अहिलेको समयमा पनि शासन सत्ता र सभ्यता रूढिवादी धारणाबाट बाहिर आउन लामो युग पार गर्नुपर्ने कुरा चाखलाग्दो विषय नै रहेको छ ।
आजको समय विज्ञान तथा प्रविधिको अत्यधिक विकास र उपयोगको युग हो । मानिसको चेतना, सोच, संस्कार र सबै गतिविधिहरू क्रमशः विश्वव्यापीकरण हुँदै छन् । सम्भवतः आउने समय विश्वका मानिस एउटै परिवारका सदस्यका रूपमा रहने वातावरण हुने छ । विश्वव्यापी साझा मानवीय संस्कृतिको विकास हुने क्रममा सभ्यताको विकास निर्देशित छ ।
अर्कातिर शक्ति गुट र सामरिक होडमा विश्व नै तहसनहसको भुमरीमा पुग्ने हो कि भन्ने त्रास बढ्दो छ । आर्थिक होडमा लागेका देशहरू सामरिक शक्तिमा प्रतिस्पर्धा गर्दा वातावरण विनाश र आर्थिक असन्तुलन डरलाग्दो हुने निश्चित छ । आधुनिक राज्यसत्ताका विविध मोडहरू रहेका छन् तर पनि सूचना प्रविधि र आधुनिक यातायातका साधनले अब कुनै देश एक्लो वा आफ्नै पाराले मात्र चल्न असम्भव हुँदै गएको छ । आधुनिक विश्वमा राजनीतिक, आर्थिक र सांस्कृतिक व्यवस्थापनमा पहिलेका मान्यताहरू क्रमशः बदलिँदै जानेक्रम अनिवार्य छ ।
धर्म र समाजको व्यवस्थापनसम्बन्धी मामलाहरूमा कतिपय देशका सरकारहरू असफल हुँदै गएका छन् । हाम्रो देशमा पनि धार्मिक स्वतन्त्रता, धर्मनिरपेक्षता आदि विषयहरू संवेदनशील रूपमा उठिरहेका छन् । यो विश्वव्यापी समस्याका रूपमा रहेको मान्न सकिने अवस्था छ ।
धर्म र राजनीतिका मामिलामा हाम्रो देशमा अन्योल छ । धर्मनिरपेक्ष संघीय गणतान्त्रिक शासन व्यवस्था रहेको देशमा हिजो राजाले गर्ने धार्मिक कार्यहरूमा नेताहरू राजाकै शैलीमा उपस्थित हुने गर्छन् । कुमारीको रथयात्रा, घोडेजात्रा, भोटो देखाउने जात्रा आदिमा सवारी हुनुले नेपालीको मनमा असजिलो महसुस हुने गर्छ । राज्यले सबै धर्म र धार्मिक कार्यक्रममा तत् धर्म सम्प्रदायका राष्ट्रिय स्तरका संयन्त्र रहने र सबैका आ–आफ्ना संस्कार स्वयं समुदायले नै मनाउने परम्परा विकास गरिदिनुपर्छ ।
समाज धर्म, संस्कृति र विविध धार्मिक विश्वासका आधारमा विभाजित रहेको अवस्थामा राज्यले कुनै एकलाई बढावा गर्ने कुराले अल्पसंख्यकहरूले विभेदमा पारिएको महसुस गरिरहन्छन् । यसलाई विभेदको रूपमा जबर्जस्त उठाइने गरिन्छ । कथित सभ्यता, धर्म र जातिका आधारमा पहिचानको खोजी गर्ने विषय संवेदनशील हुँदाहुँदै पनि भड्कावपूर्ण देखिन्छ । कतिपय सन्दर्भमा यस्ता विषय मनोवैज्ञानिक शोषणका माध्यम बनाइने गरेका छन् ।
उदाहरणका लागि, महिलालाई पनि अंश दिनुपर्ने कुराले लोकप्रियता पाउँछ तर कसैले छोरीलाई अनिवार्य रूपमा पढाउनुपर्ने कुरा उठाउँदैन । कथित दलित भनिने जातिलाई केही सहभागिताको कुरा गर्दा त्यसले बजार पाउँछ तर कुनै प्रकारको विभेद नहुनेगरी सामाजिक संरचना र सामाजिक क्रियाकलाप हुने व्यवस्था बनाउने कुरा कसैले गर्दैनन् ।
देख्दा लोकप्रिय जस्तो देखिने र भ्रमपूर्ण कुरालाई स्थापित गराएर राजनीतिक सत्तामा प्रतिक्रियावादी वर्गले वर्चस्व कायम गरिरहने प्रपंचले नै सामाजिक र राजनीतिक सत्ता बनाइएको छ । अहिलेको समयमा यो सत्ता टिकाउन पैसाको दुरुपयोग बढेको छ । यस्तै, प्रतिगामी सत्ताको भरिया बनेर क्रान्तिकारी कुरा गर्ने मानिस अहिलेको प्रगतिका बाधक बनेका छन् । वास्तविक रूपमा मानवीय समाज बनाउन चाहने, वास्तविक लोककल्याणकारी राज्यसत्ता स्थापना गर्नु र यसलाई असल सभ्यता भएको सामाजिक विकासका लागि काम गर्न असल प्रगतिशील नागरिकहरूले पुनर्जागरण अभियान चलाउन जरुरी छ । जागृत नागरिकको संगठन नै विकल्प बन्न सक्ने छ ।
जनतालाई वास्तविक सार्वभौम मान्ने लोककल्याणकारी राज्य व्यवस्थामा धर्म र धार्मिक विश्वास राज्यको कुनै कार्यक्रममा हाबी हुने अवस्था हुनु हुँदैन । त्यहाँको राज्यको शिक्षा, सामाजिक शिक्षा, मिडिया तथा विविध सामाजिक अभ्यासमा धार्मिक विषयलाई प्रमुखता दिन आवश्यक पर्दैन । मध्ययुगीन धार्मिक राज्य र धार्मिक संस्थाको शासनको धङ्धङीको निरन्तरता प्रतिक्रियावादी सत्ताका लागि आवश्यक छ । त्यसैले यो वर्ग परम्परा र सनातनी कुरा गरेर आफ्नो जनविरोधी विकासविरोधी अनुहारको निरन्तरता चाहन्छ । कतिपय चलिआएका कुराहरूलाई बचाएर जानुपर्छ तर भ्रामक अन्धविश्वासी र असत्य कुरालाई बचाएर जान आवश्यक पर्दैन ।
धार्मिक विश्वास, आस्था र अभ्यास व्यक्तिका निजी मामला हुन्, यो स्वतन्त्रता रहनुपर्ने छ तर आफ्नो विश्वास र अभ्यासले अरूलाई प्रभावित गर्न हुँदैन । विगत समयमा नागरिकलाई धर्मका आधारमा विभाजन हुने अवस्था अमानवीय सामाजिक परिवेश त थियो, यो कहालीलाग्दो अन्यायपूर्ण पनि थियो । अहिले पनि धर्मका नाममा रहेको विभाजन निरन्तर सहनु आवश्यक छैन ।
पृथ्वीको कतिपय भूभागमा धार्मिक शासन अहिले पनि कायम छ । जस्तै : मध्यपूर्वका देशहरू, जहाँ धार्मिक विषयमा नै युद्ध कायम छ, जहाँ मानिसहरूलाई धर्मको आधारमा विभाजित गरिन्छ, त्यो समाजले असमानता, भेदभाव, र हिंसा निम्त्याउँछ । धार्मिक आधारमा विभाजन हुने अवस्थाले समाजलाई प्रतिगामी बनाउँछ । आजको मानिसको चेतना जुन स्तरमा पुगेको छ, यसले उच्च ज्ञानको प्रकाशमा हुने सभ्य समाजको माग गर्छ ।
आर्थिक असमानता, शोषण र विभेदका कारणले नै सामाजिक द्वन्द्व सिर्जना हुने हो । यी कुरालाई हल गर्दै समाज विकासको दिशामा अघि बढ्नु आवश्यक छ । धार्मिक विश्वास र धार्मिक सम्प्रदायका बीचमा हुने द्वन्द्व मानव सभ्यताकै कलंक हो ।