अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा १० मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसेपानी बस्ने ७२ वर्षीय एमबहादुर घर्ती रहेका छन् । घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
चट्याङ लागेको खबर प्राप्त हुनसाथ धनचौर प्रहरी चौकीबाट प्रसनी कुलराज खनालको कमाण्डमा गएको प्रहरी टोलीले घाइतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाएको थियो ।
बिहीबार रातिको हावाहुरीले पाणिनी गाउँपालिका, शीतगंगा नगरपालिका, भूमिकास्थान नगरपालिकाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ भने पाणिनी ६ धातिबाङ्गमा १७ घर गोठका छाना उडाएको छ । वडा भरीमा ११ वटा घर र ६ वटा गोठका छानो हावाहुरीले उडाएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सन्धिखर्क नगरपालिका १० धरमपानीका कमल जिसीको कुखराको खोर हावाहुरीले भत्काइ पूर्ण रुपमा क्षति पुर्याएको छ । खोर भत्किएपछि झन्डै १ सय ५० वटा बोइलर कुखरा च्याप्पिएर मरेका छन् भने शीतगंगा ४ का डिलबहादुर गुरुङको कुखुरा फर्ममा क्षति पुगेको छ ।