२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

पाठेघरको क्यान्सर रोगीको उपचारका लागि सहयोग जुटाउँदै पौडेल

draupadi film
मध्यान्ह
२०८१ मंसिर ८ गते २०:४४
पाठेघरको क्यान्सर रोगीको उपचारका लागि सहयोग जुटाउँदै पौडेल

कतार : करिब ५ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको क्यान्सरको उपचार गराइरहेकी जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोक पर्वत निवासी गंगा दमाईलाई कतारबाट करिब २ लाख रुपैयाँ सहयोग पठाइएको छ । कतारमा रहेर सामुदायिक पत्रकारिता गरिरहेका मध्यान्ह दैनिकका संवाददाता तिलु शर्मा पौडेलको संयोजकत्व तथा पहलमा गंगालाई उक्त सहयोग पठाइएको हो ।

गंगाको छोरी अनिता परियारले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सहयोगको याचना गरेपछि सहयोगका लागि मध्यान्हकर्मी पौडेल अगाडि आएका हुन् । पौडेलले सुरुमा आफैंले सक्दो सहयोग गरेको र आफ्नो फेसबुकमा स्टाटस राख्दै सहयोगका लागि अपिल गरेलगत्तै केही रकम सहयोग प्राप्त भएको बताए । दसैं तिहार मनाउन वार्षिक बिदामा नेपाल गएका पौडेलले बिरामीकी छोरी अनितालाई पोखरामा भेटेर बिरामीको स्वास्थ्य अवस्था, आर्थिकलगायतका अवस्थाका बारेमा गहिरिएर बुझेका थिए ।

पौडेलसँगको भेटमा अनिताले केमियो थेरापीको खर्च र पौष्टिक आहारका लागि मोटो रकम खर्च हुने र परिवारसँग बेच्नका लागि अचल सम्पत्ति नभएको, भएको जग्गा पनि एक सहकारीमा ऋण तिर्न नसक्दा अड्किएको र आफूले पढाइका लागि अति आवश्यक परेर किनेको ल्यापटप बेचेर आमाको उपचारमा खर्च गरेको बताएको अनितालाई उद्धृत गर्दै पौडेलले बताए ।

पोखरामा अवस्थित एक निजी विद्यालयमा अध्यापन गराएर परिवारको खर्च धान्दै आएकी अनिताको दुःखको सारथी बन्न पौडेलले एनआरएनए एनसीसी कतारको संघ संस्था समन्वयका लागि बनाइएको च्याट ग्रुप, गण्डकी प्रदेश समन्वय परिषद्को च्याट ग्रुप र  प्रवासी नेपाली समुदाय कतारको अफिसियल ग्रुपमा समेत सहयोगको याचना गर्दै सूचना सम्प्रेषण गरे । उनको सहयोगको याचनालाई प्रवासी नेपाली समुदाय कतारको ग्रुपका सदस्यहरूबाट मात्र करिब १ लाख रुपैयाँ सहयोग मिलेको थियो ।

उनले पर्वत समाज कतार मातहत रहेका पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोष र पर्वत जलजला समाज इकाइसमक्ष पनि सहयोगको याचना गरे । उनलाई उक्त संस्थाबाट १० हजारका दरले २० हजार रुपैयाँ सहयोग प्राप्त भयो भने कतारमा रहेको नेपाली महिला समाज कतारले १५ हजार रुपैयाँ, श्री सद्भाव युवा समाज कतारले १७ हजार ५ सय ४० रुपैयाँ र संघीय लिम्बूवान सामाजिक मञ्च (सलिसाम) कतारले ३ हजार रुपैयाँ सहयोग गर्‍यो ।

ती सबै रकम सिधै बिरामीकी छोरी अनिताको खातामा जम्मा भएको र सबैको अभिलेख आफूले सुरक्षित राखेको पौडेलले बताए । पौडेलले कतारबाहेक विश्वका अन्य देशबाट पनि सहयोग प्राप्त भएको हुँदा सहयोगीलाई धन्यवाद दिँदै थप सहयोगका लागि अनुरोधसमेत गरेका छन् ।

बिरामीलाई पाठेघरको शल्यक्रियाका लागि अहिले भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको छ । शल्यक्रियाका लागि न्यूनतम ५ लाख रुपैयाँ खर्च आवश्यक पर्नेमा अनितासँग २ लाख रुपैयाँ मात्र रहेको र आउने आइतबार शल्यक्रिय गर्ने गरी तयारी गर्नु भनेर चिकित्सकले आमाको भर्ना लिएको हुँदा नपुग रकम कहाँ बाट ल्याउने ? भन्दै अनिताले चिन्ता व्यक्त गर्दै  सबैमार्फत सहयोगको अपेक्षा गरिन् ।

हालसम्म ८ लाख रुपैयाँ खर्च भइसकेको छ । परियारको उपचारमा सहयोगका लागि अनिता दर्जीको एनएमबि बैंकको खाता नम्बर १२१०२००९४१७००१२ वा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३५००१००००००४१२०३ मा सहयोग गर्न सकिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise