२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

राहतको पर्खाइमा पहिरो प्रभावित

ADV
अस्मिता बम
२०८१ मंसिर ९ गते ०६:५०
राहतको पर्खाइमा पहिरो प्रभावित

काठमाडौं : गत शनिबार बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा काभ्रेको बेथानचोक गाउँपालिका पुगे । बाढीपहिरोले क्षतिग्रस्त क्षेत्रको अवलोकन गरे । गत असोज दोस्रो साता गएको बाढी र पहिरोले घरबिहीन भएका मानिसहरू त्रिपालमै छन् । उनीहरूसँग कठ्यांग्रिदो चिसो छल्ने अरू उपाय पनि छैन ।

स्थानीय अवस्था देखेपछि मुख्यमन्त्री लामाले बाढी प्रभावित विभिन्न स्थानीय तहलाई लक्षित गरेर योजना बनाउने प्रतिबद्धता जनाए । पुनर्निर्माण गर्न भने तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । 

‘संघ, प्रदेश र स्थानीय तहले प्रतिशतको आधारमा क्रमशः ६०, ३० र १० प्रतिशत भार पर्नेगरी कार्यविधि बनाउन छलफल भइरहेको छ । चाँडै यसको अन्तिम रूप आउँछ’, मुख्यमन्त्री लामाले भने । त्रिपालमै रहेका बाढीपहिरोपीडित तत्काल कठ्यांग्रिदो चिसो छल्ने उपाय खोजिरहेका थिए ।

स्थानीय तत्कालको राहत खोजिरहेका थिए तर मुख्यमन्त्री लामाले क्षतिको विवरण संकलन गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय तहबीच तालमेल मिलाउन र निर्णय गर्न बाँकी रहेको बताए । तथापि, प्रदेशले कार्यविधिअनुसार बाढीपहिरोबाट मृत्यु भएकाहरूलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ वितरण गर्ने काम गरिरहेको र थप १ लाख वितरण गर्न लागेको जानकारी दिए ।

गत १० र ११ असोजमा गएको बाढीपहिरोबाट प्रभावितले जाडो महिना सुरु भइसक्दा पनि पक्की आवासमा बस्न सक्ने वातावरण बन्न नसकेको हो । बाढी र पहिरोले घरबारविहीन भएको २ महिनासम्म प्रभावितले सामान्य राहतबाहेक थप पाएका छैनन् । परिणाममा उनीहरू टहरो र त्रिपालमै कठ्यांग्रिँदो चिसो छल्न बाध्य छन् । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म बाढीपहिरोबाट झन्डै १८ हजार घरमा क्षति भएको छ । साढे ५ हजार घरहरू पूर्ण रूपमा नष्ट भएका छन् । साढे १२ हजार घरमा आंशिक क्षति भएको छ । 

प्रभावितलाई सरकारले अस्थायी आवास बनाउन रकम दिने भनेको छ । तर, हालसम्म २६० घरपरिवारले मात्र अस्थायी आवास बनाउन सहयोग रकम पाएका छन् । बाँकीले सहयोग रकम पाउन सकेका छैनन् । 

सरकारले विपद् प्रभावितलाई अस्थायी आवासका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भनेको छ । २ किस्तामा २५/२५ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ । यस्तो रकम स्थानीय तहहरूमार्फत पीडितको बैंक खातामा पठाउनुपर्ने हुन्छ । तर, क्षतिको विवरण संकलन र स्थानीय तहबाट हुनुपर्ने प्रमाणीकरणलगायतका कार्यमा ढिलाइ हुँदा २ महिनासम्म प्रभावितले अस्थायी आवासका लागि सहयोग रकम प्राप्त गर्न नसकेका हुन् ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी अस्थायी आवास निर्माणका लागि निजी क्षेत्र समेतको सहयोग लिने कार्यमा आफूहरू लागिपरेको बताउँछन् । 

उनी भन्छन्, ‘अस्थायी आवासका लागि ५० हजार रुपैयाँ दिने भनिएको हो । यसमा कार्यविधिगत अप्ठ्याराहरू पनि छन् । यस कारण ढिलाइ भएको छ ।’ २०७२ सालको भूकम्पपीडित भएर सहयोग लिएकाले नपाउनेलगायतका विषय रहेकाले यसपालिको बाढीपहिरोपीडितको तथ्यांक संकलनमै समस्या भएको उनले बताए । तथापि, प्रारम्भिक तथ्यांक संकलन गरिएको छ ।

अध्यक्ष अधिकारी आफूहरूले प्रभावित र पीडितहरूका लागि पलिका स्तरबाट गर्न सक्ने सबै गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘सडक, विद्युत् सेवा उपलब्ध गराएका छौं । खाद्यान्न हेलिकप्टरबाट लैजानुपर्ने बाध्यता हटाएका छौं । संचार सुविधा पु¥याएका छौं । खानेपानीको उपलब्धताका लागि काम गरिरहेका छौं ।’ 

अस्थायी आवासका चाहिनेका लागि फर्म भर्न लगाउतेलगायतका कार्य भइरहेका छन् । ‘घरमा बस्न नसक्ने अवस्था भएकाहरू समूहमा बसिरहेका छौं’, उनी भन्छन्, ‘अस्थायी आवासका लागि कार्यविधिअनुसार गर्न सकिन्छ, त्यसबाट दायाँबायाँ गर्न सकिँदैन ।’

ADVADV

सम्बन्धित खबर

Advertise