
देशले आफ्नै नागरिकलाई टाढा पारिरहेको यथार्थ जित्न नसकिरहेको वर्तमानमा, पंक्तिकार शिक्षा क्षेत्रमा धेरै वर्ष बिताएको एक नागरिक, एक अनुसन्धानकर्ताको हैसियतले होइन, आफ्नो व्यक्तिगत सचेतताको आधारमा लेख्दैछु । नयाँ पुस्ताले सडकदेखि सामाजिक मञ्चसम्म उठाएका जिज्ञासाले हामी सबैलाई निरन्तर सोच्न बाध्य बनाइरहेको छ– हाम्रो लोकतन्त्र वास्तवमै कस्तो हुनुपर्छ ? यही प्रश्नका उत्तर खोज्ने क्रममा केही समयअघि युवा प्रतिनिधि, राष्ट्रिय सभाका सदस्य तथा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएको एउटा छलफल कार्यक्रममा उपस्थित हुने अवसर पाएँ । संसद सचिवालयद्वारा आयोजित सो कार्यक्रममा डा. खगेन्द्र ढकालले आई–भोटिङसम्बन्धी विषयमा गहिरो र प्रभावशाली प्रस्तुति दिएका थिए ।
डा. ढकाल केवल प्रस्तोता मात्र होइन, नेपाल पोलिसी इन्स्यूच्युडका अध्यक्ष पनि हुन् । एनपिआइभित्र ग्लोबल थिंक ट्यांक नामक विशेष अनुसन्धान टोली छ, जसलाई एनपिआइले नै समन्वय र व्यवस्थापन गर्छ । विश्वभर रहेका प्रवासी नेपाली विज्ञ तथा नीति–विश्लेषकहरूको सहभागिता रहने यस टोलीमा डा. ढकाल प्रमुख बौद्धिक नेतृत्वकर्तामध्ये एक हुन् । उनले गएको निर्वाचनअघिदेखि नै आई–भोटिङसम्बन्धी अध्ययन र अनुसन्धानलाई निरन्तरता दिएका छन् । त्यसैले उनँको प्रस्तुति केवल प्राविधिक विश्लेषण होइन, प्रवासी नेपालीहरूको जीवनानुभूति, अनुभूत पीडा र अधिकारप्रतिको संवेदनशीलता बोकेको आवाज पनि हो ।
नेपालको सामाजिक संरचना हेर्दा, प्रवासी नेपालीको भूमिका केवल आर्थिक मात्र होइन, जनसांख्यिकीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । अध्ययनहरूले देखाउँछन्– देशका करिब ७६ प्रतिशत परिवारमा कम्तीमा एक सदस्य विदेशमा छन् । मतदानको प्रश्नमा यो तथ्य झनै महत्वपूर्ण बन्छ, किनकि कुल मतदातामध्ये करिब २५ प्रतिशत नागरिक मतदानको दिन नेपालमै उपस्थित हुन सक्दैनन् । यस्तो विशाल समूहलाई निर्णय प्रक्रियाबाट बाहिर राख्नु केवल व्यवस्थापकीय कमजोरी होइन, लोकतान्त्रिक प्रतिनिधित्वमै गहिरो चोट हो ।
यसैबीच, प्रवासी नेपालीप्रति हाम्रो समाजमा समय–समयमा सिर्जना हुने गलत बुझाइ पनि सम्बोधन गर्न आवश्यक छ । झन्डै डेढ वर्षअघि, एक सार्वजनिक कार्यक्रममा एक नेताले यस्तो टिप्पणी गरेका थिए– उनीहरूलाई नेपालबारे के थाहा हुन्छ र ? विदेशमा रेस्टुरेन्टमा काम गर्छन्, भाँडा माझ्छन्, अनि हात पुछ्न नपाउँदै फेसबुकमा टिप्पणी गर्छन् ।
यो भनाइ सुन्दा कठोर र पीडादायी लाग्न सक्छ । तर, सार्वजनिक भूमिकामा रहने व्यक्तिहरूले सामाजिक सञ्जालमा आउने अत्यन्त कटु तथा व्यक्तिगत चोट पुर्याउने टिप्पणीहरू झेल्नुपर्ने भएकाले कहिलेकाहीँ यस्तो वक्तव्य व्यक्तिगत थकान वा निरन्तर आक्रमणको प्रतिक्रियाबाट जन्मिन सक्छ । तथापि, व्यक्तिगत पीडाबाट व्यक्त भएको आक्रोश सम्पूर्ण प्रवासी समुदायको मूल्यांकन बन्न सक्दैन ।
कठोर टिप्पणी गर्ने थोरै मानिस र आफ्नो पसिना, श्रम र संघर्षले देश धानिरहेका लाखौँ नेपाली प्रवासी एउटै समूह होइनन् । हो, धेरै नेपाली विदेशमा रेस्टुरेन्ट, किचन, केयर–होम, फ्याक्ट्री, निर्माणस्थल वा कृषि क्षेत्रमा कठिन परिश्रम गर्छन् । उनका हात पसिना, माटो वा साबुनले भिजेका हुन सक्छन्, तर ती हातहरूले घर–परिवार बचाइरहेका छन्, बालबालिकाको विद्यालय शुल्क तिराइरहेका छन्, बाबुआमाको उपचार सम्भव बनाइरहेका छन् ।
उनको पेशाले उनीहरूको चेतनालाई कम गर्दैन, बरु अझ गहिरो बनाउँछ । विदेशमा भाँडा माझ्ने नागरिकले कतिपय अवस्थामा नेपाललाई त्योभन्दा राम्रो बुझ्छ, जसले कहिल्यै संघर्षको स्वाद चाखेको छैन । उनीहरू नेपालबाट टाढा हिँडेका होइनन्– नेपालले उनीहरूलाई समाउन नसकेको हो । १२–१४ घण्टाको थकाइपछि पनि उनीहरू नेपालकै समाचार खोज्छन् । उनको शरीर थाके पनि देशप्रतिको माया कहिल्यै थाक्दैन । यदि कसैले देशप्रति बोल्ने नैतिक अधिकार कमाएको छ भने त्यो प्रवासी नै हो ।
यही पृष्ठभूमिमा आई–भोटिङ केवल प्रविधिगत समाधान होइन, सम्बन्ध, अधिकार र देश–नागरिकबीचको भावनात्मक पुनर्जोड हो । नेपालका जेनजी युवाले हाल देखाइरहेको आन्दोलनले लोकतन्त्र पारदर्शी, विश्वसनीय र समावेशी हुनैपर्छ भन्ने सत्यलाई प्रष्ट पारिदिएको छ । विदेशमा रहेका नेपाली युवाले पनि यही भावना व्याख्या गर्छन्– हामी टाढा छौँ, तर टुटेका छैनौँ ।
देशभित्र–बाहिर बसेका युवाहरूले एउटै प्रश्न उठाइरहेका छन्– के नेपालले आफ्ना सबै नागरिकको आवाज सुन्छ ? प्रवासीहरूले रेमिट्यान्स मात्र पठाउँदैनन्; उनीहरूले नयाँ सोच, नयाँ कार्य–संस्कृति र विश्वदृष्टि नेपालमा भित्र्याउन सक्छन् । उनीहरूको मूल चाहना स्पष्ट छ– पहिचान तथा सम्मान । लोकतन्त्र तब बलियो हुन्छ, जब नागरिकले आफू समावेश भएको महसुस गर्छ । देशले जब आफ्ना नागरिकलाई सुन्छ, नागरिकले देशलाई अझ माया गर्छ । यदि हामी ‘देश–विदेशका नेपाली नै हाम्रो शक्ति हुन्’ भन्ने मान्यतामा विश्वास गर्छौँ भने, उनीहरूको आवाजलाई पनि समान महत्व दिनुपर्छ ।
नेपालका बाटाहरूमा हिँड्ने हरेक नागरिक देशमै हुन् वा परदेशमा सबैका मनमा एउटै चाहना हुन्छ– देशले आफ्नो आवाज सुनेको अनुभूति होस् । प्रवासी नेपालीहरूले दूरीमा बसेर पनि देशलाई दैनिक जीवनको अविच्छिन्न अंश झैँ बोक्ने गर्छन् । पंक्तिकारले भेट्ने धेरै युवाहरू राति २ बजे रेस्टुरेन्ट बन्द गरेर थकित शरीर लिएर कोठामा पुग्छन् र भन्छन्– दाइ, हामी दिनभर काम गर्छौँ, तर नेपालका समाचार हेर्न छोडेका छैनौँ । हाम्रो मुटु त नेपालमै छ ।
मताधिकार केवल राजनीतिक अधिकार मात्र होइन– यो भावनात्मक पहिचान हो । जब नागरिकलाई मत दिन दिइँदैन, त्यो केवल भोट खसाल्न रोकेको होइन, उसको अस्तित्वलाई बेवास्ता गरेको जस्तै हुन्छ । आई–भोटिङ यसैले प्रविधिको विषय मात्र होइन– सम्बन्ध, सम्मान र अपनत्व पुनःस्थापित गर्ने प्रक्रिया हो । यो भन्नु हो– तिमी जहाँ छौ, नेपालले तिमीलाई बिर्सेको छैन ।
प्रवासी नेपालीहरू छोराछोरीको भविष्य सुरक्षित बनाउन, बाबुआमाको स्वास्थ्य जोगाउन र घर–परिवारको सुरक्षाका लागि आफ्नो व्यक्तिगत सपनाभन्दा पहिले देश र परिवारलाई प्राथमिकता दिन्छन् । यस्तो त्याग गर्ने समुदायले आफ्नै देशको नेतृत्व छान्न नपाउनु केवल विडम्बना मात्र होइन, यो अन्याय पनि हो ।
यदि नेपालले विश्वभर छरिएका आफ्ना नागरिकको आवाज समेट्न सकेन भने लोकतन्त्रका जगहरू अधुरा नै रहन्छन् । समावेशी लोकतन्त्र भन्नुको अर्थ सीमाना हेर्नु होइन, नागरिकको आत्मा पहिचान गर्नु हो । आजको पुस्ता काठमाडौंबाट सडकमा उभिएर आवाज उठाउने या कोरियाको कारखानामा १२ घण्टा उभिएर काम गर्ने, सबैले एउटै भाव व्यक्त गर्छन्– हामीलाई पनि सुन्नुहोस् ।
देशले जब आफ्ना नागरिकको अपेक्षा आत्मसात गर्न थाल्छ, तब देश बलियो बन्छ । देशले अपनत्व दिन थालेपछि नागरिकले देशलाई झनै माया गर्छ । अब समय आएको छ– प्रवासी नेपालीलाई केवल कागजमा होइन, मुटुमा फर्काउने । आई–भोटिङले उनीहरूलाई मताधिकार मात्र दिंदैन–देशसँगको भावनात्मक डोरी पुनः गाँसिदिन्छ ।
(डा. कार्र्की, शिक्षा क्षेत्रमा स्वतन्त्र चिन्तक तथा अनुसन्धानकर्ता हुन् ।)