२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

संस्कृत र गुरुकुललाई आधुनिक बनाउने सवाल

ADV
२०८१ मंसिर १६ गते ०६:२०
संस्कृत र गुरुकुललाई आधुनिक बनाउने सवाल

–चन्द्रकान्त पौडेल

संस्कृतं संस्कृतेर्मूलम् अर्थात् संस्कृत नै मौलिक संस्कृतिको आधार यानि कि मूल हो । वेदो खिलो धर्ममूलम् वा वेद नै सबै धर्मको मूल आधार हो । उपर्युल्लिखित २ संस्कृत पद्यांश मिथक होइनन्, सत्य हुन् ।

नमस्कार गर्नु, गुरु सम्मान, अतिथि पूजा, माता–पिताप्रतिको उत्तरदायित्व, धर्तीप्रतिका कर्तव्यहरू, परिवारप्रतिको जिम्मेवारी, समाजप्रतिको जिम्मेवारी, प्रकृतिप्रतिको जबाफदेहिता, आत्मानुशासन र यज्ञ यज्ञादि कर्मकाण्डहरू अनेक जुन हाम्रा मौलिक संस्कृति छन्, यी सबै संस्कृतमा लुकेका छन् । सबै धर्मको भावना वेदमा छ, नपत्याए गीता, कुरान, बाइबल, बुद्ध ग्रन्थ, गुरु ग्रन्थको समानता केलाउनुहोस् । धेरै समानता पाइन्छन् ।

यी सबै ग्रन्थको अध्ययनपछि पंक्तिकार पनि यो मान्यतामा अडिग छ कि संसारका धर्मग्रन्थहरूमा वेदको प्रत्यक्ष प्रभाव छ । त्यति मात्र होइन, मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, गुम्बाको स्वच्छन्द भ्रमणबाट के थाहा भयो भने, सबैको उच्च भागमा चुच्चो गजुर विविध रूपमा सजिएको छ ।

सबै प्रकारका धार्मिक स्थलहरू आध्यात्मिक ऊर्जाका स्रोत हुन् । जातीय, वर्गीय, भौगोलिक, साम्प्रदायिक बन्धनबाट कतै चेतनाको शान्त लोकमा रमण गर्नु, त्यो लोक जिउँदै जाने लोक हो, जुन प्रत्येक मानवभित्र अन्तर्निहित रहन्छ । 

संस्कृत त भाषा हो, यसलाई उल्था गरेर पढे पुग्छ, ज्ञान हुन्छ भन्नु र प्लास्टिकका लुगा लगाएर धारामा थापिएर नुहाएर शीतल हुन्छ, सफा हुन्छ भन्नु उस्तैउस्तै हो । करोडौं शब्द, असंख्य ग्रन्थ, हजारौं मन्त्र, लाखौं श्लोक यी सबै उल्था गरेर पढ्नुभन्दा संस्कृत भाषा पढेर सिकेर यस सागरमा हामफालेर पौडिनुको मज्जा बेग्लै हुने छ । यो पुरातनकालको सभ्यता हो, जसको कुनै ‘एक्स्पायर डेट’ नै छैन । यो कहिले नरोकिने गाडी हो ।

वेद भनेको नै ज्ञान हो, त्यो सबैका लागि अपरिहार्य छ । सशस्त्र द्वन्द्वकालका समयमा संस्कृत शिक्षा, नैतिक शिक्षा हट्यो । संस्कृत शिक्षालाई जलाउने इतिहास, मेटाउने कार्यमा अग्रणी माओवादी पार्टी आज इतिहास बनिसकेको अवस्था छ । तर, न केवल माओवादी त्यतिबेलाको कर्मचारीतन्त्रदेखि राजनीतिक अन्य शक्ति पनि खोइ कसको इशारामा चले, हाम्रो पाठ्यक्रममा विदेशी हस्तक्षेप भयो र केही समय नेपालबाट संस्कृत कताकता हराए जस्तो भयो ।

अहिले आएर संस्कृत शिक्षा फाट्टफुट्ट गुरुकुलहरूमा सुरक्षित छ । तर, गुरुकुलको पाठ्यक्रममा विज्ञान यानिकि विज्ञान नहुनाले संस्कृत क्षेत्रमा अध्ययन गर्नेहरू विज्ञान, व्यवस्थापन, प्राविधिक एवं अन्य नवीन संकायमा जानबाट बञ्चित हुन्छन् । 

वेद, पुराण, संस्कृत भाषा, आयुर्वेद, योगलगायत सकल पूर्वीय दर्शन गुरुकुलमा पढाइन्छन् भने अन्य विषयतर्फ अंग्रेजी, गणित, सामाजिक जस्ता विषयहरू छन् तर महत्त्वपूर्ण विषय विज्ञान जुन अहिलेको युगमा अपरिहार्य छ, त्यो विषय संस्कृत गुरुकुलको पाठ्यक्रममा छैन । विभिन्न सम्प्रदायले साम्प्रदायिक प्रतिस्पर्धायुक्त गुरुकुल चलाए, जहाँ ज्ञानभन्दा पनि परम्परा वस्त्र टीकाको भूमिकालाई महत्त्वपूर्ण मानिँदै आइयो ।

केही अपवादबाहेक प्रायः १००८ स्वामी, महाराज, जगद्गुरु, मण्डलेश्वर आदि विशेषण धारण गर्नेहरूमा नै संस्कृत भाषा, वेद पुराण, व्याकरण, ज्योतिष आदिको गहन ज्ञानको अभाव देखिन्छ । गहन ज्ञानको अभावमा समाजले जुन उच्च दिशा पाउनुपर्ने हो, त्यो पाउन असफल देखिन्छ ।

आन्तरिक विमतिका कारण विद्वानहरू फरकफरक सम्प्रदायमा बसेर आध्यात्मिक सामाजिक साधना गरे यसमा धेरै अन्यथा मान्नुपर्ने पनि केही छैन, मात्र वेद गीताको सन्देशलाई साम्प्रदायिक व्याख्या गरेर समाजलाई ज्ञानको मार्गबाट भड्काउन भने हुँदैन ।

गुरुकुलमा अध्ययनरत विद्यार्थीको फराकिलो भविष्यको चिन्तन पाइएन, फलस्वरूप संस्कृतमा शास्त्री, आचार्य, विद्यावारिधिपश्चात् पनि कथा प्रवचन, श्राद्ध, एकाह, षोडश संस्कार गर्दै मात्र हिँड्नुपर्ने व्यापक बाध्यता आइलाग्यो । त्यसमाथिको राजनीतिक खिचातानीले संस्कृत भाषामा साधारणतया शुद्ध बोल्न, लेख्नसमेत नसक्नेहरू नेपाल संस्कृत विश्वविद्यालयका आंशिक, करार, उपप्राध्यापक, प्राध्यापक अझ डाक्टर पनि नामको अगाडि लेखे ।

‘एकां लज्जां परित्यज्य सर्वत्र विजयी भवेत्’ कहिलेकाहीँ प्रश्न उठ्छ, त्यस किसिमका प्राध्यापकले के पढाउँदा हुन् र तिनका विद्यार्थी कस्ता होलान् ? यस मानेमा नेपाल संस्कृत विश्वविद्यालय विद्वानरहित छ भन्न खोजेको पनि होइन, गुरुकुलीय क्षेत्रबाट गएकाहरूले यसको साख जोगाइरहेका छन् । स्वामी श्रीधराचार्यले बागलुङमा २०४१÷०४२ सालमा स्थापना गरेको श्री मुक्तिनाथ संस्कृत वेद विद्याश्रम, डा. स्वामी रामानन्द गिरिले देवघाटमा स्थापना गरेको महेश संस्कृत गुरुकुल, स्वामी परमानन्द सरस्वतीले स्थापना गरेको हरिहर संस्कृत विद्यापीठले संस्कृत विश्वविद्यालय धानेको छ भन्दा फरक पर्दैन । यी ३ जना महापुरुषको शिष्य परम्पराले नै संस्कृत विश्वविद्यालयको र समग्र नेपाली संस्कृत जगत्को लाज राखेको छ ।

अहिले सबै संस्थाहरू संस्कृत विश्वविद्यालयसँग अनुबन्धित छन् । केही हुने क्रममा छन् अन्यथा नेपाल संस्कृत विश्वविद्यालयका रैथाने आंगिक क्याम्पसहरू वाल्मीकि क्याम्पस, विन्दवासिनी क्याम्पस, बीपी संस्कृत विद्यापीठ, रुरुको संस्कृत क्याम्पस, मटिहानी आदिमा रहेका पुराना संस्थाहरूको संस्कृत शैक्षिक स्तर अत्यन्त दयनीय छ ।

तर, किताबी ज्ञान सबथोक होइन रहेछ । संस्कृतका विद्वान् मानिएकाहरू, स्वामीजी मानिएकाहरूले समाजमा व्याप्त छुवाछूत, भेदभाव अज्ञानताको पाटोलाई सुधार्लान् भन्नुको साटो यस्ता कुरालाई प्रश्रय दिने किसिमका भए ।

विज्ञानको गुरुत्व बुझ्ने गुरुहरू भएनन् । संस्कृत शिक्षालाई टीका र धोतीमा सीमित बनाए । यसलाई वेषको शिक्षा बनाउन तत्पर देखिए । ज्ञानको पाटो कता हरायो । सर्टिफिकेटमा विज्ञान भएन भने विविध क्षेत्रमा जानबाट संस्कृतका विद्यार्थी बञ्चित हुने छन्, त्यसैले विज्ञान अनिवार्य गर्नुपर्छ भन्ने आवाजलाई वर्षौंदेखि दबाउँदै आइएको छ । किताबी शिक्षा सबथोक होइन रहेछ, पढेपछि फेरि आत्मशिक्षाको विश्वविद्यालयमा भर्ना हुनुपर्छ, चेतनामा एमफिल र ज्ञानमा पी. एच. डी. गर्नुपर्छ अनि मुक्त भएर डिलिट हुनुपर्छ । 

पंक्तिकारले त गुरुकुलमा विज्ञान पढ्न पाएन, अब आउने पुस्ताले भने गुरुकुलमा ढुक्कले वेद र विज्ञानसँगै पढ्न पाओस् । एउटै गुरुकुलमा पढेका भगवान् श्रीकृष्ण नेता तथा सुदामा विद्वान् गुरु भए । छात्र कुलमा जन्मिएर भगवान् श्रीरामले वशिष्ठको गुरुकुलमा पढे र राजा भए ।

प्राचीन गुरुकुलमा भेदभाव गरेको पाइँदैन, त्यहाँ सबै वर्णका हुन्थे भन्ने प्रमाण पुराणहरूमा छन् । हामीले कहिले होला, सबै जात जातिलाई राखेर वेद संस्कृत र संस्कार सिकाउने ? कथित शास्त्र पढेका हौं भन्नेहरूलाई म्लेच्छ देशका मान्छे भन्ने खैरेहरूले उनीहरूलाई नै प्रशिक्षण दिन थालिसके । उनै खैरेहरूलाई गुरु बनाउने मात्र होइन, उनकैमा पूजापाठ गर्ने, रिसर्च गर्ने आदि क्षमताअनुसार जागिर खान थालिसके ।

फेरि किन हाम्रै नेपाली समाजका मगर, गुरुङ, परियार, विक, क्षेत्री आदि कथित ब्राह्मणेत्तर समुदायलाई हामीले संस्कृतअन्तर्गत वेदादि नपढाउने ? खोइ यसमा पहल गरेको ? रोक्नुको कारण के ? गुरुकुलमा खेलकुद अस्त्र शस्त्र सबै पढाइन्थ्यो । खोइ त हामी ? के पुजारी मात्र उत्पादन गर्ने भनेर पुर्खाले गुरुकुल चलाएका हुन् त ? 

त्यसो भनेर पुर्खाको कमजोरी केलाइरहँदा आज यो स्थितिमा हाम्रो पुस्तालाई ज्ञानको संरक्षणमा उभिने बनाएको तिनै धोती, टीका, चन्दन लगाएकाहरूले हो । प्रतिकूल अवस्थामा विविध कर्मकाण्डका माध्यमबाट नै वेद, व्याकरण, दर्शन आदि सकल शास्त्रलाई जोगाउने काम पनि उनै पुर्खाहरूले गरेका हुन् । उनले जे जति गरे, त्यो वन्दनीय छ, उनका कमीकमजोरीलाई अहिलेको पुस्ताले सच्याउने काम भने अवश्य गर्नुपर्ने हुन्छ ।

हामीसँग आज सबै पूर्वाधार तयार छन्, अवस्था अनुकूल बनेर आएको छ । अब देवघाटमा धोती लगाएर संस्कृतका सूत्र रट्दै गरेको बच्चालाई मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, राजदूत, डाक्टर, इन्जिनियर, क्रिकेटर, कलाकार, पत्रकार वा अन्य विविध क्षेत्रमा पुर्‍याउने सपना देख्नुपर्छ ।

हामीले कस्तो जनमानस उत्पादन गर्ने सपना देखेका छौं ? गुरुकुल पाठ्यक्रममा यदि विज्ञान छैन भने त्यो पाठ्यक्रम पढेर विद्यार्थीलाई अधुरो शिक्षा पढाएर समय खेर फालेर काम छैन । ‘ज्ञानंविज्ञानसहितम् ।’ अब वेद र विज्ञान एकै ठाउँमा ल्याउनुपर्छ । यो उत्कृष्ट हुने छ ।

वेदको मन्त्र रट्नमा तल्लीन बटुकहरूका लागि विज्ञानका सूत्रहरू सामान्य लाग्ने छन् । राम्रो अंक ल्याएर देश टप्ने छन् । यसले समुदाय र जनमानसमा पनि गुरुकुल शिक्षाप्रति आकर्षण बढ्ने छ र भोलि सबैले यसको महत्त्व बुझ्ने छन् कि संस्कृत चाहिने रहेछ । यसरी सबै नेपालीका छोराछोरीले संस्कृत बुझ्न पाए भने कसैले विदेशमा श्रमिक भएर जानुपर्ने छैन । कोही योग गुरु, ज्योतिष, प्रवक्ता, ट्रेनर, वास्तुविद्, आयुर्वेदिक वैद्य, कोही भाषाविद्, संस्कृत भाषा प्रशिक्षक आदि विविध हुने छन् । विज्ञान मिसियो भने त कुन क्षेत्र बाँकी रहला र ? समय आएको छ, मुठ्ठी फुकाउनुपर्ने बेला आएको छ । अब ढिला गर्नुहुँदैन । 

गार्गी, मैत्रेयी, अरुन्धतीको परम्परालाई जोगाउन अब गुरुकुलीय शिक्षामा महिला सहभागिता पनि अनिवार्य भइसकेको छ । अहिले पाश्चात्य देशका आधुनिक युवतीहरू वेदका मन्त्र, श्लोक, संस्कृत भाषा सिकिरहेका बेलामा हामीले हाम्रो स्त्री शक्तिलाई पनि यस क्षेत्रमा सुविधा दिन आवश्यक छ या त गुरुकुलको पाठ्यक्रममा विज्ञानलाई अनिवार्य गरौं नत्र संस्कृतको पाठ्यक्रममा पढाउन थालौं ।

विद्यार्थीको जीवनसँग खेलबाड नगरौं । संस्कृतमा पी. एच. डी. गरेका पनि उही कथा सुनाउने, एकाहमा पाठ गर्ने, श्राद्ध गराउने काममै मात्र रमाइरहने हो भने किन गर्नुपर्‍यो शास्त्री, आचार्य, पी. एच. डी. ?

यसको अर्थ कर्मकाण्ड नै नगर्ने भनेको पनि होइन । गुरुकुल पढेका विद्यार्थीहरू पनि क्रिकेटर, डाक्टर, इन्जिनियर, पाइलट, फार्मेसिस्ट आदि विविध बन्न पाउनुपर्छ । उनीहरूले पार्ट टाइम चिना हेरून्, विवाह, व्रतबन्धादि षोडश संस्कार गराऊन्, यस्तो हेर्दा छुट्टै आनन्द हुने छ । शिक्षा मन्त्रालयले गुरुकुल शिक्षाका लागि छुट्टै समिति बनाएको छ । त्यहाँ समितिमा भएका विद्वान् गुरुहरूलाई ध्यानाकर्षण गराउने काम सबै पक्षबाट हुन जरुरी छ ।

नीति निर्माण तहमा, संसद्मा, कूटनीतिक नियोगहरूमा, देशको राजकीय क्षेत्रमा जस्ता पनि मान्छे पठाएर अर्थ छैन । चेतनाको दियोले धपक्क बलेको व्यक्तित्व, जो सबै किसिमका भेदभाव जस्तै : धार्मिक जातीय, राजनीतिक, भौगोलिक, साम्प्रदायिक विभेदबाट पर होस्, सबैलाई समान माया गरोस्, त्यस्तो व्यक्तित्वको निर्माण गरेर नीति निर्माण तहमा पुर्‍याउनु पनि संस्कृत गुरुकुलको दायित्व हो । संस्कृत पढेकाहरूले आफ्ना छोराछोरीलाई संस्कृत पढाएको कम देखिन्छ, त्यो पनि गुरुकुल शिक्षामा विज्ञान नभएर हो । गुरुकुलीय शिक्षा पद्धतिमा केही सुधार भए मात्र पनि हाम्रो शैक्षिक गुणस्तर उकासिने छ र नेपाललाई विश्वगुरु बनाउने अभियान सार्थक र सफल हुने छ । जयतु संस्कृतम्, जयतु नेपालः । 

ADVADV

सम्बन्धित खबर

Advertise