काठमाडौं : गाउँमा रोधीमा जितेर मन परेकी युवती भगाउने एक प्रकारको चलन नै छ । विवाहमा होस् या कसैको जन्त जाँदा पनि मन परेका युवायुवतीले दोहोरी गाउने रमाइलो नाचगान गर्ने र मन परे भागेर जाने एक प्रकारको परम्परा नै रहेको छ । विवाहमा सरिक युवाहरूले नाचगान र रमाइलो गर्दा गर्दै मन परेकी युवती भगाएर लगेको कथालाई निर्देशक प्रविन थापाले कलात्मक रूपमा 'फ्याट्ट पोइल' गीतको भिडियोमा समावेश गरेका छन् ।
शुक्रबार बिहान बाबा इन्टरटेन्मेन्ट टिभीमार्फत सार्वजनिक भएको पञ्चेबाजा रत्यौली 'फ्याट्ट पोइल' गीतका शब्द प्रवेश पौडेलले लेखेका हुन् भने संगीत पनि उनैले भरेका छन् । पछिल्लो समय नेपाली लोक दोहोरीमा जमेकी गायिका अस्मिता डल्लाकोटी र पौडेलको स्वरमा सजिएको गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन् ।
स्मारिका ढकाल, सरोज प्रजा, सुरेश कोहलि र सम्झना थापा छेत्रीले कम्मर मर्काएको भिडियोमा गायिका डल्लाकोटी दुलही र लोक तथा दोहोरी गायक शक्ति कुमार गोदारले दुलाहाका भूमिकामा अभिनय गरेका छन् । प्रेम सफल भएपछि शत्रु जलुन् र छोरा छोरी जन्माएर घर बलियो बनाउने संकल्प यो जोडीको कथाले बोलेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् भने तिलु शर्मा पौडेल भिडियोका निर्माता हुन् ।